जेठ ७, काठमाडौं | लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको प्लेअफ चरणमा पुगेको छ । शनिबार राति खेलिएको खेलमा कोलकाता नाइट राइडर्समाथि १ रनको रोमाञ्चक जित हासिल गर्दै लखनउ प्लेअफ चरणमा पुगेको हो ।
टस हारी ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोलकाताले भने निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको लखनउका लागि ब्याट्सम्यान निकोलस पुरनले ५८ रनको योगदान गरे । उनले ३० बलको सामना गरी ५ छक्का र ४ चौका प्रहर गरे। भने क्विन्टन डि ककले २८ रन बनाए । प्रेरक मन्कादले टोलीका लागि २६ रन बनाए र आयुष बदोनीले २५ रन बनाए । कोलकाताका लागि बलर वैभव अरोरा, सार्दुल ठाकुर र सुनिल नारिनले २÷२ विकेट लिए ।
घरेलु मैदानमा जवाफी ब्याटिङ गरेको कोलकाताका लागि रिंकु सिंहले अविजित ६७ रन र ओपनर जासन रोयले ४५ रन बनाए । रिंकुले ३३ बलको सामना गरी ४ चौका र ६ छक्का प्रहर गरि ६७ रन बनाए भने जासन रोयले २८ बलको सामना गरी १ छक्का र ७ चौका प्रहार गरि ४५ रन बनाए ।
त्यस्तै वेंकटेस ऐयरले पनि २४ रन बनाएका थिए । लखनउका लागि बलर रवी विस्नोई र यश ठाकुरले २÷२ विकेट लिए ।
लखनउ १४ खेलबाट १७ अंक बटुल्दै प्रतियोगिताको प्लेअफ चरणमा प्रवेश गरेका हुन् ।
जारी आईपीएलमा अब प्लेअफ चरणमा पुग्ने १ टोलीको टुंगो लाग्न बाँकी छ । गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स यसअघि नै प्लेअफ चरणमा पुगिसकेका छन् ।