वैशाख १०, काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत काठमाडौँका जारी क्रिकेट खेलमा युएइले सिंगापुर विरुद्ध ४७२ रनको बिशाल लक्ष्य दिएको छ । युएईले पुरै ओभरको खेल खेल्दै सिंगापुरलाई नेपालको त्रिबी स्थित मैदानको लागि एकदिवसीय प्रतियोगिता अन्तर्गत हालसम्मकै बिशाल रनको लक्ष्य पेश गरेको हो ।
सिंगापुर बिरुद्ध बिशाल लक्ष्य दिने क्रममा युएईका लागि युएईका भ्रितिय अरविन्दले सर्वाधिक १७४ रन बनाए । १३३ बल खर्चिएका उनले ७ छक्का र १७ चौका प्रहार गर्दै विशाल स्कोर खडा गरेका हुन् । त्यस्तै युएईका ओपनिङ ब्याट्सम्यान मुहम्मद वासिमले ८२ बल मात्र खर्चिएर १६ छक्का र ९ चौका प्रहार गर्दै १६० रन बनाए । खेलमा युएईका अर्का ब्याट्सम्यान आयन खानले ५० बल खर्चिएर ३ छक्का र ९ चौकाको मद्धतले ७४ रन जोडे ।
खेलको ५० औं ओभरको अन्तिम बलमा सबै विकेट गुमाएको युएईका लागि आयन लाक्राले १२ रन, आसिफ खानले ११ रन, रोहण मुस्तफाले ३ रन, कार्तिख मेह्पानले १ रन जोडेर आउट भए । खेलमा १६ जोडेर सन्चित शर्मा नट आउट रहे भने रमिज सह्जाद, जुनिद सिदक्यु र जाहोर खानले कुनै रन जोड्न सकेनन् ।
सिंगापुरको लागि आदवित्य भार्गोभाले सर्वाधिक ४ विकेट, रमेश कालिमुथुले ३, विनोथ वास्करणले २ र मनप्रित सिङले १ विकेट लिए ।
उता मुलपानी स्थिति क्रिकेट मैदानमा अहिले ओमान र मलेसिया बीच पनि प्रतिस्पर्धा हुँदैछ । खेलमा मलेसियाले ओमानसामु २२८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २२७ रनको योगफल खडा गर्यो ।
मलेसियाका विरन्दिप सिंहले ९४ रन बनाए । विरन्दिपले १४४ बलमा १३ चौका प्रहार गरे । मुहम्मद सहादतले ५५, मुहम्मद अमिरले २०, मुहम्मद वफिकले १९ र सयेद अजिजले १८ रन बनाए ।
ओमानका कप्तान जिसन मक्सुदले चार विकेट लिए । १० ओभर बलिङ गरेका मक्सुदले ३५ रन खर्चिए । बिलाल खान र आयान खानले समान दुई विकेट लिँदा कलिमुल्लाहले एक विकेट हात पारे ।
प्रतियोगितामा दुवै टिमको यो तेस्रो खेल हो । मलेसियाले दुई खेलमध्ये एकमा जित र एकमा हारको नतिजा आत्मसाथ गर्दा ओमानले पनि एक खेलमा जित र अर्कोमा हार व्यहोरेको थियो ।
यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।
प्रिमियर कपको समूह ‘ए’ नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउनेछ ।