प्रचण्ड गर्मी र तातो हावाबाट स्पेनमा ५१० जनाको मृत्यु

Posted on: 19 Jul, 2022

साउन ३, एजेन्सी | स्पेनमा केही समययता प्रचण्ड गर्मी र तातो हावा चलेको छ । तातो हावाबाट मानिसहरुको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले  जानकारी दिएको छ । 

स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ । मन्त्रालयले यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन्।

यहाँ यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो । गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको पनि बताइएको छ । स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्म मात्र यहाँ १५० जनाको ज्यान गएको जनाएको छ ।

त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरुले सोमबारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन् । यसरी ज्यान जानेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन् । उनीहरुमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ ।

गर्मी अझै बढ्ने देखिएको र यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन यहाँको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!