खार्किभका विद्युतीय संरचनामा रुसको आक्रमण, पूरै क्षेत्र अन्धकारमय

Posted on: 12 Sep, 2022

भदौ २७, काठमाडौँ | खाकिर्भका विद्युतीय संरचनाहरूमा रुसले आतंकवादी आक्रमण गरेको आरोप युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले लगाएका छन् ।  

उक्त शहरभन्दा पूर्वतिरको हजारौं वर्गमाइल भूभाग आफूहरूको नियन्त्रणमा आएको युक्रेनी सैनिकहरूले दाबी गरेको केही घन्टापछि संरचनामा आक्रमणको खबर आएको हो । युक्रेनले खार्किभमा गरेको प्रत्याक्रमण कारवाहीपछि रुसी सैनिकहरू त्यहाँबाट पलायन भएका छन् । 


आइतवार टेलिग्राममा एउटा सन्देश दिँदै जेलेन्स्कीले बताए, ‘युक्रेन र सभ्य संसारले यी आतंकवादी गतिविधिलाई स्पष्ट रूपमा देखेका छन् ।’ रुसले खार्किभका स्थानीयहरूलाई ग्यास, प्रकाश र खाद्यान्नबाट वञ्चित गराउन खोजेको उनले आरोप लगाए । 

यस युद्धमा युक्रेन हावी हुने उनले बताए । उनले रुसी नेतृत्वलाई प्रश्न समेत गरे, ‘हामीलाई तर्साउन सकिन्छ भनी तिमीहरू अझै पनि सोच्छौ ?’

रुसले पूर्वी युक्रेनमा ११ वटा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी वायुसेनाले आइतवार ट्वीटमार्फत जानकारी दियो । त्यस आक्रमणका कारण खार्किभ र डोनेत्स्क क्षेत्र पूरै अन्धकारमय भएको छ । जापोरिझझिया, नीप्रोपेट्रोव्स्क र सुमी क्षेत्रमा विद्युत् आपूर्ति आंशिक मात्र छ । 

खार्किभको सीएचपीपी विद्युत् केन्द्र आक्रमणको निशानामा परेको युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकले बताएका छन् । तर कतिपय क्षेत्रमा विद्युत् आपूर्ति पछि सुचारु भएको युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोशेन्कोले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!