भदौ १७, काठमाडौँ । एसियन कप क्रिकेटमा वर्षाका कारण भारत र पाकिस्तानले अङ्क बाँड्न बाध्य भएका छन् । पानी परेपछि दोस्रो पारीमा एक बल पनि नफाली खेल सकिएको हो ।
खेल रद्द भएसँगै दुवै टोलीले १–१ अङ्क पाएका छन् । समूह ए मा पाकिस्तान दुई खेलबाट ३ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने भारत १ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेपाल अङ्कविहीन रहेको छ । अब समूहको अन्तिम खेलमा नेपाल र भारत भिड्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा सोमबार भारतसँग खेल्ने छ ।
श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २६६ रन बनाएको थियो ।
भारतका लागि ईशान किसन र हार्दिक पाण्ड्याले उत्कृष्ट ब्याटिङको नमुना प्रस्तुत गरेका थिए । पाण्ड्याले सर्वाधिक ८७ रन बनाए भने ईशानले ८२ रनको पारी खेलेका थिए ।
यसअघि भारतले शीर्ष चार ब्याट्सम्यान मात्र ६६ रनमा गुमाएको थियो । पाकिस्तानका लागि अफ्रिदीले ४ तथा शाह र राउफले ३–३ विकेट लिएका थिए |