कात्तिक १४, काठमाडौँ | जबरजस्ती करणीको आरोपसहित उजुरी परेपछि अनुसन्धानका लागि हिरासतमा रहेका क्रिकेट खेलाडी सन्दीप लामिछानेमाथि सोमवार सरकारी वकिलहरूले मुद्दा दायर गरेका छन्।
काठमाडौँ जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा उनलाई "मुलुकी अपराध संहिता २०७४ बमोजिम १० देखि १२ वर्षको कैद सजाय माग गरिएको" जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूका प्रमुख तथा सहन्यायाधिवक्ता अच्यूतमणी नेउपानेले बताए। त्यसबाहेक पीडितलाई उचित क्षतिपूर्ति दिइनुपर्ने समेत माग छ।

संहिताको दफा २१९ को उपदफा ३ (घ) मा पीडित १६ वर्ष वा त्यसभन्दा बढी १८ वर्षभन्दा कम उमरको भए १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ । त्यही अनुसार अधिकतम सजायको मागदाबी अभियोग पत्रमा गरिएको नेउपानेले बताए ।
लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी परेको दुईदिनपछि जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
पक्राउ पूर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय टोलीको कप्तानबाट निलम्बन गरेको थियो । निलम्बित भएपछि उनले नेपालको कानून मान्ने बताउँदै स्ट्याटस लेखेका थिए ।
तर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा जमैका रहेका उनी एक महिनासम्म सम्पर्कविहीन रहे । इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएपछि उनी २० असोजमा नेपाल आए र विमानस्थलबाटै पक्राउ परे ।