कात्तिक १०, काठमाडौं | चालू आर्थिक वर्ष २०७४/७५ को तीन महिनामा एक लाख ४४ हजार नौ सय १८ युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन्। सरकारले वैधानिक रूपमा एक सय १० भन्दा बढी मुलुकमा श्रम स्वीकृति दिएर कामदार पठाउँदै आएको छ।चालू आवको तीन महिनामा मात्रै म्यानपावरमार्फत कामका लागि ८३ हजार सात सय ७६ युवा बिदेसिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।
सोही अवधिमा बिदामा आई पुनः विदेश जानेको संख्या भने ६१ हजार एक सय ४२ छ। चालू आवको तीन महिनामा विदेश पलायन भएका युवाको संख्या गत आव २०७३/७४ भन्दा दुई हजार दुई सय ९१ ले बढी हो। गत आव २०७३/७४ को पहिलो तीन महिनामा एक लाख ४२ हजार ६ सय २७ युवा वैदेशिक रोजगारीका लागि विदेश पलाएन भएका थिए।
विदेश जाने युवाको संख्या समग्रमा बढे पनि नयाँ कामका लागि संस्थागत (म्यानपावर)मार्फत विदेश जानेको संख्यामा भने गिरावट आएको छ। गत आवको तीन महिनामा म्यानपावरमार्फत ८८ हजार पाँच सय ५३ युवा अन्तिम श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश पलायन भएका थिए। तर यो संख्या घटेर आव २०७४/७५ मा ८३ हजार सात सय ७६ मात्रै छ। तर यो संख्यामा सरकार आफैले रोजगारीका लागि कोरिया पठाएको कामदार संख्या उल्लेख गरिएको छैन।
चालू आवको साउनमा २८ हजार एक सय २१ युवा म्यानपावरमार्फत विदेश पलायन भएका छन्। गत आवको साउन महिनामा यो संख्या ३२ हजार ७ सय ५२ थियो। यसैगरी चालू आवको भदौमा ३१ हजार ८६ र असोज महिनामा २४ हजार पाँच सय ६९ युवा नयाँ कामका लागि म्यानपावरमार्फत विदेश पलायन भएको विभागले जानकारी दिएको छ। चालू आवको असोज महिनामा भने नयाँ काममा लागि विश्वका विभिन्न गन्तव्यमा काम गर्न जानेको संख्या गत आवको असोजभन्दा झन्डै एक हजार पाँच सयभन्दा बढी छ।
चालू आवको तीन महिना पहिलोपटक जानेको संख्यामा गिरावट आए पनि बिदामा आई पुनः विदेश जानेको संख्या बढेको छ। चालू आवको असोज मसान्तसम्म ६१ हजार एक सय ४२ युवा बिदा मनाई विदेश फर्किएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ। तर गत आवको तीन महिनामा बिदामा आई पुनः विदेश जानेको संख्या ५४ हजार ७४ थियो।
चालू आवको तीन महिनामा सबैभन्दा बढी ३१ हजार दुई सय ७७ युवा मलेसिया पुगेका छन्।
चालू आवको साउनमा १७ हजार तीन सय १८ भदौमा १९ हजार पाँच सय ५१ र असोजमा २४ हजार दुई ७३ युवा बिदामा नेपाल आई पुनः रोजगारीका लागि बिदेसिएका छन्। तर गत आवको साउनमा १९ हजार एक सय ७६, भदौमा १६ हजार पाँच सय ४३ र असोजमा १८ हजार तीन सय बिदामा नेपाल आई पुनः रोजगारीका लागि विदेश गएका थिए।
चालू आवको तीन महिनामा धनुषाबाट मात्रै ५६ सय ६२ युवा रोजगारीका लागि विदेश पलायन भएको विभागले जानकारी दिएको छ। धनुषाबाट विदेश जानेको संख्या ६ हजारको हाराहारीमा भए पनि कर्णाली अञ्चलको मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पाबाट विदेश जानेको संख्या भने प्रतिजिल्ला सरदर १० देखि १२ जना मात्रै छ। यसैगरी महोत्तरीका एक हजार चार सय दुई, सिरहाका एक हजार तीन सय ३८, सर्लाहीका एक हजार दुई सय १९ र झापाका एक हजार तीन सय १३ जनाले वैदेशिक रोजगारीमा जान अन्तिम श्रमस्वीकृति लिएको विभागको तथ्यांक छ। यसैगरी महोत्तरीका चार हजार एक सय दुई, झापाका तीन हजार सात सय सात, सर्लाही तीन हजार पाँच सय तीन र मोरङबाट तीन हजार चार सय ४७ युवा वैदेशिक रोजगारीका लागि विदेश पलाएका भएका छन्।
दुई वर्षदेखि नेपाली कामदारका लागि पहिलो गन्तव्यका रूपमा कतार रहेको थियो। कतारलाई एक्ल्याउँदै खाडी मुलुकले कतारमा नाकाबन्दी लगाएसँगै नेपाली कामदारका लागि मलेसिया पहिलो आकर्षणको केन्द्र बन्न पुगेको छ। चालू आवको तीन महिनामा सबैभन्दा बढी म्यानपावरमार्फत ३१ हजार दुई सय ७७ युवा मलेसिया पुगेका छन्। तर मलेसियाबाट बिदामा नेपाल आई पुनः मलेसिया नै जानेको संख्या भने पाँच हजार आठ सय १६ मात्रै छ।
यसैगरी दोस्रो गन्तव्यका रूपमा म्यानपावरमार्फत नयाँ कामका लागि २० हजार दुई सय ९१ युवा कतार पुगेका छन्। बिदामा नेपाल आई पुनः कतार जानेको संख्या भने १९ हजारभन्दा बढी रहेको विभागले जानकारी दिएको छ। तेस्रोमा दुबई जानेको संख्या १४ हजार तीन र चोथोमा साउदी अरब जानेको संख्या ११ हजार चार सय १९ रहेको विभागको तथ्यांकले देखाउँछ। कतारलाई एक्ल्याउन खोज्ने खाडी मुलुक साउदी जानेको संख्या ह्वात्तै घटेको छ। कतार तथा खाडी देश जानेको संख्यामा गिरावट आएसँगै मलेसिया जानेको संख्या बढेको वैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङले बताए।
कतारलगायत खाडीका मुलुक जाँदा कामदारले म्यानपावर कम्पनीसँग गरेको सम्झौताअनुरूप सेवासुविधा र काम पाउन सकेका छैनन्। कामदारबाट दिनहुँ गुनासो आउन थालेपछि व्यवसायीले पनि खाडीको सट्टा मलेसिया पठाउन थालेका हुन्।
विगत आठ महिनादेखि खाडी जाने कामदारको संख्यामा कमी आएको श्रमग्राम कार्यालयले जानकारी दिएको छ। त्यसका पनि जुन ५ देखि कतारलगायत खाडीका मुलुकबाट कामदारको माग २५ प्रतिशतभन्दा बढी घटेको छ। ‘मलेसिया जाने कामदारको संख्या बढ्नु नेपाली कामदारका लागि सकारात्मक पक्ष हो’, गुरुङले भने, ‘खाडी जाने कामदारमा ह्वात्तै गिरावट आउँदा नेपाली कामदारले पाउँदै आएको रोजगारीका संकट सिर्जना हुन सक्छ।’ अन्नपूर्णपोष्ट बाट