-राजु विक |
काली नदी वेगले दक्षिणतिर छाल हानिरहेको थियो । किनारामा अंगारका राशि थिए । भर्खरै कसैलाई निलेर अघाए जस्ता । डकारे जस्ता । हामीलाई पनि थर्काउँदै गरे जस्ता अँगारका राशि । बाफिला थिए । रापिला थिए ।
दलदले बालुवालाई अँगाल्दै त्याग्दै जाँदै थिए, छालहरु । अल्लि पर पर कालीको चिसो पानीले पखालेका, कुँदेका, लेउले पोतेका ढुङ्गा थिए । गहिरिएर खोज्दा कतै कतै भेटिन्थे मानिस र अन्य प्राणीका हाडखोरहरु ।
केही माथि, केही तल बगर हाँसिरहेका थिए । अझै तल बगरे मैदानमा बौरेठाहरुको पहाड थियो । मानौँ हाम्रै मनसरि । जर्जर, क्रुरु, हीन, संकीर्ण र स्वार्थपूर्ण भावमा हाँसिरहेका थिए सबै कुरा ।
उफ्रिदै पछारिदै गरेको मिहिनो । कतै कतै भँगालो । विभिन्न तवरले चिरा चिरा परेको मानवको मन जस्तै भँगालो । कतै-कतै भूमरी । अलमल-अलमल । मजाको ! बालकले साथीहरुसँग खेल्दाखेल्दै घर जान बिर्सिए जस्तो । कस्तो कस्तो भूमरी ।
काली नदीको कालो पानीमा उज्यालो, शीतलो र गडिलो सम्बन्ध खोजेर घोरिदा घोरिदै तन्द्रा भङ्ग भयो । कति नमजा लाग्यो । हासौ हासौँ जस्तो । रोऊँ रोऊँ जस्तो । कस्तो कस्तो लाग्यो ? भन्न नसकिने । बिर्सिन नसकिने । कस्तो कस्तो लाग्यो ?
सर !
मेरो हात सिस्नोले पोल्यो !
म त लोटेँ !
पानीले नछ्याप न !
लोटौला है लोटौला !
ए यता यता !
ए उता उता !
सबैको हातमा भरिएका कलश । भरिदै गरेका कलश । मेरा विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता । व्यवहारिकताले थिचिएका प्रौढ अनुहार । हस्याङ फस्याङ गरेका आयोजक । केही शुभचिन्तक । केही रमिते । महान उद्देश्यका लागि अगाडि बढ्यो पर्वत र गुल्मीको सङ्म स्थल प्रजापति क्षेत्र पूर्तिघाटमा २०७३ कार्तिक १ गते दिनको २ बजे श्रीमद्भागवत् सङ्गीतमय सप्ताह ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव २०७३ को कलश यात्रा । साँघुरो डहरमा थिरिथिरि गर्दै । साँघु तर्दै । केही मिठो, केही तितो अनुभूति सँगालेर । विदयालयको पर्दाभित्र लुकेको जीर्ण मन्दिरबाट शुरु भयो प्रजापति क्षेत्रको कलश यात्रा ।
खोला वारि, खोला पारि, अल्लि माथि हरियो फाँटको बिचमा, छेउमा, कुनामा, डिलमा, दायाँ–वायाँ जहाँ पनि देखिन्थ्यो पर्वत र गुल्मीको संगम स्थलमा अवस्थित, प्रजापति क्षेत्रको आँखाको नानी पूर्तिघाट बजार एक रमितेका भाँती । सारा बजार रमिता हेरेको थियो कि ? चोक चोकबाट । गल्ली र गल्छेडाबाट । आँगनबाट । ढोकाबाट । मझेरीबाट । झ्यालबाट । सायद रमिता हेरिरहेको थियो कि प्रजापति क्षेत्रको मुटु पूर्तिघाट बजारले ?
जताबाट पनि देखिन्थे पूर्तिघाटका आँखा । न्यायका आँखा । अन्यायका आँखा । धर्मका आँखा । पापका आँखा । जागेका आँखा । निदाएका आँखा । हाँसेका आँखा । रोएका आँखा । निश्छल आँखा । दाउपेँचका आँखा । बुद्धका आँखा । हिट्लरका आँखा । हो । यिनै थिए पूर्तिघाटका आँखा ।
पूर्तिघाटका आँखाले मलाई देखे कि देखेनन् ? तर मैले देखेँ समग्र पूर्तिघाटका आँखा । मैले बल्लतल्ल साक्षात दर्शन पाएँ तिनको ।
हो । त्यही रहेछ पूर्तिघाट । प्रजापति क्षेत्रको मुटु । आँखाको नानी । आशाको केन्द्र । हिन्दूहरुको महान तिर्थस्थल । देवभूमि । एक व्यापारिक नाका । जसलाई मेरो एकजना जिब्रो छोटो भएको साथीले नाम बिग्रिएला भन्ने डरले ….. भन्थ्यो ।
जीर्ण मन्दिरका आधा कलश उठ्न बाँकी नै थिए । पछि उठे कि उठेनन् ? ११११ जना दाजुभाइ । देवताका अवतार । आस्थाका धरोहर । शुभमंगलका प्रतीक । बिचरा तिनीहरु ! उठ्न बाँकी नै थिए ।
किन हो किन साह्रै मोह पलाएको थियो तिनीहरुप्रति । आँखाभरि नाचिरहे । मनभरि खेलिरहे । “हे मनुवा ! मनमा शुभभाव नभएसम्म शुभकार्यको थालनी हुन सक्दैन ।” भनेका छन कि जस्तो लाग्यो मलाई । मैले घरि घरि त्यही कुरा सम्झिएँ । बिर्सिएँ ।
तर मेरा दुई हत्केलामा उभिएका दुई कलशमा घरि आफ्नो अनुहार देख्न थालेँ । घरि प्रियसीको । घरि छोराको । घरि छोरीको । घरि प्रियजनको । घरि दूर्जनको । घरि बाको । घरि आमाको । घरि जिउँदाको । घरि मरेकाको । के के देखेँ मैले ती दुई कलशमा । दुवैलाई बढो जतनले हत्केलामा अडाएर हिडेँ । त्यो भिडभाडमा कसैले धक्का देला कि तिनलाई भनेर चनाखो बनी बनी हिडेँ ।
बाटो थियो । बनाए जस्तो । भत्काए जस्तो । घोडेटो जस्तो । गोरेटो जस्तो । कतै छ जस्तो । कतै छैन जस्तो । कस्तो कस्तो । यही थियो कालीगण्डकी करिडोर । ९९ प्रतिशत असम्भवलाई जितेर १ प्रतिशतले सम्भव भएको कालीगण्डकी करिडोर । नेपाल सरकारको कोशेलीपात खाएको । नेपाली सेनोको रगत र पसिनाले नुहाएको निर्माणाधिन बाटो थियो कालीगण्डकी करिडोर ।
कतै मिलेर हिडियो । कतै बिग्रेर हिडियो । कतै बसेर हिडियो । कतै घर्सिएर हिडियो । कतै कुदेर हिडियो । कतै उडेर हिडियो । ससाना खोलासँग जुत्ता डराउथेँ । कतै कतै उपवासका आन्द्रा कलकलाउँथे । जे होस् । सबैलाई बिर्सिएर पवित्र मन र हलुका शरीर बोकेर ३ बजे पुगियो जयखानी गा.वि.स. वडा नं. ३ बेलटारीमा अवस्थित वेहुली जस्तै सिंगारिएको शिव मन्दिरमा ।
खेत थिए । कतै धान झुलेका । कतै धान काटिएका । खोला थिए । कतै शान्त । कतै अशान्त छहरा । भिरपहरा थिए । हरिया पहाडहरुको समुन्द्र थियो । त्यसैको काखमा लडिबुडी खेल्दै तल तल काली बगिरहेको थियो । माथि माथि आशाका, हर्षका, धर्मका, कर्मका मर्मका ताली बजिरहेका थिए । टाढा टाढासम्म हरिया जङ्गल, बालिनाली, घाँसे खर्कहरुलाई आमाले पिठ्युमा नानीहरु बोके झैँ मायाले, आत्मैदेखि बोकिरहेका थिए गगनचुम्बी पहाडहरु ।
गगनचुम्बी पहाडी काखमा, शालिग्रामको आँगनमा लडिबुडी खेल्दै तल काली बगिरहेको थियो । माथि त्यसैको उद्घोष गर्दै ताली बजिरहेको थियो । तालीभित्र एउटा विशाल सपना थियो । लहलाउँदो रहर थियो । उक्साहट थियो । उर्जा थियो । एक नवयुवकको जस्तो । पहाड नाघ्ने जस्तो । आगो पिउने जस्तो । आँधी छेक्ने जस्तो । बाढी रोक्ने एक नवयुवकको जस्तो उत्साह थियो । त्यसैको उद्घोष गरी गरी चिच्याइरहेको थियो ढ्वाङ माइक । यस्तो लाग्थ्यो हामी सबै बहिरो छौँ । त्यसैले ऊ तालु चड्कने गरी, घोक्रो फुट्ने गरी चिच्याइरहेको छ ।
तल काली बगिरहेछ । माथि ताली बजिरहेछ । कालीले सुन्यो कि सुनेन । तर पनि बगिरहेछ अविराम । युगौँ युगदेखि । कहिलेदेखि बगिरहेको होला काली ? किन बगिरहेको होला काली ? कति वर्षको तरुण या बुढो भयो होला काली ? कहाँबाट आउँछ होला यो शक्ति कालीमा ?
कालीमा कालो पानी बगिरहेको छ । कालीमा बग्ने कालो पानीको कारण यसको नाम काली रहेको हुनु पर्छ । या यो महाकालीको दयाको सागर हुन सक्छ । शक्तिको वहाव पनि हुन सक्छ । त्यसैले युगौँ युगदेखि, युगौँ युगका लागि बगिरहेछ काली अविराम अनन्त यात्राका लागि ।
काली नदीको कालो र चिसो पानीमा कति आस्था बगिरहेका होलान ? कति आशा र निराशा बगिरहेका होलान ? कति आँसु बगिरहेका होलान ? कति हासो बगिरहेका होलान ? कति सपना बगिरहेका होलान ? कति जीवन बगिरहेका होलान ? ब्रोसरको एक वाक्यांश याद आयो, “आदरणीय भक्तजनहरु, साधारणतया ८०÷९० वर्षको हाम्रो जीवनका लागि अरवौ धनसम्पति आर्जन गरी जतिसुकै ठुलो सुविधायुक्त महल खडा गरे पनि एक दिन हामी २ भारी दाउरा र ४ हातको रेशमी कात्रोमा यही कृष्ण गण्डकी माताको काखमा चिर निद्रामा आराम गर्नै पर्छ ।”
लाग्छ । कालीगण्डकी हाम्रो जीवन हो । आस्था हो । यात्रा हो । जीवन यात्रा । जिउँदा । मर्दा । सदा बगिरहने । अनन्त युगसम्म अविरल बगिरहने यात्रा ।
लाग्छ । काली नदी हाम्रो घर हो । विशाल घर । कसैलाई पनि काम नलाग्ने भए पछि सबै जना मिलेर एक्लै छोडेर आउने घर हो काली । मानौँ आफ्नै घर हो काली । साझो घर हो काली । सुखको घर हो काली । दुःखको घर हो काली । ढुङ्गाले थिच्दा पनि, आगोले जलाउँदा पनि, स्याल–गिद्दादिले लुछ्दा पनि, औँसाले चुस्दा पनि, खडेरीले सुक्दा पनि, बाढीले लछारपछार पार्दा पनि चिर आनन्द, चिर निद्रा, चिर शान्ति दिने कालीमाको न्यानो वात्सल्य हो कालीनदी । अन्तिम गन्तव्य हो काली । अन्तिम, अजर अमर विजय हो काली । अन्तिम धोको हो काली । यसरी, “बाबु ! मलाई काली नदीमै लगेर छोडिदिनु है । त्यहाँ मेरा जिजु छन् । बा छन् । आमा छन् । मामा छन् । दाजुभाइ छन् । दिदीवहिनी छन् । साथी छन् । सखा छन् । म उनीहरुसँग भेट्न पाउँछु । उनीहरुसँगै बस्न पाउँछु । उनीहरु मलाई यहाँ पनि त्यहाँ पनि धेरै माया गर्छन् । म त्यही माया र स्वजनको छानो, मानो भएको विशाल घरमा बस्न चाहन्छु ।” हामी सबैले मृत्युशैयाबाट बोल्ने अन्तिम वाक्य हो काली । हाम्रो आस्थाको धरोहर हो काली । हाम्रो विशाल घर हो काली । कतै सोच्न ढिला भएको छ कि ? कसैले खोस्न र लुट्न नसक्ने आफ्नो अन्तिम घरको विषयमा । काली नदीको विशाल, सुन्दर, स्वर्गीय, न्यानो छहारीका निम्ति केही गर्न बाँकी छ कि ?
विहानै सुब्बा बाले एउटा खाम दिदै भने “ ए मास्टर बाबु ! यो के हो ? हेर्नुहोस् त ।” बेलाबेलामा बाले त्यस्तै काम लिएर आउथे । ती केवल तिनकै सेवामा केन्द्रित हुन्थे । हेरेँ । मेरै नाम लेखिएको खाम थियो । खोलेँ । पढेँ । पर्वत र गुल्मीको संगमस्थल प्रजापति क्षेत्र पूर्तिघाटमा कार्तिक १ देखि ९ गतेसम्म सञ्चालन हुन गइरहेको श्रीमद्भागवत् सङ्गीतमय सप्ताह ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव २०७३ को आमन्त्रण पत्र थियो । विद्यालयमा पुगेँ । नेपाल तारा मा.वि. पनि आजको उद्घाटन समारोहमा सहभागी हुन जाने निर्णय भयो । कक्षा ८ देखि १२ सम्मका सबै विद्यार्थी लिएर कलश यात्रामा जाने निर्णय भयो । अरु कक्षाको पढाइ यथावत सञ्चालन गर्ने निर्णय भयो । जाने र विद्यालयमै बस्ने शिक्षकको छनोट प्रधानाध्यापकले गर्दै हुनुहुन्थ्यो । मलाई पनि जाने इच्छा थियो । छनोटमा परेकोले हर्षविभोर भएँ । केके सम्झिदै थिएँ । उद्घोषक नवीन पाण्डे (विर्घा) को वाक्यांशले गहिरो गरी तन्द्रा भङ्ग ग¥यो । “हामी प्राकृतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक सम्पदाका दृष्टिले समृद्ध छौँ । तर हाम्रा सम्पदा आफै विकासमा रुपान्तरण हुन सक्दैनन् । त्यसका लागि मानवीय सहयोगको खाचो पर्छ । त्यसैका खातिर हामी यो महायज्ञमा जुटिरहेछौँ । एक सचेत, विवेकशील, कर्मशील मानवको परिचय दिने यो अवसरलाई हामी सबैले सदुपयोग गर्ने छौँ भन्ने आशा र विश्वासमा आयोजकवर्ग बाँचिरहेको छ ।”
सबै कुराले मन छुदै थिए । सबै वचन प्रियसीको वचन जस्तै दिलचस्पी र आनन्ददायी बनिरहेका थिए । निमन्त्रणा कार्ड साथमै थियो । खोलेर महायज्ञका उद्देश्यहरु हेरेँ । जसले आफ्नो सान्दर्भिकता देखाएर शुक्रताराका भाँती चम्किरहेका थिए ।
१. लोकले कालीगण्डकी नदी भनेर चिनिने कृष्णा गण्डकीको पौराणिक, धार्मिक एवम् प्राकृतिक सुन्दरताको महत्व र महिमाको प्रचारप्रसार गर्ने ।
२. कृष्णा गण्डकी र शालिग्रामको पवित्रता, शुद्धता र आध्यात्मिक एवम् धार्मिक महिमाको संरक्षण, सम्वद्र्धन र विकास गर्ने ।
३. वैदिक मानव सभ्यताको उद्गमस्थल यस पुण्यभूमि क्षेत्रमा सांस्कृतिक विचलन आई वैदिक सनातन धर्ममा आधारित हाम्रा सांस्कृतिक परम्पराहरु बदलिदो परिवेशमा पाश्चात्य संस्कृतिको उर्लिदो विज्ञापनका आधारमा ओझेलमा पर्नबाट बचाउने ।
४. स्वधर्म, संस्कृति र संस्कारको संरक्षण गर्दै समग्र कालीगण्डकी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको विकास गरी समुन्नत समाजको निर्माण गर्ने ।
५. यस क्षेत्र (अस्लेवा, ठुलो लुम्पेक, अरबेनी, आलमदेवी, हर्मिचौर, विर्घा, श्रीकृष्णा गण्डकी, निबुवाखर्क, पिडीखोला, वहाकी, शालिग्राम, रानीपानी, वर्राचौर, जयखानी, पूर्तिघाट, फोक्सिङ, खड्ककोट, छिस्ती, जैदी, भुर्तुङ लगायतका गा.वि.स. हरुमा रहेका आध्यात्मिक, धार्मिक, प्राकृतिक, ऐतिहासिक, पुरातात्विक सम्पदाहरुको प्रचारप्रसार गर्नु साथै स्थानीय जनमासमा धार्मिक जागरण पैदा गर्ने ।
६. यस क्षेत्रको पर्यटन पूर्वाधार स्वरुप सुविधा सम्पन्न अतिथि आश्रमको निर्माण गर्ने । जसमा
क) दिवा वृद्धा सेवा आश्रम ।
ख) विभिन्न साहित्य दर्शन, विज्ञान तथा वैदिक शास्त्र अध्ययनका लागि पुस्तकालयको स्थापना ।
ग) प्राकृतिक जडिबुटी अध्ययन केन्द्रको स्थापना ।
घ) महायज्ञ आरम्भकै दिनबाट अन्न क्षेत्रको सञ्चालन गर्ने ।
महायज्ञका उद्देश्य विशाल छन् । महायज्ञको उद्देश्य पूरा गर्नेका खातिर १२ करोड उठाउने उद्देश्य पनि बोकिएको रहेछ । महाकालीको साथ रहोस् । महालक्ष्मीको ममता रहोस् । यी उद्देश्य राष्ट्रिय स्तरका उद्देश्य हुन् । मान्यता र सहयोग मिलोस् ।
कालीगण्डकी जहाँबाट उद्भव भयो र जुनजुन क्षेत्रलाई अँगालो मार्दै वगेको छ त्यो ठाउँलाई पवित्र पुण्यधाम बनाउदै वगेको छ । त्यो ठाउँको प्राकृतिक सम्पदा यसैको शेकतापको कारण हराभरा र समृद्ध बन्दै गएको छ । भौतिक, आध्यात्मिक आस्थाको केन्द्र कालीगण्डकी धाम, संसारमा शालिग्राम पाइने एक मात्र पुण्यधाम कालीगण्डकी, पूर्व, पश्चिम, उत्तर, दक्षिण सबै दिशामा बग्न सफल कालीगण्डकी नदी हामी सबैको आध्यात्मिक केन्द्र हो । यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका हेतुले आयोजना गरिएको यो महायज्ञले उच्च सफलता हासिल गरोस । यसले सबैको मन जितोस् । सबैको माया, सद्भाव र सहयोग पाओस् । यसको भलो होस् । यो पुण्यभूमिको कल्याण होस् । यस्तै केके चल्दै थिए मनोबोली । कार्यक्रमले औपचारिक रुप धारण गर्न थाल्यो ।
आसन ग्रहणको कार्यक्रम चल्यो । अतिथिहरुको आसनग्रहण भयो । पर्वत क्षेत्र नं. २ का सांसद विकास लमसाल पनि आएका थिए । उनी पनि बोले । “नेपालमा भएका सबै धर्म, संस्कृति, मूल्यमान्यता, रीतिरिवाज, व्यक्ति र समुदायको अभिभावक धर्म र दर्शन हिन्दू धर्म र दर्शन नै हो । यसैले आफु वहुसंख्यामा हुँदाहुँदै पनि यसले धर्मनिरेपक्षतालाई स्वीकार गरेको छ । त्यसैले यो महायज्ञलाई पनि सबै धर्म, जाति, संस्कार, स्तर, क्षेत्र र भाषाभाषीको महायज्ञको रुपमा बुझ्नु पर्छ । यसैले कालीगण्डकीसँग साइनो रहेका सबै दाजुभाइले सहयोगको हात अगाडि बढाउनु पर्छ । यो महायज्ञलाई भव्य, सभ्य र सफल बनाउनु पर्छ ।” यस्तै थिए लमसालका शुभकामना मन्तव्य । प्रमुख अतिथि बोल्नका लागि मञ्चमा आउनुभएको थियो । विद्यार्थीलाई घर पुग्न ढिला हुने भएकोले केही सरहरुलाई छाडेर विद्यार्थी लिएर घरतिर हिडियो । आज हाम्रा विद्यार्थीले देखाएको हार्दिकता र अनुशासनले धेरै प्रभावित भएँ ।
यो कसरी भयो ?
केको असर परेको होला उनीहरुमा ?
एक आध्यात्मिक कार्यक्रमको ? आस्थाको ? समर्पणको ? जिम्मेदारीको ? विवेकको ? या उनीहरुको परिपक्वताको ?
मनभरि दिनभरिका दृश्य नाचिरहे । फिलिमी चित्रझैँ खेलिरहे । मनमा त्यो आध्यात्मिक ज्योति जलिरहयो । विपनामा, तन्द्रामा, सपनामा, सम्झनामा काली वगिरहयो । ताली बजिरहयो ।