काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा रंकिंग एक स्थानले घटेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ रंकिंग सूचीअनुसार नेपाल ९९ औँ स्थानबाट झरेर अहिले १०० औँ स्थानमा पुगेको छ।
सन् २०२५ मा थाइल्यान्डसँग खेलेको एक मात्र मैत्रीपूर्ण खेल २–० ले गुमाएपछि नेपालको रंकिंग घटेको हो। नेपाललाई पराजित गरेको थाइल्यान्ड भने एक स्थान उक्लिएर ४६ औँ स्थानमा पुगेको छ। थाइल्यान्डले सन् २०२५ मा तीन खेल खेलेको थियो।
त्यसैगरी, भारत पनि एक स्थान तल झर्दै ७० औँ स्थानमा पुगेको छ। जोर्डन ७५ औँ स्थानमा यथावत् छ भने बंगलादेशले पाँच स्थान सुधार गर्दै १२८ औँ स्थानमा उक्लिएको छ।
यसपटकको रंकिंगमा इजिप्टले उल्लेखनीय प्रगति गर्दै सात स्थानको छलाङ मारी ९३ औँ स्थानमा पुगेको छ। युएई भने पाँच स्थान घटेर ११७ औँ स्थानमा झरेको छ।
विश्व रंकिंगको शीर्षमा अमेरिका यथावत् छ भन्ने दोस्रो स्थानमा स्पेन, तेस्रोमा जर्मनी, र चार स्थान सुधार गर्दै ब्राजिल चौथो स्थानमा उक्लिएको छ।