Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पोखरासँग हारेपछि सन्दीपले भने- सुपर ओभरमा आफैँ बलिङ गर्ने निर्णय सही भएन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुपर ओभरमा आफैँ बलिङ गर्ने निर्णय सही नभएको बताएका छन्। हारपछि पत्रकारसँग कुरा गर्दै विराटनगर किङ्सका कप्तान लामिछानेले सुपर ओभरमा बलिङ गर्नका लागि आफूमा आत्मविश्वास रहे पनि निर्णय सही नभएको बताएका हुन्।

सन्दीपले राम्रो खेल्दाखेल्दै पनि कहिले कहीँ नतिजा आफ्नो पक्षमा नआउने र आजको दिन पनि आफ्नो नभएको प्रतिक्रिया दिए। दुई ओभरमा मात्रै पाँच रन खर्चिएका बसिर डेथ ओभरमा भने सम्हालिन सकेनन्। उनको अन्तिम बलमा छक्का प्रहार गर्दै पोखराले खेल सुपर ओभरमा धकेलेको थियो।

बसिरले राम्रो गर्दा गर्दै पनि अन्तिम एक बलले खेलको नतिजा जे पनि हुनसक्छ भन्ने आज भोगेको सन्दीपको भनाइ छ।
आफ्नो टोलीबाट खेलेका ११ जना खेलाडी नै उत्कृष्ट रहेको बताए। दोस्रो इनिङमा लक्ष्य पछ्याउन गाह्रो भइरहेकाले आफूले पहिले ब्याटिङ रोजेको उनको भनाइ छ।

उनले आफ्नो विकेट नआएमा पनि अन्य बलरले विकेट लिएको र कहिलेकाहीँ राम्रो गर्दा पनि विकेट नआउने भन्दै आफ्नो प्रदर्शनको बचाउ गरे। सन्दीपले पावर प्लेमा राम्रो गर्न नसकेको र विकेट निकाल्न सकेको भए खेलको अवस्था अन्तिमसम्म नपुग्ने र नतिजा आफ्नो पक्षमा हुने बताएका छन्।

पोखराका बलर विपिन खत्रीले सुपर ओभरमा जानुपर्ने लक्ष्य नभए पनि राम्रो ब्याटिङ हुन नसकेको बताए। तर रेमोन रेइफोर्टले अन्तिम ओभरसँगै सुपर ओभरमा पनि अलराउण्ड प्रदर्शन गरेपछि जित निस्किएको प्रतिक्रिया दिए।