प्रभात सुवेदी । बालबालिकाहरु स्वभावैले जिद्धि हुन्छन् । यो अस्वभाविक पनि हैन । हामीले कुन कुरा ठिक र कुन कुरा बेठिक भन्ने छुट्टयाउने गरी ज्ञान दिनु पर्दछ । यो अभिभावकीय भूमिकामा हामी कति सक्षम भयौँ या भएनौँ भन्ने कुरा उनीहरुले देखउने व्यवहारले नै निक्र्योल गर्दछ । अरुको जे देख्यो, जस्तो देख्यो त्यही कुराको डिमाण्ड गर्ने स्वभाव बालबालिकाहरुको हुन्छ । उनीहरुलाई बाउआमाको हैसियत के हो भन्ने कुराको जानकारी नै हुँदैन । बल्लतल्ल एउटा माग पूरा गरिदियो अनि अर्को माग तेसारिदिन्छन् बालबालिकाहरु ।
कहिलेकाहिँ मागहरु राख्दै जाँदा यस्ता मागहरु राखिदिन्छन् जुन मागहरु पूरा गर्नका लागि अभिभावकहरुको सामथ्र्य नै हुँदैन । अनि यति मात्रै हैन कि कहिलेकाहीँ बजारमा नै जिद्धि गरेर कुनै चिजहरु किनाइछाड्छन् । उनीहरुको रोजाई हामीलाई मन परेको हुँदैन । अभिभावकहरुको ईच्छा भनेको अलिक खप्ने र बलिया चिजहरु किनीदिउँ भन्ने हुन्छ भने उनीहरुलाई झिलीमिली सामग्रीहरु नै मन पर्दछ र त्यतैतिर नै आकर्षित हुन्छन् ।
म त्यतिबेला चार, पाँच वर्षको हुँदोहुँ गाउँघरमा दशैँ सकिएर तिहारको रमझम शुरु भैसकेको थियो । त्यतिबेला अहिलेजस्तो सुविधा र बजार विस्तार भएको पनि थिएन । बोडरमा बस्ने हुँदा हामी सिमाका बजारहरुमा गएर सरसामानहरु खरिद गरि ल्याउँथ्यौँ । जुन प्रचलन अझैपनि यथावत कायम रहेको छ । भारतको बलइगाउँ बजार प्रमुख बजारको रुपमा रेहको थियो । घरयासी सामानहरु प्राय त्यहीँबाट नै खरिद गरि ल्याइन्थ्यो । त्यहीँबाट तिहारका लागि केही अग्रज दाइहरुले पटाका लगायतका विस्फोटक पदार्थहरु ल्याउनुभएको रहेछ ।
अहिलेजस्तो महङ्गो पनि थिएन त्यतिबेला । एउटा राम्रैसँग पट्किने पटाकाहरुको पूरा प्याकेटलाई नै पाँच देखि दश रुपैँयामा पाइन्थ्यो । दुई रुपैया देखि दश रुपैँयासम्ममा त रकेट, सुतली बम भन्ने पटाकाहरु आउँथे । मलाई त पटाका पट्काउन अझै पनि डर लाग्छ । त्यतिबेला गिलासमा अड्याएर, कतै गाडेर लामो काजग सल्काएर भागेर वा पटाकाको टुप्पोलाई मट्टितेलमा हल्का चोपेर जलाएर टाढा भाग्थ्यौँ । एक साँझ भने केही दाइहरुले रकेट पट्काउने भनेर तयारी गरिरहेको अवस्थामा म पुगेँ र नजिकै जाँदा भैरहेको तयारी र वरपरको जमघटले मलाई निकै हौषला बढायो ।
म नजिकैँ पुगेर त्यहाँ भैरहेको सबै तयारीहरु हेर्दे थिएँ । तर, विडम्बना तयारी त पूरा भैसेको रहेछ, दाईहरुले त रकेटमा आगो लगाएर भागिसक्नु भएको रहेछ । म भने झिसमिसे साँझ भएकोले मेसै पाइन । एक्कैपटक भुरुरुरु गर्दै आगोको मुस्लो जस्तो उठेर रकेटवाला पटाका घुम्न थालेपछि पो म डराएँ । मुटुले ठाउँ छोडेजस्तो भो । बेस्सरी चिच्याएँ । कुरो के भो भने रकेट त सिधै माथि गएर पट्किनु पर्नेमा त्यसो भएन । त्यो त त्यहीँ हामी वरपर पो घुमिरह्यो । मेरो त आँखा नै बन्द भयो । वरपर केही पनि देखिएन । सबैतिर अन्धकार भएको महशुस भयो । त्यो रकेट पट्किएर सकिएपछि आँखा खोल्दा त म खेतको आलीको छेउनिर पल्टिएको रहेछु । यसरी पल्टिएको भएर बचियो नत्र के हुन्थ्यो कुन्नी थाहा भएन ।
मैले आफ्नै प्रसङ्ग किन पनि जोड्न खोजिरहेको हुँ भने यथार्थ अनुभवहरुबाट पाठ सिक्न सजिलो हुने रहेछ । यदि कुनै कारणबाट मेरो आँखामा बारुद पथ्र्यो भने पनि आज मेरो दृष्टि क्षमता गुमेको हुन्थ्यो । त्यसबेलादेखि म कहिलेकाहीँ आफ्नै सन्तानहरुको रहर पूरा गर्न सामान्य नपट्किने खालका झिरझिरे लगायतका चिजहरु रमाईलोका लागि मात्रै किनिदिने गर्दछु र तिनै चिजहरु पनि आगो विना नबल्ने भएकाले पनि आफैले नै उनीहरुका लागि सहजीकरण गरिदिने गर्दछु ।
आजभोलि बजारमा प्रहरीले जतिसुकै कडाई गरेतापनि खुलेआम तिहारको माहोलमा बिस्फोटन हुने खालका पटकाहरु विक्री भईरहेको हामीले देख्ने गरेका छौँ । र, जतिसुकै पटका, भूईँचम्पा, आतसबाजी नगरौँ, कडा कारवाही हुन्छ भनेपनि तिहार शुरु हुन नपाउँदै खासगरी शहरबजारका आकाशहरु यिनै पटका र विस्फोटक पदार्थहरुले नै भरिने गर्दछन् ।
यो विडम्बना हो । एकातिर हाम्रा शहरबजारहरु त्यसैपनि प्रदुषित भैरहको अवस्था छ भने अर्कातिर यसरी पटकाहरु पट्काईँदा यसबाट निस्कने धुवाँले पनि वायुमण्डल झनै प्रदुषित हुने गरेको छ । एकातिर यस्तो खालको वातावरणीय समस्या हुन्छ भने अर्कोतिर नजानिदो पाराले रमाईलोको लागि हामीले दुःख गरेर कमाएको पैसा व्यर्थैमा सकिएको छ ।
बालमन भनेको अबोध नै हुन्छ । बालबालिकाहरुले पटका तथा पटकाजन्य पदार्थहरुबाट हुन सक्ने संभावित दुर्घटनालाई आँकलन गर्नै सक्दैनन् । यो उनीहरुको कमजोरी भने पटक्कै हैन उनीहरुको स्वभाव हो । बालबालिकाहरु भनेका वर्तमानसँग रमाउन चाहाने उमेरले निर्धारित भएका मानव समुदाय भएकाले तिनीहरुलाई भविष्य देखाउनका लागि अभिभावकहरुको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुन्छ । पटाका तथा अन्य विष्फोटक पदार्थका कारणले गर्दा वर्षेनी कति बालबालिकाहरुको अकालमा ज्यान गैरहेको छ ।
बालबालिकाहरु मात्रै हैन कि कहिलेकाहीँ उमेरले पाका भएकाहरुको पनि ज्यान गएका छन् । पटकाका कारणले गर्दा नै घर, गोठ वा टौवामा नै आगलागी भएर पनि ठूलो मात्रामा धनको क्षति पनि भएका कति घटनाहरु हामीले सुनेका र देखेका छौँ ।
धर्म अनुसारका पर्वहरु रमाईलोका लागि मात्रै हैनन् । रमाईलो र मोजमस्तीका रुपमा चाडपर्वहरुलाई विश्लेषण गरिँदा पछिल्लो समयमा तमाम खाले विकृति विसङ्गतीहरुको विगविगी भैरहेको अवस्था हो । खापानका मामलामा होस् वा कुनै कुरामा होस् अनावश्यक तडकभडकहरुका कारणले गर्दा नयाँ पुस्ताहरु थाहै नपाईकन विकृतिको खाडलमा फँसिरहेका छन् ।
हामीले यस्ता कुराहरुलाई ख्याल गरिरहेका हुँदैनौँ । गरिएपनि उति वास्ता गर्दैनौँ तर हामीले सोचिरहेका हुँदैनौँ कि यस प्रकारका गतिविधीहरुले बालबालिकाहरुलाई के कस्तो प्रभाव पारिरहेको हुन्छ भनेर । किनकी बालबालकाहरुले जे देख्यो त्यही सिक्ने हुन् र अरुले जे ग¥यो त्यही गर्ने हुन् । त्यसैले उनीहरुको मनोवृत्तीलाई सकारात्मक सोचतर्फ मोड्नका लागि हामी अभिभावकहरुको सकारात्मक पहल हुनु आवश्यक रहेको छ ।
तिहार भनेको उज्यालोको पर्व पनि हो । उज्यालोका लागि हामीले दीयो, मैनवत्तीको प्रयोग पनि गर्दछौँ । घरघरमा दीपावलीका लागि आजभोलि दीयो, मैनवत्ती, पालाहरुको मात्रै हैन अनेक खालका रङ्गी विरङ्गी खालका विद्युतीय झालरहरु पनि प्रयोग गरिन्छन् । संस्कृति भन्दा पनि यस प्रकारका विद्युतीय सजावटहरु त आफ्नो शान देखाउने माध्यम पनि बनिसकेको छ । जसको घरमा झिलिमिली पारिन्छ, त्यो घरको सम्पन्नता त्यही झिलिमिलीले जनाउने भएकोले पनि यस प्रकारका विद्युतीय बत्तीहरुको प्रयोग तथा बजारमा माग पनि ह्वात्तै बढेको हुन्छ तिहारमा । तर यस्ता प्रकारका विद्युतीय बत्तीका लगि प्रयोग गरिने सामग्रीहरुका कारणले गर्दा पनि घरमा आगलागी हुने, करेण्ट लाग्ने जस्ता घटनाहरु हुने गर्दछन् ।
यसका लागि आवश्यक पूर्व सावधानी अपनाउनु आवश्यक हुन्छ । बजारमा पाईने यस प्रकारका विद्युतीय सामग्रीहरुको प्रयोग गर्न बालबालिकाहरुलाई प्रोत्साहित गर्नु हुँदैन । हामीले पनि यस प्रकारका सामग्रीहरुको प्रगोग गर्दा विशेष सावधानी त अपनाउनु त पर्दछ नै साथसाथै बालबालिकाहरुलाई पनि यस प्रकारका विद्युतीय सामग्रीहरुको प्रयोगमा सावधानी अपनाउन सिकाउनु पर्दछ । सकभर बालबालिकाहरुलाई यस प्रकारका सामग्रीहरु छुनका लागि नदिनु नै बेश हुन्छ । हाम्रो सानो कमी कमजोरी र वेवास्ताका कारण रमाईलो वातावरणमा मनाउनु पर्ने चाडबाड पनि निरस र नरमाईलो हुन जान्छ ।
बालबालिकाहरुलाई संस्कार त हामीले दिने हो । उनीहरुलाई के कुरा ठिक के कुरा बेठिक भन्ने कुरा थाहा नै हुदैन । त्यसैले कुनै पनि सामग्रीहरुको प्रयोग र तिनीहरुको फाईदा र बेफाइदाका कुराका बारेमा सकारात्मक तबरले हामीले नै उनीहरुको मन जित्ने गरी संझाई बुझाई गर्नु आवश्यक छ । उनीहरुलाई आवश्यक परेमा पैसाको महत्व र पैसा कमाउनका लागि गर्नुपर्ने दुःखका बारेमा पनि जानकारी दिनु आवश्यक छ । पैसाको फजुल खर्च गर्नु हुँदैन भनी सानै उमेरदेखि नै ज्ञान भएमा बचत गर्ने बानीको विकास हुन्छ । यसले गर्दा मितव्ययी हुने बानीको विकास पनि हुँदै जान्छ । यसको फाईदा भनेको बालबालिकाहरुलाई त हुन्छ नै तर दिर्घकालीन रुपमा अभिभावकहरुलाई पनि यसले निकै टेवा पुग्दछ ।
त्यसैले बाल मन मस्तिष्कलाई कतातिर लैजाने भन्ने कुरा अभिभावकहरुमा पनि भर पर्ने कुरा हो । हामी अभिभावकहरुले कसरी उनीहरुलाई संस्कारित गर्दछौँ र नैतिकतातर्फ उन्मुख गराउँदछौँ भन्ने कुरामा नै बालबालिकाका स्वभावहरु निर्धारित हुने हुनाले सम्पूर्ण अभिभावकहरुले घरमा तथा शिक्षकहरुले विद्यालयमा सोही अनुरुपका संस्कारहरु आजैदेखि दिनु आवश्यक हुन्छ ।