पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ पर्नसक्ने

Posted on: 21 Aug, 2022

भदौ ५, काठमाडौं | एजेन्सी | पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ पर्नसक्ने भएका छन् । इस्लामावादमा एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा राज्य संस्था र सरकारी अधिकारीहरूलाई धम्की दिएको केही घण्टापछि पाकिस्तानको मिडिया वाचडगले सबै स्याटेलाइट टेलिभिजन च्यानलहरूमा पूर्वप्रधानमन्त्री इमरान खानको लाइभ भाषण प्रसारणमा प्रतिबन्ध लगाएको छ । पाकिस्तान इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरण (पेम्रा)ले यस्तो प्रतिबन्ध लगाएको हो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अवैध लगानीको जाँच गरिरहेको एफआईएले खानलाई गिरफ्तार गर्न सक्ने संकेत गरेको छ ।एफआईएले खानविरुद्ध बलियो प्रमाण फेला पारेको जनाइएको छ । खानले विदेशका ५ कम्पनीमा लगानी गरेका छन् ।

एफआईएले बोलाए पनि खान जाँचमा सहभागी भएका छैनन् । खानलाई सम्पर्कमा आउन एफआईएले नोटिस जारी गरिसकेको थियो ।


खानले अमेरिका, अस्ट्रेलिया, क्यानडा, ब्रिटेन र बेल्जियमका विभिन्न कम्पनीमा अवैध लगानी गरेको एफआईएले जनाएको छ । तर जाँच एजेन्सीले कम्पनीको नाम भने खुलाएको छैन ।

खानविरुद्ध २ पटक नोटिस जारी भइसकेको छ । अब तेस्रोपल्ट नोटिस जारी गर्दा पनि खान सम्पर्कमा नआए उनलाई पक्राउ गर्न सकिने जनाइएको छ । 

शनिबार एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गत हप्ताअघि पक्राउ परेका आफ्ना सहयोगी शाहबाज गिलमाथि गरेको व्यवहारलाई लिएर उच्च प्रहरी अधिकारी, एक महिला मजिस्ट्रेट, पाकिस्तानको निर्वाचन आयोग र राजनीतिक विरोधीविरुद्ध मुद्दा दायर गर्ने धम्की दिएपछि उनको भाषण प्रसारणमा प्रतिबन्ध लगाइएको हो । 

पाकिस्तान तेहरिक–इ–इन्साफले आफ्नो भाषण÷कथनहरूमा राज्य संस्थाहरू र अधिकारीविरुद्ध आफ्नो उत्तेजक बयानमार्फत निराधार आरोप र घृणापूर्ण भाषण फिँजाएर राज्य संस्थाहरूमाथि लगातार आरोप लगाइरहेका पेम्राले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!