१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै

१२ कार्तिक २०८१, सोमबार १३:१३

काठमाडौँ | विश्व कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले गत बसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपाली राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको तस्बिर अङ्कित टिसर्ट प्रदर्शन गरेका थिए ।

गोलकिपर सुब्बाको जीवनीमा आधारित ‘एन्जिला’ नामक चलचित्रको प्रवद्र्धनका सिलसिलामा उक्त टिसर्ट सगरमाथा लगिएको थियो । आगामी माघ ११ गतेदेखि सार्वजनिक हुने उक्त चलचित्रमा प्रसिद्ध अभिनेता दयाहाङ राईलगायतका कलाकारसँग गोलकिपर सुब्बाले मुख्य पात्र बनेर अभिनय गरेकी छिन् । चलचित्रको पोष्टरमा गोलकिपर सुब्बाले बल समाइरहेको तस्बिर छापिएको छ ।

हिजो काठमाडौँको दशरथ रङ्गशालामा उनै गोलकिपर सुब्बा कप्तान रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसँग खेलेको सातौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमी फाइनल खेल कुनै चलचित्र प्रदर्शनभन्दा कम भएन ।

खेलमा प्रतिस्पर्धा, तनाव, विवादास्पद अवस्था, रोमाञ्चकारी क्षण तथा सुखद अनुभूतिजस्ता अनुभव दर्शकहरुले गरेका थिए । राति अबेरसम्म फुटबल प्रतियोगिता हेरेपछि नेपाल राष्ट्रिय आधारभूत विद्यालयबाट अवकाश प्राप्त पूर्वप्रधानाध्यापक दीपक कपालीले नेपाल र भारतबीचको फुटबल प्रतियोगिता कुनै चलचित्र हेरेजस्तै रोमाञ्चकारी लागेको टिप्पणी गरेका छन् ।

लिग चरणमा समूह विजेता बनेपछि चिर प्रतिस्र्धी भारतसँगको प्रतिस्पर्धालाई नेपाली दर्शकहरुले निकै महत्व दिएका थिए । घरेलु मैदानमा हजारौँ नेपाली फुटबलप्रेमीहरुको उपस्थितिमा खेल्न पाउनु नेपाली फुटबल खेलाडीहरुका लागि महत्वपूर्ण अवसर थियो । नेपाली राष्ट्रिय महिला टिमका प्रशिक्षक राजेन्द्र तामाङले सन् २०२२ मै भारतलाई नेपालले हराए पनि प्रतिस्पर्धीसँग सतर्क भएर खेल्नुपर्ने बताएका थिए । उनी नेपालको टिममा दक्षिण तथा मध्यएसियाकै उत्कृष्ट स्ट्राइकर भएकामा ढुक्क थिए ।

भारतीय प्रशिक्षक सन्तोषकुमार कष्यप भने सधैँ खाली रङ्गशालामा खेल्ने गरेका महिला खेलाडीहरुले आज भरिभराउ रङ्गशालामा खेल्न पाएकामा खुसी देखिन्थे । विगतमा महिला फुटबल प्रतियोगिताहरुमा दर्शकहरुको उपस्थिति कमै हुने गरेको थियो । तर करिब १५ हजार दर्शक क्षमताको दशरथ रङ्गशाला हिजो खचाखच भरिएको थियो । यसबाहेक टेलिभिजन प्रसारण तथा सामाजिक माध्यम युट्युबका माध्यमबाट पनि लाखौँ फुटबलप्रेमीहरुले यो खेल हेरेका थिए ।

महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता पाँचपटक जितिसकेको भारत तथा उक्त प्रतियोगितामा पाँचपटक नै उपविजेता बनेको नेपालबीचको हिजोको फुटबल खेल पूर्वाद्र्ध अवधिमा प्रतिस्पर्धात्मक रुपले अघि बढेको थियो । दुवै पक्षबाट गोल आफ्नो पक्षमा गर्ने प्रयास गरेता पनि सफलता भने मिलिरहेको थिएन । यस अवधिमा भारतीय खेलाडीहरुले बढी फल खेलेको देखिएको थियो ।

भूटानी रेफ्रीको निर्णय

मध्यान्तरपछिको ५१औँ मिनेटमा भूटानी रेफ्री ओम चोकीले नेपालकी स्ट्राइकर रेखा पौडेललाई दोहोरो पहेँलो कार्डसहित रातो कार्ड देखाएर मैदानबाट बाहिर निकालेपछि खेल तनावपूर्ण हुन सुरु भएको थियो । रेखा नेपाली फुटबल टिमकी पहिलो रोजाइकी स्ट्राइकर हुन् । यसपालिको प्रतियोगितामा उनले नेपाली खेलाडीहरुमध्ये सर्वाधिक सात गोल गरिसकेकी थिइन् । युएईमा क्लबमा आबद्ध भई व्यावसायिक खेल खेलिरहेकी उनलाई निकाल्ने रेफ्रीको निर्णयपछि दर्शकहरु आक्रोशित बनेका थिए । त्यसपछि रङ्गशालामा सुरक्षाकर्मीहरु बढाइएको थियो । स्ट्राइकर रेखा पौडेलले अब नेपालले बङ्गलादेशसँग खेल्ने फाइनल खेल गुमाउनेछिन् ।

रेखालाई मैदानबाट निकालिएपछि खेल केही बेर अवरुद्ध बनेको थियो । १० खेलाडीमा सीमित नेपाली पक्षलाई ७२औँ मिनेट भारतीय टिमकी सङ्गीता बासफोरले गोल गरेकी थिइन् । त्यसको लगत्तै नेपाली पक्षका तर्फबाट प्रिती राईले गोल गरे पनि रेफ्री ओम चोकीले मान्यता नदिएपछि खेल पुनः करिब एक घण्टा १५ मिनेट रोकिएको थियो । यसअघि दशरथ रङ्गशालामा यसरी लामो अवधिसम्म खेल रोकिएको उदाहरण छैन ।

जाडोयाममा रातिको समयमा लामो समयसम्म खेल रोकिए पनि फुटबलप्रेमीहरु आ–आफ्नो स्थानमा नै रहिरहेका थिए । रेफ्री चोकीले सुरुमा गोल भएको सङ्केत गरे तापनि सहायक रेफ्री र फोर्थ अफिसियलको सङ्केतअनुसार गोललाई मान्यता नदिएपछि विवाद बढेको थियो । नेपाली खेलाडीहरुले खेल्न नमानेपछि उनीहरुलाई मनाउन फुटबल पदाधिकारीहरुले धेरै प्रयास गरेका थिए । नेपाली टिमले खेल पुनः सुरु नगरे कारबाही गर्न सकिनेसम्मको जानकारी साफ च्याम्पियनसिपका सम्बन्धित अफिसियलहरुले दिएपछि नेपाली टिम पुनः खेल्न मञ्जुर भएको नेपाली प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिएका छन् ।

खेल पुनः सञ्चालन भएलगत्तै नेपाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले गोल फर्काई आफ्नो टिमलाई बराबरीको स्थितिमा लग्न सफल भएकी थिइन् । दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये मानिएकी उनले गोल गरेर मुलुकको शिर उँचो त बनाइन् तर गोल गरेको जोसमा मैदान बाहिर निस्किएर टिसर्ट खोलेकामा रेफ्री चोकीबाट पहेँलो कार्ड ब्यहोर्न बाध्य बनिन् । खेलको निर्धारित समयमा एक–एक गोल भई बराबरीमा टुङ्गिएपछि समय नथपेर गराइएको ‘टाइब्रेकर’मा नेपालले भारतलाई दुई गोलका विरुद्ध चार गोलले पराजित गरी फाइनलको ढोका खोलेको थियो ।

टाइब्रेकरका लागि दुवै पक्षले गोलकिपर समेत परिवर्तन गरेका थिए । भर्खरै मैदान प्रवेश गरेकी नेपाली गोलकिपर अन्जना रानामगरले दुईवटा पेनाल्टी बचाएर मुलुकलाई जिताउन महत्वपूर्ण भूमिका निभाएकी थिइन् । साँझ ६ बजेर ३० मिनेट जाँदा सुरु भएको उक्त फुटबल तीन घण्टाभन्दा बढी चलेको थियो । खेल समाप्त हुँदा रातिको झन्डै १० बजिसक्दा पनि पनि दर्शकहरु प्यारापिटको सिटबाट नउठेर नेपाली टिमको जितमा खुसियाली मनाइरहेका थिए ।

भूटानसँगको त्यो बराबरी

सातौँ साफ महिला च्याम्पियनमा नेपालको पहिलो खेलनै बिग्रेको थियो । विगतमा पराजीत गर्दै आएको भुटानलाई कुनै गोल गर्न नसकी पराजीत गर्न नसकेकामा नेपाली टिमले आलोचना पनि ब्यहोर्नुपरेको थियो । नेपाललाई भूटानी टिम भारी साबित हुन पुगी लिग खेल गोलरहित अवस्थामै टुङ्गिएको थियो । सो खेलमा नेपाली खेलाडीहरुले टिममा खेल नखेली व्यक्तिगत खेलेकाले गोलरहित खेल ब्यहोर्नुपरेको स्वयम् नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङले पत्रकारहरुलाई बताएका थिए ।

विगतको तुलनामा भूटानले खेलमा सुधार गर्दै गएको कुरामा कुनै शङ्का छैन तापनि नेपाल र भूटानबीचको खेलमा नेपाली खेलाडीहरु वास्तवमै स्वार्थी भएको देखिएको थियो । प्रशिक्षक तामाङ खेलाडीहरु स्वयम्ले गोल बन्ने गरेर नायक बन्ने होडमा लागेको स्पष्ट पारेका थिए ।

गोलको वर्षा

सातौँ महिला साफ च्याम्पियनसीपको लिग चरणमा नेपालले माल्दिभ्स विरुद्धको खेलमा गोलको वर्षा नै गरेको थियो । नेपालले माल्दिभ्सलाई शून्यका विरुद्ध ११ गोलले पराजित गरेको थियो । रेखा पौडेलले पाँच गोल, प्रिती राईले तीन गोल तथा सविता रानामगर, अमिशा कार्की र अनिता केसीले एक÷एक गोल गरेका थिए । खेलाडी रेखा पौडेल युएईमा व्यावसायिक फुटबल खेलिरहेको अवस्थामा राष्ट्रिय टिमबाट आबद्ध हुन स्वदेश फर्की टिममा सामेल भएकी थिइन् ।

यसअघिका महिला साफ च्याम्पियनसिपका प्रतियोगिताहरुमा पनि नेपालले माल्दिभ्स, पाकिस्तान जस्ता देशलाई अत्यधिक गोल गरेको थियो । नेपालले लिग चरणमै श्रीलङ्कालाई शून्यका विरुद्ध छ गोलले हराएको थियो । यस खेलमा रेखा पौडेलले दुई गोल गरेकी थिइन् भने सविता रानामगर, सावित्रा भण्डारी, अमिशा कार्की र रश्मीकुमारी घिसिङले एक÷एक गोल गरी नेपालीलाई लिगको समूह विजेताका रुपमा सेमी फाइनलमा प्रवेश गराउन योगदान गरेका थिए ।

भोकै तयारी

यो प्रतियोगिताको सिलसिलामा आफू एक हप्ता रोएरै तनावमा बसेको नेपाली टिमकी अग्रपङ्क्तिकी खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ ले बताएकी छिन् । भूटान विरुद्धको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि टिमकी स्कोकर सावित्राको अनुपस्थितिलाई पनि कारण मानिएको थियो । उनी फ्रान्समा स्थानीय क्लबका तर्फबाट फ्रान्सेली लिग खेल्न गएकी थिइन् । उनले त्यहाँ पनि गोल गरेकी थिइन् । उनी फ्रान्सदेखि नेपालमा साफ च्याम्पियनसिप खेल्न आएकी थिइन् । माल्दिभ्स विरुद्धको खेलको अघिल्लो राति मात्र उनी काठमाडौँ आइपुगेको अवस्थामा पनि उनलाई प्रशिक्षकले तयारी अवस्थामा राखेका थिए । दक्षिण एसियाकै उच्चकोटीकी स्कोरर मानिएकी साम्बाले सन् २०१६ को साफ च्याम्पियनसिपमा कूल १२ गोल गरेर प्रतियोगिताकै धेरै खेलाडी बन्न सफल भएकी थिइन् ।

फ्रान्सबाट स्वदेश फर्कने क्रममा विमानमा खानेकुरा नखाएर जुस मात्र पिएर आएको अवस्थामा पनि प्रशिक्षक तामाङले साम्बालाई खेलको उत्तराद्र्ध अवस्थामा मैदानमा उतार्ने लक्ष्यले बेन्चमा राखेका थिए । तर नेपालका तर्फबाट माल्दिभ्सविरुद्ध मध्यान्तरअघि नै चार गोल भइसकेपछि उनलाई मैदानमा उतार्ने अवस्था आएन । भारत विरुद्धको महत्वपूर्ण खेलमा ‘प्लेयर अफ द म्याच’को उपाधि सावित्रा भण्डारीले पाएकी थिइन् । उनले दर्शकहरुको अपार मायाका कारण नै नेपाली महिला फुटबल टिमले सफलता प्राप्त गरेको धारणा व्यक्त गरेकी छिन् ।

अब बुधबार बङ्गलादेश विरुद्धको फाइनलमा सावित्रासहितका नेपाली महिला फुटबल टिमसँग आबद्ध खेलाडीहरुले साफ च्याम्पियनसिप उपाधि पहिलोपटक मुलुकलाई दिलाउन अझ उत्कृष्ट योगदान दिने अपेक्षा नेपाली फुटबलप्रेमीहरुले गरेका छन् । गत छैटौँ महिला साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेशसँग एक गोलका विरुद्ध तीन गोलले पराजय भोग्नु परेको पीडा नेपाली महिला खेलाडीहरुले भुलेका छैनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुलुकभित्र वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक: श्रममन्त्री भण्डारी सर्वोच्च अदालत कात्तिक १५ देखि १९ गतेसम्म बन्द रहने धोनीले आइपीएल खेल्ने इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ७० जनाको ज्यान गयो अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछः गृहमन्त्री धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस् ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै बाँडे अंक इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सानदार जित करोड बढीको कारोबार गर्दै सम्पन्न भयो १८ औँ गोदावरी पुष्प मेला, ४३ हजारले गरे अवलोकन प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित