चैत २, काठमाडौं | आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा युएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ ।
खेल बिहान ९:३० बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टिममा आज करण केसीको स्थानमा गुल्शन झालाई राखिएको छ ।
युएईविरुद्धको आजको खेलमा विजयी भए नेपाल लिग टुको शीर्ष तीनमा रहँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउने छ ।
हालसम्मको खेलबाट नेपालको ३८ र नामिबियाको ३९ अंक छ । युएई ३३ अंकसहित तालिकाको छैटौं स्थानमा छ । आजको खेलको नतिजा युएईको पक्षमा गए नेपाल चौथो स्थानमा यथावत रहँदै नामिबियामा हुने प्लेअफका लागि जानु पर्नेछ ।
जारी सिरिजमा नेपाल अपराजित भएकाले आज पनि त्यसैलाई निरन्तरता दिने लक्ष्यमा छ ।