असोज १८, काठमाडौँ | नेपाल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करन केसीले भारतविरुद्ध ब्याट भाँचिएको ड्रेसिङ रूम गएपछि मात्र थाहा पाएको बताएका छन्।
‘ब्याट भाँचिएको ड्रेसिङ रूम गएपछि मात्रा थाहा पाएँ। पछि सामाजिक सञ्जालमा भाँचिएको ब्याटले खेलेको भनेर हल्ला धेरै भएछ’, करणले हाँस्दै भने ।
उनले अन्तिम बलमा छक्का हानेपछि ब्याट भाँचिएको हुन सक्ने बताए। १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलमा भारतविरुद्ध २३ रनले पराजित हुँदै नेपाल बाहिरिसकेको छ।
एसियाड क्रिकेटअन्तर्गत मंगलबार भारतसँग नेपालले खेलेपछि उनको एउटा तस्वीर भाइरल भइरहेको थियो । तस्वीरमा करणले बोकेको ब्याट फुटेको वा चर्केको जस्तो देखिन्थ्यो । नेपालीहरुमात्र होइन, धेरै भारतीयहरुले पनि नेपाली ब्याट्सम्यानसँग एउटा गतिलो ब्याट नभएको भन्दै दया वर्षाइरहेका थिए ।
जानकारहरु भने सामाजिक सञ्जालले यस्ता विषयहरुलाई गलत र अतिरञ्जित प्रचार गरिरहेको बताउँछन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपालका अधिकांश राष्ट्रिय क्रिकेटरसँग स्पोन्सर रहेको प्रस्ट पारेका थिए ।
एउटा ब्याटकै अभाव हुने परिस्थिति कम्तीमा राष्ट्रिय खेलाडीमा नरहेको उनको भनाइ छ । उनले वास्तविकता नबुझी भ्रामक रुपमा समाचारहरु नफैलाउन आग्रह समेत गरेका थिए ।