शिया धर्मगुरुको राजीनामा घोषणापछि झडप, २० जनाको मृत्यु

Posted on: 30 Aug, 2022

भदौ १४, बगदाद | इराकका एक जना प्रभावशाली शिया धर्मगुरुले राजनीतिबाट राजीनामा दिने घोषणा गरेपछि उनका सयौं क्रुद्ध अनुयायी र सुरक्षा बलबीच सोमबार भएको झडपमा २० जना प्रदर्शनकारीको मृत्यु भएको छ। दोहोरो झडपमा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन्।

धर्मगुरु मुक्तादा अल-सद्रप्रति बफादार प्रदर्शनकारीहरूले सरकारी भवनबाहिर तोडफोडसहित हिंसात्मक प्रदर्शन गरेपछि इराकको सेनाले राष्ट्रव्यापी निषेधाज्ञा जारी गरेको छ। यद्यपि हिंसात्मक गतिविधि रोकिएका छैनन्। 

यसै बीच युरोपेली सङ्घले इराकमा भइरहेको हिंसात्मक प्रदर्शनप्रति चिन्ता व्यक्त गरेको छ। संघले सबै पक्षलाई संयमित रहन र हिंसात्मक गतिविधि रोक्न सम्बद्ध पक्षसँग अपनाउन आग्रह गरेको छ। उसले इराकका सबै राजनीतिक शक्तिलाई संवैधानिक ढाँचाभित्र रचनात्मक राजनीतिक संवादको माध्यमबाट समस्या समाधान गर्न आह्वान पनि गरेको छ। 

कुर्दिश राजनीतिज्ञ मसुद बरजानीले पनि दलहरूलाई द्वन्द्व समाधानका निम्ति हतियार र हिंसाको भाषा प्रयोग नगर्न तथा संयमित हुन आग्रह गरेका छन्। उत्तरी इराकको अर्ध-स्वायत्त कुर्दिश क्षेत्रका पूर्व राष्ट्रपति र शासक कुर्दिस्तान डेमोक्र्याटिक पार्टीका प्रमुख बरजानीले सबै पक्षलाई इराकी जनताको भलाइ हुने समाधानबारे सोच्न तथा उनीहरूको हित ख्याल गर्न अनुरोध गरेका छन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!