काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ तयार पारी सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।
फेसबुकमा ‘शक्तिमान थिङ’ नामका प्रयोगकर्ताले अपलोड गरेको उक्त भिडिओमा आपत्तिजनक दृश्य समावेश गरिएको छ । भिडिओलाई हालसम्म करिब २१ हजार लाइक, १८ सयभन्दा बढी कमेन्ट र २५ सयभन्दा बढीले शेयर गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी)की नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाक्रीले डिपफेक भिडिओ बनाउने र भाइरल गराउनेहरू घृणित चरित्रका मान्छे भएको बताएकी छन् । केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो फोटो जोडेर डिपफेक भिडिओ भाइरल बनाइएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
“उनीहरूका छोराछोरीलाई नि अरूले यसै गरिदेलान् । त्यस्ता घृणित चरित्र भएका मान्छेलाई मेरो केही भन्नु छैन,” उनले भनिन् ।
यस्तो घटना व्यक्तिगत नभई सार्वजनिक विषय भएको भन्दै उनले विद्यमान कानुनी संरचनामा कमजोरी हुँदा विकृति फैलिएको तर्क गरिन् । “राज्य भनेको व्यक्ति स्वयम् हो । यो घटनामा म पीडित छु । समाधानका लागि मै पहल गर्छु,” उनले भनिन् ।
सामाजिक सञ्जाललाई नियमन गर्नेगरी कानुन ल्याउन खोजेपनि अभिव्यक्ति स्वतन्त्रताका नाम देखाएर राेक्न खोजिएको उनको गुनासो छ । “कानुन बनाउने भनेका थियाै । साथीहरुले खुब लोकतन्त्रका ठूला कुरा गरे । विधेयक नै आउन दिएनन् । अब यस्ता विकृतिको शिकार सबै नै हुने हो ।”
उनले गलत भिडिओ भएको थाहा पाउँदा पाउँदै केही मानिसहरूले शेयर गरेर त्यस्तो प्रवृत्तिलाई प्रश्रय दिएको धारणा राखिन् । “जुन मान्छेले शेयर गरिरहेका छन् । ती आइडेन्टिफाइड आईडीहरू हुन् । उनीहरूका कमेन्टहरू पनि अपाच्य छन् । मेरो पहिलो निशाना उनीहरू हुन्,” उनले भनिन् । आफ्नो तर्फबाट प्रमाण सङ्कलनको काम भइरहेको भन्दै उनले छिट्टै कदम चाल्ने बताएकी छन् । तर उजुरी बोकेर प्रहरीकहाँ नधाउने उनले सुनाइन् ।
पछिल्लो समय डिपफेक प्रविधि प्रयोग गरी आपत्तिजनक फोटो/भिडिओ बनाउने क्रम बढेको छ । हालै मात्र गायिका समीक्षा अधिकारी पनि यस्तै डिपफेक सामग्रीको शिकार भएकी थिइन् । यसअघि गत साउनमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डङ्गोलको डिपफेक भिडिओ भाइरल भएको थियो ।
डिपफेक भनेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग गरेर कुनै व्यक्तिको अनुहार वा आवाजलाई अर्कै फोटो तथा भिडिओमा मिसाएर बनाइएको नक्कली सामग्री हो । यो प्रविधिको दुरुपयोग गरी कुनै पनि व्यक्तिलाई जस्तोसुकै कुरा भनिरहेको वा गरिरहेको देखाउन सकिन्छ ।
यस्ता भ्रामक सामग्रीले व्यक्तिको चरित्रहत्या गर्ने, प्रतिष्ठामा असर पुग्ने, अफवाह फैलने तथा कानुनी व्यवस्थामै चुनौती पुग्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।