वन संरक्षणको अभावः वन्यजन्तु र वातावरणमा प्रभाव

Posted on: 03 Dec, 2022

कमल घिमिरे । मंसिर १६ । पाँचथर, वातावण र वन्यजन्तु संरक्षण गर्नको लागी समुदाय स्तरबाटै प्रयास गर्नुपर्ने आवश्यक छ । पाँचथरका केही स्थानमा वन जंगल फडानी गरेर वन अतिक्रमण गरिरहेका छन् । अतिक्रमण गरेको जग्गालाई खरिद विक्रि गर्दै निजि, गैर सरकारी र सरकारी घरहरु बनेका छन् । हिलिहाङ गाउँपालिकाको जोरपोखरी बजार क्षेत्र, चतुरे बजार क्षेत्र स्थित राजमार्गका दाँयाँ बाँया वन अतिक्रमण गरी होटल , व्यवसाय गर्दै आएका छन् । सरकारी वन फडानी गरेर जिल्लाका धेरै स्थानमा बजार विस्तार भएका छन् । तुम्वेवा गाउँपालिकाको मौवामा सामुदायीक वनको ५ रोपनी, फिदिम नगरपालिका स्थित नागेम्बा सामुदायीक वन क्षेत्रको १० रोपनी, मिक्लाजुङ गाउँपालिकाको फुङसिङ सामुदायीक वनको २ रोपनी जग्गा अतिक्रमणमा परेका छन् । यसरी स्थानीयले वन अतिक्रमण गर्दै वजार विस्तार गर्नाले वातावरण र वन्यजन्तुमा असर परिरहेको छ । 

वन अतिक्रमणले वन्यजन्तुमा प्रभाव

 डिभिजन वन कार्यालय पाँचथरको तथ्याङ्क अनुसार पँचथरको कुल वनको क्षेत्रफल ७१ हजार ७ सय ७४ हेक्टर छ । यो ५७.७३ प्रतिशत हो । वन क्षेत्र नै वन्यजन्तुको प्रमुख वास स्थान हो । जनसंख्या वृद्धीको कारण मानवीय वस्ती, सडक निर्माण, कलकारखाना निर्माण जस्ता मानवीय क्रियाकलापले वन क्षेत्र माथी निकै चाप परेको छ । वातावरणविद धिरेन्द्र बहादुर चन्द भन्छन् “पारिस्थितिक प्रणालीमा आएको परिवर्तनका कारण प्राकृतिक रूपमै वन्यजन्तुको विनाश र उत्पति निरन्तर भैरहन्छ । वन्यजन्तु विनाशको प्राकृतिक प्रवृत्तिलाई मानवीय क्रियाकलापले तीव्रता ल्याउने गर्दछ यसलाई वन्यजन्तुको कृत्रिम कारण भन्न सकिन्छ । अहिले नेपालमा यी विविध कारणले वन्यजन्तु विनाश हुँदै गई रहेका छन” । वन्यजन्तुको विनाश रोक्नका लागी जनचेतना अभिवृद्धि, कानुनी व्यवस्था विभिन्न ठाउँमा संरक्षित क्षेत्रको विकास र प्रजाती संरक्षणसम्बन्धी अध्ययन गर्दा वन्यजन्तुलाई व्यवस्थापन गर्न सकिन्छ । त्यसैले वन्यजन्तुको अस्तित्व जोगाउनु सबै संरक्षणकर्मीहरुले हातेमालो गर्न जरुरी देखिन्छ ।

 वन अतिक्रमण गरी वजार विस्तार हुँदा वन्यजन्तु तथा वातावरणमा गहिरो प्रभाव पर्ने देखिन्छ । सरकारी वन अतिक्रमण रोक्न कुनै पनी पनी निकाय जिल्लामा तल्लिन छैन । पाँचथर जिल्ला दुर्लभ वन्यजन्तु पाउने जिल्ला हो । दुर्लभ रेड पाण्डा(हाब्रे),कस्तुरी मृग, सालक, भालु, बाघ, चितुवा, लगायतको वन्यजन्तुको बासस्थानमा प्रभाव परिरहेको छ । वन्यजन्तुको आहार वन मै पाइने भएकोले वन फडानीले आहार मा प्रत्यक्ष असर परेको छ । वन्यजन्तुको संरक्षणको सट्टा विनास हुँदै जाने देखिन्छ ।

 सदरमुकाम फिदिम बजारमा मात्रै १०० वटा भन्दा बढी घरहरु निर्माण हुँदै छन् । निर्माणाधिन घरमा वनले निकासीमा रोक लगाएको काठहरु प्रयोग हुने गरेको छ । अझ सरकारले रोक लगाएको सखुवाको काठ सरकारी भवनमा अनिवार्य प्रयोग गर्नुपर्ने प्रावधान छ । दिनहुँ काठहरु भित्रिदा  सुचनाका आधारमा केही पक्राउ परे पनी धेरै मात्रामा तस्कर गरी आएका काठले वन विनास बढिरहेको छ । यस बाहेक अत्याधिक रुपमा खनिएका सडकले पनी वन विनास हुँदै गएको  छ । पहाडी क्ष्ोत्रमा जथाभावी खनिएको सडकले वर्षेनी पहिरो गइ लाखाँैको क्षती हुँदै आएको छ । वन फडानी, पहिरो तथा वजार विस्तारले गर्दा वन्यजन्तुको वासस्थान र संरक्षणमा ठुलो पर्नुका साथै मानवीय क्षती बेहोर्नु पर्ने हुन सक्छ । 

गोलियाले वन विनास हुँदैन : वन पैदावार व्यवसायी संघ

गोलियाको लागी दिनहुँ रुपमा रुख कटानी भइरहँदा पनी वन विनास नहुने वन पैदावार व्यवसायी सँघ पाँचथरको भनाइ छ । गोलियाको लागी काटिने नरम काठहरु उतिस, मलतो जस्ता रुख कृषी बाली जस्तै भएकोले मानिसले नै कृषी बालीकै रुपमा उतिस , मलतो रोप्ने गरेका छन् । संघका व्यवस्थापक बेनु प्रसाद तिम्सिनाका अनुसार जिल्लाको रानिटार, रवि, लुङरुपा, पौवा सारताप, आङसाराङ, ओयाम, च्याङथापु, एकतिन, मेमेङ लगायतका क्षेत्रमा उतिस मलतो लगाउन थालेका छन् । धेरैजसो युवाहरु वैदेशिक रोजगारमा गएको हुँदा स्थानियहरु कृषि बालिको सट्टा उतिस मलतो लाउन थालेका छन् । एक पटक लगाएपछी मेहेनत गर्नु नपर्ने र आम्दानी पनी राम्रै दिने हु्नाले गोलिया तिर आकर्षण भएको व्यवस्थापक तिम्सिनको भनाई छ । पाँचथर जिल्ला बाट मात्रै वर्षमा १२ लाख सेफ्टी गोलिया निकासी हुँदै आएकोले धेरैले यस क्षेत्रमा रोजगारी पाएको तिम्सिना बताउँछन । संघले गत आर्थिक वर्षमा मात्रै पाउने ८ करोड सरकारलाई कर तिरेको छ । सरकारले २८ वटा प्रजातिलाई कृषी बाली सो सरह मान्यता दिएकोले गोलिया कटानी बाट वन तथा वन्य जन्तुको विनास नहुने तिम्सिनाको दावी छ । 

वन भन्नाले रूख, झाडी मात्र होइन, असंख्य प्राणीको आश्रय स्थल पनि हो । त्यहाँ कैयौँ प्राणीले आफ्नो वासस्थान बनाएका हुन्छन् । जसलाई सुरक्षित गरी हामीले भावी पुस्तालाई सुम्पिन सक्नुपर्छ । वन विनाशले पानीको चक्रमा बाधा र्पुयाउँछ, माटोको क्षय निम्त्याउँछ, थप बाढी निम्तिन्छ र दसौँ लाख मानिसको दैनिकी प्रभावित हुन्छ  । त्यसमाथि नेपाल त पर्यटन व्यवसायको सम्भावना भएको देश हो । हाम्रो पर्यटनको आकर्षण भनेकै यस्तै वनजंगल, त्यहाँका जीवजन्तु र चराचुरुंगी हुन ।  अहिले पनि अधिकांश पर्यटक जंगल सफारी र पहाडी तथा उच्च हिमाली क्षेत्रमा पैदल यात्राको सोखले नेपाल आउने गर्छन्। । यस्तो महत्वपूर्ण सम्पत्ति जोगाउन हामीले कुनै कसर बाँकी राख्नु हुँदैन । वनसम्पदाले आवश्यक स्वास्थ्य पदार्थ तथा बासस्थानको व्यवस्था गरी जंगली जनावरहरूको संरक्षण गर्छ । जसले गर्दा वन्य जन्तुहरूको संख्यामा क्रमशः वृद्धि हुँदै जान्छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!