असोज ३०, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेनले पाकिस्तानलाई ‘विश्वको सबैभन्दा खतरनाक देशहरुमध्ये एक’ भनेपछि पाकिस्तानले असन्तुष्टि जनाएको छ । पाकिस्तानका विदेश मन्त्रीले यस विषयमा पाकिस्तानका लागि अमेरिकी राजदूतलाई बोलाएर असन्तुष्टि जनाएको बताएका छन् ।
पाकिस्तानसँग रहेको आणविक हतियारको सुरक्षामा प्रश्न उठाउँदै बाइडेनले पाकिस्तान खतरनाक मुलुक भएको बताएका थिए । ७९ वर्षीय बाइडेनले बिहीबार ‘डेमोक्रयाटिक कंग्रेसनल क्याम्पेन कमिटी’को उद्घाटन समारोहमा उक्त टिप्पणी गरेका थिए । त्यहाँ उनले युक्रेन युद्ध, चीन र अमेरिकी घरेलु मुद्दाका विषयहरुमा बोलेका थिए ।
बाइडेनले सम्बोधनमा भनेका थिए– ‘सी जिनपिङलाई आफूले के चाहेका भन्ने राम्ररी थाहा छ तर उनी विशाल समस्याहरुबाट घेरिएका छन् ? हामीले यो कुराको सामना कसरी गर्नुपर्छ ? त्यस्तै रूसमा जे भइरहेको छ त्यसका सम्बन्धमा यसको सामना कसरी गर्नुपर्छ ? मेरो विचारमा सम्भवत संसारको सबैभन्दा खतरनाक राष्ट्रहरुमध्ये एक हो– पाकिस्तान, जो सबल मुलुक नभएर पनि आणविक हतियार बोकेर बसेको छ ।’
पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो–जरदारीले शनिबार दक्षिणी बन्दरगाह सहर कराँचीमा एक पत्रकार सम्मेलनमा बाइडेनको बयानबाट आफू ‘आश्चर्यचकित’ परेको बताए । ‘यदि आणविक सुरक्षाको बारेमा कुनै प्रश्न छ भने, त्यो हाम्रो छिमेकी भारतसँग सोध्नुपर्छ, जसले भर्खरै दुर्घटनावश पाकिस्तानी क्षेत्रमा मिसाइल हानेको थियो,’ भुट्टो–जरदारीले मार्च ९ मा पाकिस्तानमा भारतले झुक्किएर हानेको सुपरसोनिक मिसाइललाई इंगित गर्दै भने ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यसअघि नै बाइडेनको भनाइको खण्डन गर्दै आफ्नो देश ‘जिम्मेवार आणविक राज्य’ भएको दाबी गरे । ‘हाम्रा आणविक सम्पत्तिहरु आईएईएले तोकेको मापदण्डअनुसार उत्कृष्ट सुरक्षाका साथ रहेका छन् । हामी आणविक हतियारको सुरक्षाप्रति अत्यन्त गम्भीरता छौं । कसैलाई शंका नहोस्,’ उनले ट्वीट गरेका छन् ।
उता शनिबार, ह्वाइट हाउसकी प्रेस सचिव करिन जिन–पियरेले बाइडेनको पाकिस्तानसम्बन्धी टिप्पणीबारे प्रष्ट पार्ने क्रममा ‘राष्ट्रपतिले सुरक्षित र समृद्ध पाकिस्तान अमेरिकी हितको लागि महत्वपूर्ण रहेको मान्ने गरेको’ बताइन् ।
पाकिस्तानका सैन्य प्रमुख जनरल कमर बाजवा अमेरिका भ्रमणमा गएर उच्चस्तरीय भेटवार्ता गरेको एक हप्ताभन्दा केही पछि यो विवाद देखिएको छ ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले पनि शनिबार बाइडेनको टिप्पणीको विरोध गर्दै अमेरिकी राष्ट्रपति ‘अनावश्यक निष्कर्षमा’ पुगेको बताए । अघिल्लो दशक पाकिस्तानले आफ्नो आर्थिक र रक्षा आवश्यकता पुरा गर्न चीनतर्फ नजिकिएपछि वाशिंगटनसँगको सम्बन्धमा क्रमशः चिसोपना आएको छ । अमेरिकी अधिकारीहरुले विभिन्न अवसरमा आफ्नो पुरानो मित्र शक्ति पाकिस्तानबारे तिक्तता व्यक्त गर्न थालेका छन् ।