काठमाडौँ । स्कटल्यान्डमा जारी विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेलअघि नेपाली क्रिकेट टोलीलाई ठूलो धक्का लागेको छ। टोलीका दुई प्रमुख अलराउन्डर सोमपाल कामी र गुल्शन झा चोटका कारण नेदरल्यान्ड्सविरुद्ध आजको खेलमा सहभागी नहुने भएका छन्।
दुबै खेलाडी अघिल्लो खेलमा लागेको चोटका कारण आजको प्लेइङ ११ मा रहने छैनन्। स्कटल्यान्डविरुद्धको अघिल्लो खेलमा सोमपालले नेपालको इनिङलाई सम्हाल्दै शानदार प्रदर्शन गरेका थिए। ३२३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ब्याटिङ क्रम कमजोर देखिँदा सोमपालले आठौं नम्बरमा ब्याटिङ गर्दै ४४ बलमा ६७ रनको उत्कृष्ट पारी खेलेका थिए। यद्यपि, उनको प्रयासले खेल जिताउन भने सकेनन्।
यस्तै, गुल्शनले पनि श्रृंखलाको पहिलो खेलमा स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जितमा महत्त्वपूर्ण योगदान दिएका थिए।
सोमपालको स्थानमा नन्दन यादवलाई टोलीमा स्थान दिन सकिने देखिएको छ। उनी पनि सोमपालसरह फास्ट बलिङ अलराउन्डर हुन्।