हरियाणा: अवैध उत्खनन रोक्न गएका डीएसपीको डम्परले किचेर हत्या

Posted on: 20 Jul, 2022

साउन ४, एजेन्सी | भारतको हरियाणास्थित पचगांवमा प्रहरीका एकजना डीएसपीको हत्या भएको छ । बीबीसीका अनुसार सुरेन्द्र सिंह बिश्नोईको डम्परले किचेर हत्या गरिएको हो । यस मामिलामा प्रहरीले एकजनालाई पक्राउसमेत गरेको छ ।अभियुक्तको खुट्टामा गोली लागेको छ ।

सिंहलाई पचगांव नजिक रहेको अरावली पहाडमा अवैध उत्खनन भइरहेको सूचना प्राप्त भएको थियो । सोही सूचनाको आधारमा मंगलबार दिउँसो प्रहरीलाई लिएर छापा मार्न पुगेका थिए । त्यहाँ पुगेर उनले एउटा सन्दिग्ध डम्परलाई रोकेर आवश्यक कागजपत्र माग गरेका थिए । तर, डम्परका चालकले गाडी उनीमाथि चढाएका थिए । उनको घटनास्थलमा नै मृत्यु भयो ।

मुख्यमन्त्री लाल खट्टरले सिंहलाई शहीदको दर्जा दिइने बताएका छन् । त्यस्तै, मृतकको परिवारलाई १ करोड भारुको आर्थिक सहायता र परिवारको एक सदस्यलाई सरकारी जागिर दिने पनि उनले घोषणा गरेका छन् । हरियाणा प्रहरीले ट्वीट गर्दै भनेको छ, ‘आफ्नो जिम्मेवारी निर्वाह गर्दैगर्दा डीएसपी सुरेन्द्र सिंहले आफ्नो ज्यान गुमाएका छन् । हरियाणा प्रहरीको समवेदना पीडित परिवारको साथमा छ । दोषीलाई कारबाही गर्न कुनै कसर बाँकी राखिनेछैन ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!