जेठ २१, काठमाडौँ | फ्रेञ्च स्ट्राइकर करिम बेन्जिमाले स्पेनिस क्लब रियल मड्रिड छाडेका छन् । रियल मड्रिडले एक विज्ञप्ति निकालेर दुवै पक्षले आपसी सहमतिमा १४ वर्ष लामो सहकार्य तोड्ने निर्णय गरेको जनाएको छ ।
२१ वर्षको उमेरमा सन् २००९ मा रियल आएका उनले सिजनसकिए लगत्तै फ्री ट्रान्सफरमा क्लब छाड्ने छन् ।
स्पेन छाडेर उनी साउदी अरब जान लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दाबी छ । उनले साउदी क्लब अल इत्तेहादबाट कीर्तिमानी रकमको प्रस्ताव पाएका छन् ।
एउटा साउदी टेलिभिजनले त उनले अल इत्तेहादसँग बेन्जिमाले २ वर्षको सम्झौता गरिसकेको दाबी गरेको छ ।
बेन्जिमाले खेलेको समयमा रियलले २५ वटा उपाधि जितेका छ । च्याम्पियन्स लिग र क्लब वर्ल्डकप ५–५ पटक, स्पेनिस सुपर कप र युरोपियन सुपर कप ४–४ पटक, ३ पटक कोपाज डेल रे उपाधि उनले उचालेका छन् ।
बालोन डिओर विजेता र युईएफए प्लेयर अफ द इअरसमेत रहेका उनले रियलका लागि खेलेका ६४७ खलमा ३५३ गोल गरेका छन् ।
उनी रियलका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी हुन् । उनी भन्दा अघि रहेका क्रिस्टियानो रोनाल्डोले रियलका लागि ४३८ खेलमा ४५० गोल गरेका छन् ।