कात्तिक १७, काठमाडौँ | नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आइपीओमा १०% आरक्षण दिने व्यवस्था बिहीबार (कात्तिक १७) गतेदेखि लागू गरेको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँटफाँट (छैठौं संशोधन) निर्देशिका, २०७९ लागू गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो । निर्देशिका लागू भएसँगै अबदेखि आइपीओ जारी गर्ने कम्पनीले १०% सेयर श्रम स्वीकृति लिएर वैदशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याउनु पर्नेछ ।
निर्देशिका अनुसार बिक्री प्रबन्धकले सर्वसाधारणहरुका लागि आइपीओ निष्कासन गर्नु अगावै १५ दिनको अवधि तोकेर आह्वानपत्र प्रकाशित गर्नुपर्नेछ । विदेशमा काम गर्ने नेपालीहरुले आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थामा रहेको रेमिट्यान्स खातामार्फत आइपीओको रकम भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ ।