बैशाख ४, काठमाडौँ | भारतको महाराष्ट्रमा एक कार्यक्रममा जम्मा भएका मानिसहरुमा लू लागेका कारण ११ जनाको मृत्यु भएको छ। शनिबार महाराष्ट्रको नयाँ मुम्बईमा वरिष्ठ संगीतकार अप्पासाहेब धर्माधिकारीलाई महाराष्ट्र भूषण पुरस्कारले सम्मान गर्ने कार्यक्रममा जम्मा भएका मानिसहरु गर्मीका कारण अस्पताल भर्ना भएका थिए।
नयाँ मुम्बईको खारघरमा आयोजित कार्यक्रममा मानिसहरु ठूलो संख्यामा उपस्थित थिए। नयाँ मुम्बईमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। यही कारण केही मानिसलाई लू लागेको थियो।
हिट स्ट्रोकबाट पीडित मानिसहरुलाई अस्पताल लगिएको थियो। यसरी लू लागेकामध्ये ११ जनाको उपचारका क्रममा मृत्यु भएको हो। २४ जनालाई उपचारपछि घर पठाइएको छ।
मुख्यमन्त्री एकनाथ शिन्दे कामोठेको एमजीएम अस्पतालम उपचारत मानिसहरुको स्वास्थ्य अवस्था वुझ्न पुगेका थिए। उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति दुख व्यक्त गरेका छन्। उनले एक ट्विट गर्दै उक्त घटना दुर्भाग्यपूर्ण भएको बताएका छन्।
‘यो एक दुर्भाग्यपूर्ण र दर्दनाक दुर्घटना हो। महाराष्ट्र भूषण पुरस्कार समारोहमा भाग लिएका केही सदस्यहरुको लू लागेका कारण मृत्यु भएको छ,’ उनले लेखेका छन्, ‘म सम्पूर्णप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछु। हामी उनीहरुका परिवारको दु:खमा सहभागी छौं।’