माघ ६, काठमाडौँ | केही सातायता वीरगन्ज र यसको सीमावर्ती भारतीय सहर रक्सौलमा भारुको अवमूल्यन भएको छ भने नेपाली रुपैयाँ आश्चर्यजनक रुपमा बलियो बनेको छ । विगतमा वीरगन्जमा भारु हात पर्दा दंग पर्ने नेपाली व्यापारीहरू अहिले भारु हात पर्दा नाक खुम्च्याउन थालेका छन् । यसको कारण हो– भारुको सरकारी तथा आधिकारिक विनिमय दरभन्दा कम विनिमय मूल्य पाउनु ।
हाल वीरगन्ज र रक्सौलमा १ सय रुपैयाँ भारुको मूल्य १ सय ५५ नेपाली रुपैयाँभन्दा तल झरेको छ । सामान्य अवस्थामा १ सय भारुको नेपाली मूल्य १ सय ६० रुपैयाँ हुन्छ । नेपाली र भारतीय मुद्राबीचको कारोबारलाई स्थानीय भाषामा ‘बट्टा’ दर भनिन्छ । पुसभन्दा अघि रक्सौलका व्यापारीले नेपाली रुपैयाँ अवमूल्यन गरेर १ सय भारुका लागि १६५ नेपाली रुपैयाँसम्म लिन्थे ।
तर, पुसको तेस्रो सातादेखि आश्चर्यजनक रुपमा रक्सौल बजारका व्यापारीहरूले नेपाली उपभोक्तासँग लिने ‘बट्टा’ घटाउँदै लगे । पुस अन्त्यसम्ममा यो ‘बट्टा’ दर घटेर १ सय ६० रुपैयाँमा झर्यो । माघ लागेपछि आश्चर्यजनक रुपमा रक्सौल बजारमा नेपाली रुपैयाँ भारुभन्दा बलियो हुन पुग्यो । अर्थात् रक्सौलमा सुरुमा नेपाली १ सय ५८ रुपैयाँले भारु १ सय बराबर मान्यता पायो । त्यसपछि दैनिक ‘बट्टा’ दर झरेर अब नेपाली १ सय ५५ रुपैयाँ बराबर भारु १ सय रुपैयाँ बराबरको मान्यता पाएको छ ।
२०७२ सालको भूकम्पपछि भारतले नेपालमा लगाएको नाकाबन्दीको बेला रक्सौल बजारको व्यापार ठप्प भएको स्थितिमा रक्सौलका व्यापारीले यसरी नेपाली रुपैयाँलाई भारुभन्दा बढी मूल्य दिएको सम्झिन्छन् रक्सौलका पत्रकार दीपक अग्नीरथ । ‘त्यसो त रक्सौलमा नेपाली मुद्राको बट्टा लिन थालेको २५ देखि ३० वर्ष भयो होला,’ अग्नीरथ भन्छन्, ‘तर २०७२ को मधेस आन्दोलनपछि पहिलोपटक नेपाली मुद्राको मान्यता बढेको जस्तो मलाई लाग्छ, त्यति बेला उद्देश्य अर्कै थियो, अहिले अवस्था फरक छ ।’