चैत २०, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले १०० दिन गरेको कार्य उपलब्धि सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल भएका प्रमुख उपलब्धिहरूको विवरण सार्वजनिक गरेको हो ।
प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रचण्डले राष्ट्रपतिबाट शपथपछि पुस ११ गतेदेखि कार्यभार सम्हालेका थिए । प्रचण्डले सरकारको नेतृत्वमा आएपछि मुलुकको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, जनसेवा र जनसरोकारका मुद्दाहरुको सम्बोधन, सामाजिक न्यायको प्रवर्धन तथा राष्ट्रिय हितको अभिवृद्धि गर्ने उद्देश्यले आफ्ना कामकाजहरु अगाडि बढाइरहेको प्रधानमन्त्री कार्यालयको भनाइ छ ।
प्रचण्डको सरकारले ३७ बुँदे उपलब्धिमा जनताको विकास र समृद्धिका सपनालाई पूरा गर्ने, मुलूकमा विकास निर्माणका कामलाई गति दिने, अर्थतन्त्रलाई सङ्कटमुक्त बनाई आर्थिक क्रियाकलापहरूलाई पुनः चलायमान र तीव्र बनाउने, वैदेशिक मुद्रा सञ्चिति, मौद्रिक तरलता र कर्जाको स्थितिमा सुधार गरी निजी क्षेत्रको मनोबल उच्च बनाउने समेटिएका छन् ।
यस्तै, सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त र नागरिक मैत्री बनाउने भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने तथा राज्यको सबै तह र संरचनामा सुशासन, सदाचार र जवाफदेहिता कायम गर्ने कुरालाई सरकारले जोड दिँदै आएको उल्लेख छ ।
अर्थतन्त्र सुधारको प्रयास अन्तर्गत विभिन्न पहल लिइएको छ। विश्व अर्थतन्त्रमा देखा परेका नकारात्मक प्रवृत्ति र कतिपय आन्तरिक कारणबाट सिर्जित चुनौतीको कारण अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न प्रयास गरिएको उल्लेख छ ।
सरकार सबैसँग सल्लाह, छलफल र सहकार्य गर्दै तथा सबैको पृष्ठपोषण लिँदै मुलूकलाई शान्ति, प्रगति, स्थिरता र अग्रगमनको बाटोमा अघि बढाउन प्रतिबद्धता जनाएको छ। जनताका आशा, अपेक्षा र विश्वासलाई यथाशीघ्र मूर्त रूप दिन सरकार क्रियाशील रहेको भन्दै सबै राजनैतिक नेतृत्व तथा सार्वजनिक प्रशासकहरूमा विकासमैत्री, सेवाग्राहीमैत्री र लगानीमैत्री मानसिकता विकास गर्न आवश्यक देखिएको उल्लेख गरेका छन् ।