गोविन्द बिश्वकर्मा । चैत्र २७, सुर्खेत । पटकपटक गर्भपतन गराउँदा पाठेघरमा गर्भ नरहन सक्ने खतरा बढी हुने भएकाले यसलाई परिवार नियोजनको अस्थायी साधनको रुपमा नलिन चिकित्सकहरुले सुझाव दिएका छन् ।
धेरै गर्भपतन गराउँदा पछि पाठेघरमा मात्रै नरहेर नलीमा पनि रहन सक्ने चिकित्सकको भनाई छ । प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार महिनावारी हुँदा वा गर्भवती हुँदा पाठेघरमा नरमपना बनाउने तत्व हुन्छ, तर धेरैपटक गर्भपतन हुँदा त्यो नरम तत्व कम हुने हुन्छ । पाठेघरको नलीमा रहेको बच्चा ठूलो हुने बित्तिकै नली फुट्ने खतरा बढी हुन्छ । धेरै पटक गर्भपतन गराउँदा पाठेघर राम्रोसँग सफा नभएमा वा अन्य कुनै शल्यक्रिया गराउँदा पाठेघर वरपर रगत जम्मा भएमा पनि बच्चा पाठेघरमा नबसेर बाहिर नलीमा बस्न सक्छ ।
त्यसैले महिनावारी रोकिएपछि समयमै चिकित्सककहाँ गएर जाँच गराउने र बच्चा कहाँ बसेको छ भनी अल्ट्रासाउण्ड गराएर सजग रहन पनि निर्देशक डाक्टर गौतमले सल्लाह दिए । गर्भपतन नगराएका महिलामा पनि सेतो पानी बग्ने, चिलाउनेलगायत समस्या भएमा पनि सङ्क्रमणको अत्यधिक खतरा हुने भएकाले बच्चा नलीमा बस्ने सम्भावनालाई बढाउनसक्छ ।
अहिले तीन महिनासम्म गर्भपतन गराउन कानुनी रूपमै अनुमति छ । तर, अचेल गर्भपतनलाई परिवार नियोजनका रूपमा लिने गरेको पाइन्छ, त्यसो गर्नु जोखिमपूर्ण छ । बच्चा नचाहिने अवस्थामा गर्भपतन गराउने हो । परिवार नियोजनका रूपमा लिँदा बढी जोखिम हुन्छ । बच्चा नजन्माउने हो भने सावधानी अपनाउनुर्छ । तत्काल बच्चा नजन्माउने हो भने अस्थायी र भविष्यमै बच्चा नजन्माउने हो भने स्थायी साधनको प्रयोग गर्न चिकित्सकको सल्लाह छ । परोपकार प्रसूति गुहमा दैनिक १५ जनाले गर्भपतन गराउँदै आएका छन् भने दैनिक नेपालमा कति जना महिलाले गर्भपतन गराउछन् भन्ने एकिन तथ्याङ्क छैन ।