वैशाख ८, काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । सुरुवातमा खराब पर्दर्शन गरेपनि नेपालले क्रमश खेलमा सुधार गर्दै फराकिलो स्कोर बनाउन सफल भयो ।
ओडिआईमा ३१० रन बनाएको नेपालको लागि यो कीर्तिमानी स्कोर हो । खेलमा युवा अलराउण्डर कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीले अर्धशतक प्रहार गर्दा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।
नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो । कीर्तिपुरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ रोजेको नेपालका लागि कुशल मल्लले १०८ रन र सोमपाल कामीले अविजित ६३ रन बनाए ।
पहिलो चार ओभरमा कुनै रन जोड्न नसकेको नेपालले २८ औ बलको सामना गरेपछि मात्र रनको खाता खोलेको थियो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल बिना रन आउट हुँदा नेपाल सुरुवातमै कमजोर बनेको थियो ।
तेस्रो ओभरमा कुशल भुर्तेल बिलाल खानले एलबीडब्लु धरापमा परे । आसिफलाई कलिमुल्लाहको चौथो ओभरमा बोल्ड गरे ।
त्यसपछि आएका भिम शार्की र कप्तान रोहित पौडेलले अर्धशतकिय साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले । तेस्रो विकेटका लागि भिम र रोहितले ५४ रनको साझेदारी खेले ।
यस क्रममा रोहितले ३४ बलमा २३ रन बनाए भने त्यसपछि भिम २० औं ओभरमा ३३ रन बनाएर आउट भए ।
त्यसपछि आरिफ शेख र कुशल मल्लले पाँचौ विकेटका लागि ७५ रनको साझेदारी गरे । यस क्रममा आरिफले २९ रन बनाए भने कुशलले ६४ बल खेल्दै ९ चौका र १० छक्का मदतमा १०८ रन बनाए । त्यसपछि दीपेन्द्र सिंह ऐरी ७ र सन्दीप लामिछाने ८ रनमा आउट भए ।
सोमपाल र करण केसीले नवौँ विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे । सोमपालले ४८ बल खेल्दै ९ चौका मदतमा अविजित ६३ रन बनाए । करणले १५ बलमा २ चौका र १ छक्का मदतमा अविजित २९ रन बनाए ।
खेलमा ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए ।