पुस २८, पोखरा । धार्मिक तथा
पर्यटकीय दृष्टिले सम्भावनायुक्त म्याग्दीको राम्चे गाविस–७ काफलडाँडामा रहेको करबाकेलीमा समुदायस्तरबाट
करोडौँ लगानीमा पूर्वाधार निर्माण गरिएको छ । दृश्य अवलोकनका साथै प्राकृतिक सौन्दर्यताले मनमोहक पुन
मगरहरूको धार्मिकस्थल करबाकेलीको धार्मिक तथा पर्यटन विकासका लागि १ करोड ५० लाखको लगानीमा पूर्वाधार
निर्माण भएको हो ।
पुन मगर समुदायको कुल देवता करबाकेली बाबाको
अवसान भएको स्थान मानिने करबाकेलीमा थान, पूजास्थल, पदमार्ग, सडक लगायतका पूर्वाधार निर्माण गरिएको
करबाकेली संरक्षण समितिका कोषाध्यक्ष चामबहादुर पुनले बताउनुभयो । करबाकेलीमा पूर्वाधार निर्माणका लागि
हालसम्म १ करोड ५० लाख लगानी भएको कोषाध्यक्ष पुनले बताउनुभयो ।
म्याग्दी लगायत देशका विभिन्न ठाउँ र विदेशमा रहेका पुन समुदायबाट चन्दा सङ्कलन गरेर
पूर्वाधार निर्माण गरिएको उहाँले बताउनुभयो । पूर्वाधार निर्माण गर्न स्थानीयवासीले २१ रोपनी जग्गा
निःशुल्क उपलब्ध गराएका थिए । करबाकेली परिसरमा हालै करिब ५ सयजना क्षमताको सभाहल निर्माण भएको छ
।
यसैगरी करबाकेली थानसम्म पुग्ने ५ सय मिटर सिँढीसहितको
पदमार्ग र सडक पनि निर्माण गरिएको छ । करबाकेली दर्शन र भ्रमणमा आउने पाहुनाको सुविधाका लागि १५० जना
क्षमताको २२ कोठे सामुदायिक लज निर्माण गर्ने कार्य ८० प्रतिशत पूरा भएको भौतिक निर्माण समितिका अध्यक्ष
चेन्तु गर्बुजाले जानकारी दिनुभयो ।
त्यहाँ पुन समुदायको
दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री सङ्कलन गरेर सङ्ग्रहालय स्थापना गर्ने तयारी
भएको छ । स्थानीय प्रविधि र सीपको प्रयोगबाट निर्माण गरिएका मौलिक शैलीका करबाकेली थानमा बहुमूल्य
धातुका जलप लगाइएको करबाकेली, विमला, फिमला, रामचन र कुलचनका मूर्ति राखिएका छन् । समुद्री सहतदेखि २
हजार २०० मिटरको उचाइमा रहेको करबाकेलीबाट धौलागिरि, निलगिरि, माछापुच्छ«े, अन्नपूर्ण, टुकुचे लगायत १०
वटा हिमशृङ्खलाका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जङ्गल अवलोकन गर्न सकिन्छ
।
करबाकेलीमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने
जनविश्वास रहेको छ । विसं २०६५ मा करबाकेलीको अनुसन्धान समिति गठन गरी २०६७ देखि सुरु भएको पूर्वाधार
निर्माण कार्यले निरन्तरता पाइरहेको छ । प्ूर्वाधार निर्माण भएपछि करबाकेली म्याग्दीको प्रमुख धार्मिक
तथा पर्यटकीयस्थलका रूपमा विकास हँुदै गएको राम्चे गाविसका सचिव कृष्णबहादुर विकले बताउनुभयो । उहाँका
अनुसार गाविस, जिविसले पनि गुरुयोजना तयार गर्ने र संरक्षणको कार्यमा सहयोग गरेका छन् ।