श्रीलंकाका केही भागमा सीमित इन्धन र ग्यास वितरण

Posted on: 12 Jul, 2022

असार २८, कोलम्बो | श्रीलंकाका केही भागहरूमा सीमित इन्धन र ग्यास आपूर्ति पुनः वितरण भएको छ । अभूतपूर्व आर्थिक संकटलाई लिएर सरकार विरोधी प्रदर्शन चर्किरहेका बेला केही क्षेत्रमा इन्धन आपूर्ति पुनः वितरण भएको हो ।

सोमबार राजधानी कोलम्बोमा ग्यास भर्ने स्टेसनहरू र सामुदायिक केन्द्रहरूमा लामो लाइन देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ  । लाइनमा हजारौं थकित मानिसहरूको भिड देखिन्थ्यो । महिनौँदेखि इन्धन, खाद्यान्न र अन्य आधारभूत सामग्रीको अभाव झेलिरहेका सर्वसाधारणले थोरै भए पनि राहत अनुभूति गरेका छन् । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि अहिलेसम्मकै ठूलो आर्थिक संकट सामना गरेको छ । 

अत्याधिक मुद्रास्फीतिले मूल्यवृद्धि गरेको  छ ।  देशको विदेशी मुद्रा सञ्चिति सबै सकिएको छ । खाद्यान्न, इन्धन र औषधि आयात गर्न टापु देशले ठूलो संघर्ष गरिरहेको छ ।

संकटका कारण क्रुद्ध बनेका सर्वसाधारण यसै सप्ताहन्तमा राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका थिए । राष्ट्रपतिले पदबाट राजीनामा दिने घोषणा गरिसकेका छन् । त्यस्तै, प्रधानमन्त्रीले पनि राजीनामा दिने बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!