असोज २, काठमाडौँ | युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजन आज मंगलबारदेखि सुरु हुँदैछ ।
तर पछिल्लो दशक विश्व फुटबलमा राज गरेका दुई सुपर स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो यस पटक च्याम्पियन्स लिगमा हुने छैनन् ।
गतसिजन पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको म्यानचेष्टर सिटीसहित इंग्लिस प्रिमियर लिग खेल्ने आर्सनल, म्यानचेष्टर युनाइटेड र न्युकासलले यस सिजन च्याम्पियन्स लिग खेल्दैछन् ।
न्युकासल २० वर्षपछि च्याम्पियन्स लिगमा छनोट भएको हो । म्यानचेष्टर सिटी उपाधि रक्षा गर्ने अभियानमा छ ।
च्याम्पियन्स लिगको कुन समूह कठिन?
न्युकासल रहेको समूह एफ ग्रुप अफ द डेथको रुपमा छ । यस समूहमा फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी), इटालियन महारथी एसी मिलान र च्याम्पियन्स लिगका पूर्व विजेता बोरुसिया डर्टमण्ड छन् ।
साविक विजेता सिटीका लागि भने समूह चरण केही सहज देखिएको छ । सिटीले समूह जी मा आरबी लाइपजिग, रेड स्टार बेलग्रेड र योङ ब्वाइजसँग खेल्नेछ ।
समूह ए मा रहेको युनाइटेडले जर्मन च्याम्पियन बायर्न म्युनिखसँगै एफसी कोपनहेगन र गालातासारेसँग खेल्नेछ ।
आर्सनलले युरोपा लिग विजेता सेभियासहित पीएसभी आइन्डहोभन र लेन्ससँग समूह चरणमा खेल्नेछ ।
यस्तै स्कटिस क्लब सेल्टिकले समूह इ मा एट्लेटिको मड्रिड, फेयेनुर्ड र लाजियोसँग खेल्नेछ ।
को-को देखिने छैनन्?
पछिल्लो समय विश्व फुटबलमा राज गरेका दुई सुपर स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो यस सिजनको च्याम्पियन्स लिगमा देखिने छैनन् ।
पछिल्लो समय चर्चामा रहेको साउदी अरेबियाको लिगमा जाने रोनाल्डो पहिलो स्टार हुन् । उनले अल नासेरका लागि खेल्दै आएका छन् ।
मेसी भने यसै सिजन अमेरिकन क्लब इन्टर मियामी गए ।
यति मात्रै होइन । ब्राजिलिनय फरवार्ड नेमार र फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा पनि रोनाल्डो रहेको साउदी लिगमै लागे । नेमारले अल हिलाल र बेन्जेमाले अल इत्तेहादसँग खेल्दैछन् ।
यद्यपि अझै पनि वर्तमान समय र भविष्यका समेत स्टारका रुपमा रहेका फ्रेन्च स्ट्राइकर केलिएन एमबाप्पे च्याम्पियन्स लिगमा हुनेछन । उनले पीएसजीबाट खेल्नेछन् । यस्तै सिजनका गोल मेसिन एर्लिङ हालान्ड अझ धेरै कीर्तिमान तोड्ने लाइनमा छन् ।
बार्सिलोनाका युवा स्टार लामिन यामाल हेर्न लायक खेलाडीको रुपमा छन् । १६ वर्षीय यामाल बार्सिलोनाको सबैभन्दा युवा खेलाडी बन्नुका साथै स्पेनका लागि पनि डेब्यु गर्ने र गोल गर्ने सबैभन्दा युवा खेलाडी बने ।
उपाधि दाबेदार टिम को हो ?
साविक विजेता सिटी च्याम्पियन्स लिगको उपाधि जित्न सबैभन्दा दाबेदार टिमको रुपमा छ । ग्रेसनोटको युरो क्लब इन्डेक्स अनुसार स्पानिस रियल मड्रिड र जर्मन बायर्न भन्दा सिटी नै बढी दाबेदार देखिएको छ ।
सिटीको उपाधि जित्ने सम्भावना ३७ प्रतिशत छ भने रियलको १३ प्रतिशत र बायर्नको ११ प्रतिशत छ । यस्तै १९ प्रतिशत सम्भावना अन्य क्लबले जित्ने सम्भावना छ ।
सिटी, रियल र बायर्नसँगै बार्सिलोना नकआउट चरणमा पुग्ने कम्तीमा पनि ९० प्रतिशत सम्भावना छ ।
च्याम्पियन्स लिग फर्म्याट कहिले परिवर्तन हुन्छ?
अहिले भइरहेको ३२ क्लब समावेश च्याम्पियन्स लिगको यो अन्तिम सिजन हुनेछ । जहाँ चार टिमको ८ समूह छ । हरेक समूहका शीर्ष दुई टोली अन्तिम १६ मा पुग्नेछन् ।
२०२४-२५ को सिजनबाट भने च्याम्पियन्स लिगमा केही परिवर्तन हुनेछ । नयाँ फर्म्याटमा ३६ क्लबले सहभागिता जनाउनेछन् ।
थप ४ मध्ये २ स्थान अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्ने देशको क्लबलाई दिइनेछ ।