पुस १७, बाजुरा । बाजुराको डोगडी–८ का नहकुल रावत २४ वर्षका भए । रावतले १२ कक्षा उत्तीर्ण गरेका छन् । उनी पढाइ गरिरहेको बेला जेठा दाइले सञ्चालन गर्दै आएको नेपाली कागज उद्योग चलाउने रावतको काँधमा आयो । उनी अहिले पढाइ छोडेर उद्योगमा व्यस्त रहेका छन् । उद्योग सञ्चालन गरेको १२ वर्ष पुगिसकेको छ ।
रावतका दाइको मृत्यु भएपछि उनी पाँच वर्षदेखि शङ्करदेव नेपाली उद्योग हातेकागजका सञ्चालक बनेका छन् । उनी सामान्य परिवारमा जन्मिएका हुन् । उहाँका दाइ देवबहादुर रावतले नेपाली हातेकागज सञ्चालनका लागि घरेलु तथा साना उद्योग विकास समिति बाजुरामा २०६१ सालमा उद्योग दर्ता गराउनुभएको थियो । तर संयोगले दाइ मृत्यु भएपछि सबै जिम्मेवारी रावतमाथि आएको थियो । उद्योग सञ्चालन गरेको नौ वर्षपछि दाइको मृत्यु भएको थियो । अहिले उनी घरको काम र उद्योगको काम आफैँले गर्ने गरेका छन् । दाइको परिवार र आमासहित आफ्नो परिवार गरी ११ जनाको परिवारलाई उनले सम्हाल्दै आएका छन् । उनी अन्यको भन्दा फरक काम गरी उद्यमशील बन्दै गएका छन् ।
रावत दैनिक रुपमा घरको कामभन्दा उद्योगलाई बढी समय दिने गर्दछन् । बिहान र बेलुका घरका सामान्य काममा सघाउने उनी अधिकांश समय भने उद्योगमै बिताउने गरेका छन् । नेपाली कागज उद्योगका लागि गाउँमै ऋण निकाल्दै कागजका लागि चाहिने कच्चापदार्थ लोत्ताहरु किन्ने गरेको रावतको रहेको छ ।
भारत गएर दिनरात काम गर्नुभन्दा स्वदेशमै बसेर उद्योग–व्यवसाय गर्दा मनग्य आम्दानी हुने गरेको रावतको भनाइ छ । आफू मात्र नभई नेपाली हातेकागजमा बनाउने कामका लागि आफ्नी श्रीमती र एकजना कामदार राखेका छन् । उद्योगमा सोही गाविस–७ की विस्ना रावत मजदुरीमा काम गर्ने गरेकी छन् । रावतलाई मासिक पारिश्रमिक पाँच हजार दिने गरेका छन् । नेपाली हातेकागजबाट रावतले मासिक रुपमा उद्योग सञ्चालन गरी ९० हजार रुपैयाँ आम्दानी गर्ने गर्दछन् र बाजुराबाट धनगढी हुँदै काठमाडौँमा बिक्री गर्न लैजान्छन् ।
उनी एक पात्र मात्र हुन् । यस्ता युवा कोही स्नातकोत्तर उत्तीर्ण गर्दै बाख्रापालन व्यवसायतिर छन् त कोही तरकारी खेतीमा लागेका छन् । बाजुराका युवा विदेशमा गई काम गर्नेको सङ्ख्या भने कम हँुदै गएको छ । अहिले यहाँका धेरै युवा सडक निर्माण व्यस्त रहेका छन् । रासस