काबुल कब्जामा परिरहँदा तालिबानलाई आफ्नो हेलिकप्टर दिने अफगानी पाइलट

Posted on: 20 Aug, 2022

भदौ ४, काबुल | बीबीसी | “केही मानिसहरू मसँग खुसी नहुन सक्छन्। भिन्न विचारहरू पनि हुन सक्छन् तर मैले उनीहरूलाई देश आमाजस्तो हुने भन्दै कसैले त्यसलाई घात नगर्न भन्छु,” मोहम्मद इदरिस मोमन्द भन्छन्।

मोमन्द अमेरिकामा विशिष्ट तालिम लिएका केही औँलामा गन्न सकिने अफगान सैन्य पाइलटहरूमध्ये हुन्।

तर जब तालिबानले काबुल कब्जा गर्न लागिरहेका थिए, उनले आफ्ना साझेदारलाई छाडेर आफ्नो गाउँ पुग्दै त्यसअघि शत्रुका रूपमा रहेका मानिसहरूलाई हेलिकप्टर दिए।

“मेरो उद्देश्य अफगानिस्तानको सम्पत्तिको सुरक्षा गर्नु थियो,” उनले  भने।


एक वर्षपछि उनले आफ्नो उक्त निर्णयको व्याख्या गरेका छन्।

मोमन्द सन् २००९ मा अफगान सेनामा प्रवेश गरेका थिए। र चारवर्षे विशिष्ट तालिम कार्यक्रमका लागि वेस्ट प्वइन्ट भनिने अमेरिकाको सैन्य एकेडेमीमा जान्छन्।

सुरुमा उनी पश्चिम अफगानिस्तानको हेरातमा तैनाथ भएर रुस-निर्मित एमआई-१७ हेलिकप्टरहरू उडाउने काम गरे।

केही वर्षपछि उनले अर्को महत्त्वपूर्ण काम पाए।

“सन् २०१८ को अन्त्यतिर हवाई फौजका प्रविधिका पछिल्ला अध्ययन गरेका युवा पाइलटहरूको एउटा सानो समूहलाई छानेर ब्ल्याक हक हेलिकप्टरहरू उडाउन छानियो। त्यसयता म ब्ल्याक हक उडाइरहेको छु।”

ब्ल्याक हकहरू आपूर्ति र पारवहनका लागि प्रयोग हुन्छन्।

बाइडनको फिर्ती घोषणा

सन् २०२१ मा उनी मजार-ए-शरिफमा थिए जतिखेर राष्ट्रपति बाइडनले आफ्ना सैनिकहरूलाई स्वदेश फर्काउने मनसायबारे बोलेका थिए।

उनले सेप्टेम्बर ११ मा अमेरिकामा हमला भएको २०औँ वार्षिकी अगावै ती सैनिकहरूलाई बोलाउने भनेका थिए।

जुलाईमा बाइडनले त्यसको मितिलाई अगाडि सार्दै ३१ अगस्ट तोके।

अमेरिका र उसका साझेदारले तालिम र बन्दोबस्तमा अर्बौँ डलर खर्चँदै आफूहरू फर्केपछि पनि अफगान फौजले तालिबानसँग प्रतिरोध गर्नसक्ने सोचेको थियो।

त्यस्तो आशा दिवास्वप्न बन्न पुग्यो। अफगान सेनाले निकै तीव्र गतिमा तालिबानसामु आफ्नो नियन्त्रण गुमायो।

तालिबान कार्यकर्ताहरूले जुलाईमै ग्रामीण भेगलाई आफ्नो कब्जामा लिए।

६ अगस्टमा पहिलो प्रान्तीय राजधानीसमेत उनीहरूको हातबाट फुत्कियो।

सबैजसो प्रान्तहरू सुरक्षित पारेपछि तालिबानले बिना कुनै अवरोध १५ अगस्टमा काबुल नियन्त्रणमा लियो।

इस्लामिक लडाकु समूहले उनीहरूको प्रतिरोध गरिरहेको अन्तिम पकड क्षेत्र पञ्जशीर उपत्यकामाथि ७ सेप्टेम्बरमा जित हासिल गर्‍यो।

भाग्ने आदेश

देशमा भद्रगोल भइरहँदा मजार-ए-शरिफमा मोमन्दको ६-महिने कार्यकाल जुलाई महिनामा सकियो।

१४ अगस्टमा उनी काबुल हवाई अड्डामा फर्किए।

त्यहाँको अवस्था तनावपूर्ण थियो र शीर्ष राजनीतिक र सैन्य नेताहरू भाग्ने तयारीमा रहेका हल्ला फैलिएका थिए।

तालिबानहरू काबुलको गेटबाहिर आएर बसेका थिए।

विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा भए तापनि त्यो कतिदिन सुरक्षित रहला भन्ने कुरामा सन्देह थियो।

मोमन्द सम्झन्छन्, “हाम्रो हवाई फौजका कमाण्डरले सबै पाइलटहरूलाई उडेर जाने आदेश दिएका थिए। उनले हामीलाई उज्बेकिस्तान जाने निर्देशन दिए।”

मोमन्दलाई उक्त आदेशले क्रुद्ध बनायो। उनले त्यसको पालना नगर्ने निर्णय गरे।

“कमाण्डरले मलाई मेरो देशमाथि घात गर्न भनेका थिए भने म किन त्यस्तो आदेश मानूँ? राष्ट्र घात गर्नु सबैभन्दा खराब अपराध हो। त्यसैले मैले त्यसको पालना गरिनँ,” उनले भने।

उनले घर सल्लाह गरे। उनका बुवाले त्यस विषयमा खास अडान लिएका थिए।

“यदि मैले देश छाडेँ भने वहाँले कहिल्यै माफी नदिने भन्नुभयो।”

उनका बुवाले भन्नुभयो: “ती हेलिकोप्टर अफगानिस्तानका हुन्। तिनले देश छाड्नु हुँदैन।”

अचम्मित साथीहरू

मोमन्दको प्रान्त तालिबानको नियन्त्रणमा आइसकेको थियो।

उनका बुवाले स्थानीय गभर्नरसँग कुरा गर्दा उनले हेलिकोप्टर त्यहाँ ल्याइएमा कुनै क्षति नपुर्‍याइने सुनिश्चितता गरेका थिए।

मोमन्दले एउटा भाग्ने योजना बनाए। तर उडानका लागि सुरुमा उनले एउटा मुख्य अवरोध छल्नुपर्थ्यो।

“हरेक ब्ल्याक हकमा चार जना चालकदल हुन्छन्। मेरो योजनाबारे उनीहरूमाथि विश्वास गर्न सकिन्न भन्ने मलाई लाग्यो।”

“उनीहरू सहमत हुँदैनन् भन्नेमा म निश्चित थिएँ। उनीहरूले मेरो जीवन र हेलिकप्टरलाई जोखिममा पार्न सक्थे।”

उनीहरूलाई झुक्क्याउन मोमन्दले एउटा चाल बुने।

“मैले एअर फोर्सका कमाण्डरलाई हेलिकप्टरमा प्राविधिक समस्या रहेकाले उडान गर्न नसकेको बताएँ। त्यो सुनेपछि सबै तीनजना उज्बेकिस्तान जान लागेको हेलिकोप्टरबाट झरे।”

कुनारको यात्रा

अरू हेलिकप्टर उडेपछि उनले पनि इन्जिन चलाउँदै एक्लै कुनारतर्फको ३० मिनेटको यात्रा सुरु गरे।

“अमेरिकीहरूले एअर ट्राफिक कन्ट्रोललाई नियन्त्रण गरिरहेका थिए। त्यसैले मैले उनीहरूलाई रेडियोमा उज्बेकिस्तानका लागि उड्न लागेको बताएँ। विमानस्थल छाडेपछि मैले राडारलाई स्विच अफ गर्दै सिधै कुनारतर्फ लागेँ।”

“म मेरो घर नजिकै पर्नेगरी आफ्नो गाउँमा अवतरण गरेँ। तालिबानबाट सुनिश्चितता पाएपछि मैले हेलिकप्टरलाई विगतमा त्यसमा तेल भरिने ठाउँमा लगेँ।”

परिवार, साथीहरू र छिमेकीले उनको निर्णयलाई पूरै समर्थन गरेको उनी बताउँछन्।

मोमन्दले आफ्नो उक्त निर्णयमा कुनै पछुतो नरहेको बताए।

आफ्नी श्रीमती र सन्तानसँग अफगानिस्तान छाड्ने विकल्प रहेको भए पनि स्वदेमै बस्ने निर्णय रोजेको उनी बताउँछन्।

“अमेरिकी सल्लाहकारहरूले मलाई तीनपटक सन्देश पठाए। उनीहरूले हेलिकप्टर ल्याउन नसके पनि सडकबाट आऊ हामी तिमी र परिवारलाई उद्धार गरेर लैजान्छौँ भनेका थिए। मैले त्यो प्रस्ताव स्विकारिनँ।”

अफगान हवाई फौजको क्षमता

सन् २०२१ को जुन महिनाको अन्त्यतिर अफगान एअर फोर्ससँग १६७ वटा विमान थियो।

जसमा युद्धक विमान तथा हेलिकप्टरहरू समेत रहेको अमेरिकामा रहेको स्पेशल इन्स्पेक्टर जेनरल फर अफगानिस्तान रिकन्स्ट्रक्सनले जारी गरेको प्रतिवेदनमा उल्लेख छ।

यी केही विमानहरूलाई मोमन्दका साथीहरूले देशबाहिर लगेका थिए।

१६ अगस्टमा उज्बेकिस्तानको टेर्मेज विमानस्थलको भूउपग्रहबाट खिचिएका तस्बिरहरूको समीक्षा गर्दा त्यहाँ दुई दर्जनभन्दा धेरै हेलिकप्टर रहेको देखिन्छ।

त्यसमा एमआई-१७ हरू, ब्ल्याक हकहरू र कैयौँ ए-२९ लाइट अट्याक र सी-२०८ विमानहरू रहेका छन्।

क्षति

अमेरिकी फौजहरूले काबुलमा छाडिएका धेरैजसो विमान र हेलिकप्टरलाई नियतवश क्षति पुर्‍याउन सक्दो गरे।

अहिले अफगानिस्तानमा रहेका ती कतिले काम गरिरहेका छन् भन्ने प्रस्ट छैन।

मोमन्द भन्छन्, “हामीसँग अहिले सात वटा ब्ल्याक हक हेलिकोप्टरहरू प्रयोग गर्न सकिने खालका छन्। सीमित स्रोतहरूमाझ रहेका अफगान इन्जिनियरहरूले त्यसलाई मर्मत गर्न सफल भए। क्रमैसँग हामीले अन्य ब्ल्याक हक हेलिकोप्टरहरूलाई प्रयोग गर्न सकिने बनाउछौँ।”

उनले आफ्ना सहकर्मीहरूले देश छाड्न गरिएका आदेशलाई खुरुखुरु मान्दा अफगानिस्तानलाई ठूलो क्षति पुगेको ठान्छन्।

“जसले हेलिकोप्टर उडाएर उज्बेकिस्तान पुर्‍याए उनीहरूले वास्तवमा देशको शिर झुकाए। ती हेलिकोप्टरहरू हाम्रो देशका थिए। ती निकै महँगा हेलिकोप्टरहरू थिए। हामीले ती कहिल्यै फिर्ता पाउँला भन्ने मलाई लाग्दैन।”

‘सेवा जारी राख्छु’

अमेरिकामा छँदा उनलाई एकजना हेलिकप्टर पाइलटलाई तालिम दिन ६० लाख अमेरिकी डलरसम्म लाग्ने बताइएको थियो।

मोमन्दले त्यस अवसरलाई विशेष मान्छन् र पहिलो पटक विमान उडाएको त्यस क्षण सम्झेर अझै दङ्ग पर्छन्।

“म निकै खुसी र उत्साहित थिएँI त्यस्तो दिन मेरो जीवनमा आउला भन्ने मैले कहिल्यै सोचेको थिइनँ।”

उनी चारवर्षे तालिम अवधिभर अफगानिस्तानमा परिवार भेट्न नआईकनै अमेरिकामा बसे।

तालिबानविरुद्ध लड्न तालिम पाएका उनले अहिले तालिबानले नियन्त्रण गरेको सरकारका लागि ब्ल्याक हक हेलिकप्टर उडाउँछन्।

तर त्यसमा उनले कुनै आश्चर्य मान्नुपर्ने देख्दैनन्।

“सरकारहरू सधैँ परिवर्तन भइरहन्छन्। जनताहरू देशका हुन्छन् र देशको सेवा गर्छन्। सेना राजनीतिमा संलग्न हुनुहुँदैन। मजस्ता मानिसको लागि देशले निकै धेरै खर्च गरेको छ।”

एक वर्षदेखि तालिबानले अफगानिस्तानको सत्ता सम्हालिरहे तापनि कुनै पनि देशले औपचारिक रूपमा उनीहरूलाई त्यहाँका वैधानिक शासकका रूपमा मान्यता दिएका छैनन्।

त्यसो भए पनि मोमन्द आफ्नो भूमिकामा दृढ छन्।

“म मेरो क्षेत्रमा मेरो जीवनको अन्तिम दिनसम्म देशको सेवामा हुनेछु।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!