भदौ ६, काठमाडौं । आयोजक नेपाल साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै समूह विजेता बनेको हो।

नेपालको जितमा पहिलो हाफमा भएको २ गोल महत्वपूर्ण रह्यो। पहिलो हाफमा लिएको २–१ को अग्रता अन्तिमसम्म जोगाउन नेपाली युवा टोली सफल हुँदा अपराजित रहेर सेमिफाइनलमा स्थान बनायो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालको जितमा समिर तामाङ र निराजन धामीले समान १–१ गोल गरेका थिए। बंगलादेशका लागि मिरजुल इस्लामले पेनाल्टीमार्फत पहिलो हाफमै एक गोल फर्काए पनि टिमको बराबरीको लागि समेत पर्यााप्त भएन।

खेलको १७औँ मिनेटमा समिरले नेपाललाई अग्रता दिलाएका थिए। नेपाली खेलाडीले क्लियर गरेको बललाई बंगलादेशी गोलकिपर मोहदी हसन सर्बोनले गरेको गम्भीर गल्तीको फाइदा नेपालले लियो। नेपाली खेलाडीले डिबक्सबाट क्लियर गरेको बल अगाडि आएर सहज क्लियर गर्नुपर्नेमा उक्त बलमा चुक्दा समिरले गोलरक्षकबाट खोस्दै सहज रुपमा गोलमा परिणत गरेका थिए।

दुई मिनेटपछि नै निराजनले टोलीको अग्रता दोब्बर बनाए। उनले अविनाश स्याङ्ताङको क्रसलाई वान टचमै जाली चुमाउँदा नेपाले २० मिनेटभित्रै २–० को अग्रता बनाएको थियो। पहिलो हाफको निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा बंगलादेशका इस्लामले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए।

दोस्रो हाफमा बंगलादेशले बल पोसेसन बनाए पनि गोल गर्न भने सकेन। जसका कारण नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो।

पराजयका बाबजुत बंगलादेश पनि सेमिफाइनल प्रवेश गरिसकेको छ। दुवै टोलीले श्रीलंकालाई हराउँदै अन्तिम खेलअघि नै सेमिफाइनल यात्रा निश्चित गरेका थिए।