कन्जरभेटिभ पार्टी नेतृत्वका लागि आधा दर्जनभन्दा बढी नेता आकांक्षी

Posted on: 10 Jul, 2022

असार २६, लन्डन | बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टी नेतृत्वका लागि आधा दर्जनभन्दा बढी नेता आकांक्षी बनेका छन् । जोनसनलाई विस्थापित गर्ने दौडमा दुई जना पूर्वस्वास्थ्यमन्त्री –साजिद जाविद र जेरेमी हन्ट पनि कन्जरभेटिभ पार्टी नेतृत्व सम्हाल्ने र प्रधानमन्त्री बन्ने दौडमा आकांक्षा देखाएका छन् । 

पार्टी नेतृत्वका लागि आकांक्षा राख्ने उनीहरू पछिल्ला दुई नेता हुन । दुबैले आफ्ना योजनाहरू घोषणा गरेका छन् । आफू एकमात्र प्रमुख उम्मेद्वार भएको हन्टले जोड दिएका छन् । उनले जोनसन मन्त्रिपरिषद्मा काम भने गरेका छैनन् । यसअघि ६ जनाले आफ्नो आकांक्षा देखाएका थिए । 

प्रधानमन्त्रीका सबै दाबेदारको मुख्य मुद्दा कर बनेको छ । जाभिद र हन्टले कर कटौतीका लागि आह्वान गरेका छन् । जाविदले राष्ट्रिय बीमामा वृद्धि रद्द गर्ने वाचा गर्दै आएका छन् । 

प्रधानमन्त्रीको दौडमा कुलपति नदिम जाहावी र यातायातमन्त्री ग्रान्ट साप्स छन् । दुबैले कर कटौती गर्ने वाचा गरेका छन् । यतिबेला कर बृद्धि गरेको आरोपमा पूर्वमन्त्री ऋषि सुनाकको आलोचना भइरहेको छ । त्यस्तै, न्यून कर राज्यको आह्वान गर्ने महान्यायाधिवक्ता सुएला ब्रेभरम्यानले पनि अभियान सुरु गरेका छन् ।

विदेशमन्त्री  लिज ट्रस पनि प्रधानमन्त्रीको दौडमा रहेको उनका सहयोगीले बताएका छन् । सुनकले ल्याएको स्वास्थ्य कर उल्टाउने वाचा गरेकी छिन् ।

त्यस्तै, पूर्व समानतामन्त्री केमी बडेच र विदेश मामिला समितिका अध्यक्ष टम टुगेनधाट पनि जोनसनलाई विस्थापित गर्ने दौडमा छन् । पार्टीको नेतामा विजयी भएका व्यक्ति प्रधानमन्त्री हुनेछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!