बैशाख १, काठमाडौँ | सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ । दिउँसो १ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।
सभामुखले संसदको विजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायतका विषयमा सहमति जुटाउन निरन्तर संवाद गरिरहेका छन्।
सभामुखले २०७९ चैत २५ गते सिंहदरवारमा र चैत २८ गते सरकारी निवास बालुवाटारमा छलफल गरेका थिए। बिहिबारको छलफलमा संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन तीन दलका शीर्ष नेताहरूबीच सहमति बनेको थियो।