२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जेनजी’ प्रदर्शनले युवामा मानसिक समस्या बढ्दो

२०८२, २ आश्विन बिहीबार १५:१५

काठमाडौँ | सोह्र वर्षीया एक किशोरी रातभर निदाउन सक्नुभएन । बारम्बार जेनजी प्रदर्शनका दृश्यहरू झल्झली आँखामा आउन थालेपछि छटपटी भइरह्यो । पढाइमा पटक्कै मन गएन । समस्या जटिल बन्दै गएपछि परिवारले उहाँलाई लगनखेलस्थित मानसिक अस्पताल पु-यायो । चिकित्सकले उहाँलाई शान्त रहने अभ्यास सिकाउँदै औषधि दिएका छन् ।

अर्का एक २५ वर्षीय युवा आफैँ प्रदर्शनमा उत्रिनुभएको थियो । गोली चल्न थालेपछि उहाँ घर फर्किनुभयो, तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निरन्तर त्यही विषय हेर्दाहेर्दै उहाँमा तनावको मात्रा बढ्यो । सामान्य कुरा गर्न नसक्ने, हिँड्दा गन्तव्य थाहा नपाउने, खानपान र दिनचर्या अस्तव्यस्त हुन थालेपछि उहाँ पनि चिकित्सकको सम्पर्कमा पुग्नुभयो ।

त्यसैगरी एक किशोर आफ्नै सहपाठीको मृत्युले विक्षिप्त हुनुहुन्छ । साथीको अन्तिम क्षण सम्झिँदा उहाँमा डर र चिन्ता बढ्छ । उहाँ हिजोआज निद्रामा पनि आत्तिन थाल्नुभएको छ । चिकित्सकका सम्पर्कमा आइपुगेका केही युवाहरुमा देखिएका प्रतिनिधिमूलक समस्या मात्र हुन् यी । हाल यस्ता समस्याबाट धेरै युवाहरु गुज्रिरहेको अनुमान गरिएको छ ।

लगनखेल मानसिक अस्पतालका मनोचिकित्सक डा वासुदेव कार्की भन्नुहुन्छ, “अचानक निम्तिएको आन्दोलनले सबैलाई असर गरेको छ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आन्दोलनमा संलग्नहरूमा मानसिक समस्या देखा पर्नु स्वाभाविक हो ।” उहाँका अनुसार, केही व्यक्तिमा समस्या छिट्टै कम भए पनि, पहिले मानसिक अस्वस्थता भोगिरहेका वा बालबालिकामा दीर्घकालीन असर पर्ने सम्भावना बढी हुन्छ ।

“भौतिक क्षति र आर्थिक असर मात्र होइन, मानसिक स्वास्थ्यमा पनि गहिरो प्रभाव पर्न सक्छ,” उहाँले भन्नुभयो । कान्ति बाल अस्पतालका बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक डा अमिता झाले पनि बालबालिकामाथि आन्दोलनलका दृश्यले गहिरो प्रभाव पारेको बताउनुभयो ।

“एन्जाइटी, डिप्रेसनजस्ता लक्षण बढेका छन् । डर, त्रास, भय, घटनाका फ्ल्यासब्याकका लक्षण लिएर आएका छन् । पहिले समस्या नभएका बालबालिकामा पनि यस्ता लक्षण देखा परेका छन्,” उहाँले भन्नुभयो । उपचारमा परामर्श सत्र थपिएको र केहीमा औषधिको मात्रा बढाउनुपरेको उहाँको भनाइ छ ।

विज्ञका अनुसार मानसिक स्वास्थ्यमा समस्या आएमा तनाव व्यवस्थापनका सामान्य तरिका अपनाउन सक्दा पनि धेरै राहत मिल्छ । सो तरिकामा ‘डिप ब्रेथिङ’ (लामो सास फेर्ने अभ्यास विधि), आफूलाई मनपर्ने गतिविधि (जस्तै कला, सङ्गीत, खेलकुद) मा संलग्नता, परिवार र साथीहरूसँग खुलेर कुरा गर्नु प्रभावकारी मानिन्छ ।

“समाचार वा सामाजिक सञ्जालका सबै सामग्रीमा ध्यान दिनु आवश्यक छैन,” डा कार्कीको सुझाव छ, “मनपर्ने कुरा गर्दै समय बिताउनुपर्छ । तनाव कम गर्न मदिरा र लागूपदार्थबाट टाढा रहनुपर्छ ।”

यदि लक्षण कम भएन भने हेल्पलाइन ११६६ मा २४ घण्टा मनोपरामर्शदाता उपलब्ध रहेको र गहिरो समस्या देखिएमा चिकित्सकसँग भेटेर औषधि र परामर्श लिन सकिने उहाँको सुझाव छ ।

बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक डा झाले बालबालिका तथा किशोरकिशोरीमा देखिने मानसिक लक्षण रोक्न घर र विद्यालय दुवैमा संवाद आवश्यक रहेको बताउनुभयो । “अभिभावक र शिक्षकहरूले उमेरअनुसार बुझ्ने भाषामा उनीहरूलाई समर्थन र आश्वासन दिनुपर्छ । नियमित तालिकामा राखेर कला, खेलकुदजस्ता क्रियाकलापमा संलग्न गराउँदा उनीहरूलाई आघात पार गर्ने अनुभवहरू कम हुँदै जान्छन्,” उहाँले भन्नुभयो ।

‘जेनजी’ प्रदर्शनले समाजमा मानसिक स्वास्थ्यको महत्वबारे नयाँ प्रश्न उठाएको छ । डा कार्कीले घटना विर्सन समय लाग्ने तर पीडालाई स्वीकारेर, समर्थन र उपचारको बाटो रोज्दा व्यक्तिहरू पुनः सन्तुलित जीवनतर्फ फर्कन सक्ने बताउनुभयो । सङ्कटको समयमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नु अब राज्य र समाज दुवैको साझा दायित्व बनेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन