२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

चौसट्ठी वर्षमा पनि जाँगरिला ‘युक्ति’

२०८२, २६ बैशाख शुक्रबार १५:०२

काठमाडौँ |उमेरले चौसट्ठी वर्ष, जाँगर तन्नेरिका जस्तै । अचेलका युवालाई पनि गनासो गर्दै ठिक्क छ । बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय युक्ति चौधरीलाई न कसैप्रति गुनासो न त आफ्नो उमेरको बहाना । बिहान सबेरै उठेदेखि बेलुका रात नछिप्पिएसम्म खेतबारीमै । उहाँको मेहनत गज्जबको छ । एकाबिहानै बारीमा पस्नुहुन्छ, काँक्रा, बोडी, घिरौँला, लौका, टमाटर स्याहार्दा स्याहार्दै समय बितेको पत्तो नै हुन्न ।

युक्ति मात्र हैन उहाँकै लयमा हिँडिरहेका छन् छोराबुहारी र श्रीमती पनि । परिवारको लय मिलेपछि व्यवसायमा पनि त्यसरी नै सफलता मिलिरहेको छ । चौधरी भन्नुहुन्छ,“हाल चार बिघामा मौसमीअनुसारको विभिन्न प्रकारका तरकारी उत्पादन गरिरहेका छौँ । परिवारको साथ पाएको छु बारीभरि लटरम्मै तरकारी छन्, बेच्न भ्याइनभ्याइ छ ।”

उमेरले आराम खोज्ने समयमा पनि जोस र परिश्रममा कुनै कमी छैन । परिश्रम र आत्मनिर्भरताको उदाहरण बन्दै चौधरीले यही खेतीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गरिरहनुभएको छ । उहाँले छ वर्षअघि उहाँले एककट्ठा जमिनमा तरकारीखेती सुरु गर्नुभएको थियो । त्यसको दुई वर्षपछि रितिका कृषि फार्म दर्ता गरी औपचारिक रूपमा यही उद्यममा रमाइरहनुभएको छ । “आराम गरेर घरमा बस्ने उमेर हो तर पनि पहिलेदेखि काम गर्ने बानी बस्यो । काम नगरी बस्नै सकिँदैन”, चौधरी भन्नुहुन्छ,“सकुन्जेल काम गर्ने हो, हात खुट्टा चलेको छ, तागत छँदैछ । परिवारले साथ दिएकै छन् । जुनदिन सकिन्न त्यसदिनको कुरा बेग्लै होला ।”

उहाँको मुख्य पेसा कृषि नै हो तर घरमा केही गाई, गोरु र बाख्रा पालन गरिरहुनभएको छ । यसले कृषिमा सहयोग पुगिरहेको छ । चौधरीले भन्नुभयो, “मैले घरैमा पालेको गाई, गोरु र बाख्राबाट प्राप्त हुने गोबर सङ्कलन गर्छु । त्यही जैविक मललाई तरकारीखेतीमा प्रयोग गर्छु । रासायनिक मलको प्रयोग घटाएर स्वस्थ्य र प्राकृतिक उत्पादन गर्न सहयोग पनि पुग्छ । यसले आत्मनिर्भता र दिगोपना कायम राख्न निकै सघाउ पुगेको छ ।”

उहाँको बारीबाट उत्पादन भएको तरकारी सुनसरीका विभिन्न ठाउँ, चक्रघटी, कालाबन्जर, बाङ्गे चतरालगायत बजारमा बिक्री हुने गरेको बताउनुभयो । “तरकारी बिक्रीका लागि बजारको समस्या छैन, व्यापारीहरू आफैँ फार्ममै लिन आउँछन्, जहाँ हामीले बजार मूल्यभन्दा रु १० कममा तरकारी दिने गरेका छौँ । यसले हामीलाई सहज पनि हुन्छ । नाफा घाटाको धेरै चिन्ता गर्नुपर्दैन”, चौधरी भन्नुभयो ।
आफ्नो बारीमा हुने उत्पादनले भान्छाको आवश्यकता पूर्तिका साथै छोराछोरी, नातिनतिनालाई पढाउनेदेखि घरखर्च चलाउनसम्म सबै आवश्यकता पूरा हँुदै आएको छ । चौधरी परिवारका लागि तरकारीखेती आयआर्जनको भरपर्दो स्रोत त हुँदै हो दैनिक चार, पाँच जनाले ज्यालादारीमा काम गर्न पाएका छन् । यसले थोरै भए पनि स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सघाउ पुगेको छ ।
पछिल्लो समय तरकारीखेतीका लागि स्थानीय नगरपालिकाले पनि बीउ अनुदानमा उपलब्ध गराउँदै आएको छ । गत वर्षमात्रै सुनसरी कृषि ज्ञान केन्द्रले रु एक लाखको अनुदान प्रदान गरेको थियो । चौधरीका अनुसार यस्ता अनुदानले तरकारीखेतीमा केही हदसम्म सहयोग पुगेको छ र उत्पादनमा थप उत्साह र सहजता मिलेको छ ।

बराहक्षेत्रका अधिकाङ्स स्थानीयवासी तरकारीखेतीमा आत्मनिर्भर छन् । बराहक्षेत्र–८ का अर्का किसान मीनकुमार उराँवले हाल १० कट्ठा जमिनमा तरकारीखेती गर्दै आउनुभएको छ । “थोरै जग्गामा तरकारीखेती गरे पनि उत्पादन राम्रो भएकाले आम्दानी पनि सन्तोषजनक छ । आफ्नै बारीमा उत्पादन भएको अग्र्यानिक तरकारी उपभोग गर्न पाइने र बेचेर घरमै बसिबसी आम्दानी पनि गर्न पाइने”, उहाँले भन्नुभयो, “विभिन्न थरीका तरकारी बेचेर हरेक वर्ष रु तीन लाखभन्दा बढीको कारोबार गरिरहेको छु ।”

बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले किसानलाई तरकारीखेतीबाटै आत्मनिर्भर बनाउँदै उत्पादनमा सहजता ल्याउनेतर्फ नगरपालिका केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले स्थानीय किसानको आर्थिक विकासका लागि जैविक तरकारीखेती, सिँचाइ सुविधा र उत्पादन निर्यात गर्न यातायातको सुविधाका साथै प्रोत्साहनस्वरुप हरेक वर्ष तालिम र अनुदान प्रदान गर्दै आएका छौँ ।”

जिल्लामा हाल आठ हजार १५३ हेक्टरमा तरकारीखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाको बराहक्षेत्र, रामधुनी क्षेत्रलगायत स्थानका किसानले तरकारीखेती गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो