सभामुखको ताइवान भ्रमण पछि चीनले खोज्यो नेपालको साथ, भन्यो– नेपालले चीनको अडानलाई बुझेर समर्थन गर्नेछ

Posted on: 03 Aug, 2022

साउन १८, काठमाडौं | चीनको चेतावनीका बाबजुद अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले नेपालको समर्थन खोजेको छ ।

 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज एक विज्ञप्ति जारी गर्दै अमेरिकी सभामुखको उक्त कदमको नेपालले विरोध गर्ने विश्वास व्यक्त गरेकी छन् । 

‘एक चीन नीतिको पक्ष र स्वतन्त्र ताइवान पक्षधरको विरुद्धमा नेपालले लामो समयदेखि लिंदै आएको प्रतिवद्धताको चीनले उच्च प्रशंसा गर्दछ । यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार पनि हो,’ राजदूत यान्छीले भनेकी छन्, ‘हामी विश्वास गर्छौं कि नेपाल सरकार र नेपाली जनताले एक चीन नीतिको पालना गरिरहनेछन्, चीनको वैध र जायज अडानलाई बुझेर समर्थन गर्नेछन् र एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन् ।’ 

राजदूत यान्छीले नेपाल र चीन असल छिमेकी, भरपर्दो साथी र साझेदार भएको बताएकी छन् । दुवै देशले सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता सम्बन्धी मुद्दामा एकअर्कालाई बुझेको र समर्थन गर्दै आएको पनि उनले जनाएकी छन् । 

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी मंगलबार ताइवान आएकी थिइन् । उनको भ्रमणलाई लिएर चीनले कडा शब्दमा विरोध जनाएको छ । यसबैबीच राजदूत यान्छीले पेलोसीको ताइवान भ्रमण एक चीन नीति र चीन–अमेरिकाको राजनीतिक आधारको गम्भीर उल्लङ्घन भएको बताएकी हुन् । 

पेलोसीको भ्रमणले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा गम्भीर उल्लङ्घन गरेको दाबी उनले गरेकी छन् । 

राजदूत यान्छीले विश्वमा एउटै मात्र चीन रहेको र ताइवान चीनको भूभागको अविभाज्य भाग भएको बताएकी छन् । यसलाई सन् १९७१ को संयुक्त राष्ट्र संघको महासभाको प्रस्ताव २७५८ ले स्पष्ट रूपमा मान्यता दिएको समेत उनले जनाएकी छन् । 

‘सभामुख पेलोसी अमेरिकी कांग्रेसको वर्तमान नेता भएकोले, उनको भ्रमण र ताइवान गतिविधिहरू जुनसुकै रूपमा र जुनसुकै कारणले गरिएको भएपनि यो राजनीतिक उत्तेजना मात्र हो । चीनले यसलाई पूर्ण रूपमा स्वीकार गर्दैन र चिनियाँ जनताले यसलाई पूर्ण रूपमा अस्वीकार गर्छन्,’ राजदूत यान्छीले भनेकी छन् । 

चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न १.४ अर्ब चिनियाँ जनताको दृढ प्रतिबद्धता रहेको उनले जनाएकी छन् । मातृभूमिको पूर्ण एकीकरणलाई साकार पार्नु सबै चिनियाँ जनताको साझा आकांक्षा र पवित्र जिम्मेवारी रहेको दाबी उनको छ ।

‘अमेरिकी सभामुखको भ्रमणको प्रतिक्रियास्वरूप चीनले निश्चित रूपमा आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न आवश्यक सबै उपायहरू अवलम्बन गर्नेछ । यसबाट उत्पन्न हुने सबै नतिजाहरू अमेरिकी पक्ष र ‘स्वतन्त्र ताइवान’ पृथकतावादी शक्तिहरूले वहन गर्नुपर्छ,’ राजदूत यान्छीले भनेकी छन् । 

उनले ताइवान प्रश्न विशुद्ध रूपमा चीनको आन्तरिक मामिला रहेको बताएकी छन् । उनले अमेरिकालाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेकी छन् । अमेरिकाले कुनै पनि रूपमा ‘स्वतन्त्र ताइवान’ पृथकतावादी शक्तिहरूलाई समर्थन र सहयोग गर्न बन्द गर्नुपर्ने उनले बताएकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!