2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बच्चाको मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आज आयोजित मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रममा उहाँले सातवटै प्रदेशमा सेवा सञ्चालनको तयारी गरिरहेको बताउनुभएको हो ।

“बालबालिकामा हुने मधुमेह परीक्षण र उपचारका लागि सातवटै प्रदेशमा निःशुल्क गर्नेगरी हामीले काम अगाडि बढाइरहेका छौँ”, स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, “बुढ्यौलीतर्फ उमेर ढल्किँदै गएपछि मधुमेह हुन्छ भन्ने मानसिकता समाजमा रहेको छ, तर बच्चाहरुलाई पनि यो रोग लाग्ने रहेछ ।” नेपालको स्वास्थ्य व्यवस्थामा बालबालिकामैत्री विशेष कार्यक्रम ल्याउनु जरुरी रहेको मन्त्री पौडेलको भनाइ छ ।

वंशानुगत रोगसहितका अन्य रोगका बारेमा विशेष कार्यक्रम ल्याएर बालबालिकालाई सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । “पछिल्लो समय समाजमा बालबालिकाका विषयमा थुप्रै समस्या देखिएका छन्”, उहाँले भन्नुभयो, “मोबाइल, टिभी, ल्यापटपसहितका डिजिटल उपकरण प्रयोग गर्न स्क्रिनमा हेर्ने विषयले समस्या निम्त्याउँदै गएको छ ।”

बच्चाहरुलाई हुनसक्ने समस्याका बारेमा सबैले सावधानी अपनाउनुपर्ने र सरकारले उपचारमा सहजीकरण गर्नुपर्ने मन्त्री पौडेलले बताउनुभयो । बालबालिका र ज्येष्ठ नागरिकको उपचारलाई निःशुल्क कसरी बनाउन सकिन्छ भन्नेतर्फ राज्यले नीति निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।

“वृद्धवृद्धा र बच्चाका सन्दर्भमा यसको भार राज्यले बहन गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “यस विषयमा विभिन्न संस्था बनाएर अन्यत्र जिम्मा लगाउन मिल्दैन ।” राज्यले स्वास्थ्योपचारमा सहयोग पु¥याउन सक्दैन भने त्यो लोककल्याणकारी राज्य नभएको उहाँले जिकिर गर्नुभयो ।

कार्यक्रममा नुरा हेल्थ फाउन्डेसनका देशीय निर्देशक डा सुशील कोइरालाले मधुमेह दुई प्रकारको हुने उल्लेख गर्दै बालबालिकालाई लाग्ने यस रोगलाई ‘मधुमेह टाइप १’ नामकरण गरिएको बताउनुभयो । “पाका उमेरका व्यक्तिलाई हुने मधुमेहमा शरीरले उत्पादन गर्ने इन्सुलिनको मात्रा थोरै हुने तथा औषधि खाएर पनि नियन्त्रण गर्न सकिने हुन्छ”, उहाँले भन्नुभयो, “बालबालिकामा हुने मधुमेहमा शरीरले इन्सुलिन उत्पादन गर्दैन, जीवनभर सुइबाट इन्सुलिन दिएर जीवनरक्षा गर्नुपर्ने हुन्छ ।”

मधुमेह टाइप १ लागेका बालबालिकाको सङ्ख्या धेरै भएको हुनसक्ने भन्दै उहाँले नेपालमा अहिले ६०० बिरामी सूचिकृत रहेको बताउनुभयो । “कति बिरामी उपचारका लागि आउनुभएको छैन, कतिले भारतमा गएर समेत उपचार गराइराख्नुभएको छ”, उहाँले भन्नुभयो, “मधुमेह लागेका बालबालिकाको एकिन तथ्याङ्क हामीसँग छैन ।”

नेपालका विभिन्न पाँच अस्पतालबाट मधुमेह टाइप १ को उपचार भइरहेको उहाँले बताउनुभयो । यो रोग किशोरावस्थामा सुरु हुने भएकाले यससम्बन्धी विशेष सतर्कता र सावधानी अपनाउनुपर्ने डा कोइरालाले बताउनुभयो ।

उक्त कार्यक्रममा मधुमेह टाइप १ का बिरामी बालबालिकाले आफ्नो भोगाइ राखेका थिए । बिरामी भएर पनि समयमा उपचार गर्दा सामान्य जीवन बिताउन सकिने उनीहरुको भनाइ थियो । गैँडाकोटमा रहेको विजय विकास स्रोत केन्द्रको ४७औँ स्थापना दिवसका अवसरमा आयोजित मधुमेह परीक्षणमा गैँडाकोट आधारभूत अस्पताल तथा क्वेस्ट फर्मास्युटिकल्स प्रालिले प्राविधिक सहयोग गरेका थिए ।

कार्यक्रममा विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले मधुमेहबारे स्वास्थ्य सचेतना आवश्यक रहेर कार्यक्रम गरिएको बताउनुभयो । स्वास्थ्य नै ठूलो धन भएकाले मानिस स्वस्थ हुनका लागि खानपान र जीवनशैलीमा सुधार ल्याउनुपर्ने अध्यक्ष सापकोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले