2026-09-22 07:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल इन्जिनियरिङको १० करोडभन्दा बढी व्यक्तिको खातामा

मंसिर १३, काठमाडौं । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको खाताबाट सञ्चालकहरूको खातामा ठूलो परिमाणमा रकम हस्तान्तरण भएको भेटिएको छ। 

कलेजस्रोतले कान्तिपुरलाई उपलब्ध गराएको विवरण हेर्दा १० करोड रुपैयाँभन्दा बढी रकम अनियमित रूपमा व्यक्तिको खातामा गएको देखिन्छ। यो खबर कृष्ण ज्ञवाली र स्वरूप आचार्यले आजको कान्तिपुरमा लेखेका छन्।

‘कलेजको खाताबाट केही सञ्चालकको खातामा बारम्बार रकम निकासा गरेको देखिन्छ,’ कलेजस्रोतले भन्यो, ‘तलब र अन्य सुविधाबाहेक विभिन्न शीर्षकमा खर्च देखाई रकम निकालिएको छ।’ सादा कागजमा विवरण लेखेर कतिपय खर्चको औचित्य पुष्टि गर्न खोजिएको स्रोतले बतायो।

जनसम्पर्क र विद्यार्थी संगठनका नाममा खर्च देखाइएको छ। विद्यार्थी संगठनलाई बाँडेको भनी ८ करोड २५ लाख रुपैयाँ खर्च देखाइएको छ। ‘तर भर्पाइ र रसिद भने लेखाको कागजातमा देखिँदैन,’ स्रोतले भन्यो। कलेज सञ्चालक समितिका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेका नाममा पटक–पटक गरी ८ करोड २१ लाख रुपैयाँ भुक्तानी भएको छ। नियमित तलबबाहेक उनले जनसम्पर्क, यातायात र अन्य खर्चका नाममा भुक्तानी लिएका छन्। अर्का सञ्चालक लवराज भट्टराईले २ करोड ३२ लाख रुपैयाँ निकासा लिएको लेखास्रोतले बतायो।

सञ्चालकहरू उपेन्द्र गौतम र सूर्यबहादुर केसीका नाममा भएको भुक्तानीसमेत २/२ करोड रुपैयाँ नाघेको देखिन्छ। सामाजिक संस्थाका रूपमा सञ्चालित कलेजका सञ्चालकहरूले आफूहरूलाई डेढ/डेढ करोड रुपैयाँ बाँड्ने विवादास्पद निर्णय गरेका थिए। हरि पाण्डे र दीपक भट्टराईबाहेक सबै सञ्चालकले उक्त रकम बुझिसकेको स्रोतले जनायो। कलेजलाई निजीकरण गरी कम्पनीमा परिणत गर्ने प्रयास भने चौतर्फी विरोधपछि असफल भएको छ।

कलेजस्रोतबाट प्राप्त कागजातमा खातामा रहेको रकममध्ये विभिन्न शीर्षकमा सञ्चालकहरूलाई सुविधा दिने भनी विवादास्पद निर्णय भएको देखिन्छ। अध्यक्षले वार्षिक डेढ करोड रुपैयाँ विद्यार्थी संगठनका नाममा बाँड्ने निर्णय गराएका छन्। ‘उक्त खर्चको स्रोतसमेत पेस गर्न नपर्ने भनी विवादास्पद निर्णय भएको छ,’ स्रोतले भन्यो। कलेजमा १५ करोड रुपैयाँ उठाउन बाँकी रहेकाले त्यसका लागि १५ प्रतिशत रकम खर्च लाग्ने भन्दै करिब २ करोड २५ लाख रुपैयाँको हिसाब नै देखाउन नपर्ने भनी खर्च गरिएको स्रोतले बतायो।

कलेजका अध्यक्षका लागि कलेजको विकास र सञ्चालनका नाममा मासिक पारिश्रमिक ५ लाख रुपैयाँ दिने बोर्डले निर्णय गरेको छ। अरू सञ्चालकले मासिक १ लाख २५ हजार रुपैयाँ सुविधा लिइरहेका छन्। त्यसबाहेक अध्यक्षको परिवार अस्ट्रेलियामा रहेको भन्दै वार्षिक रूपमा तीन पटक अस्ट्रेलिया जाने/आउने सुविधा दिने गरेको स्रोतले जनायो। ‘उहाँ मात्रै होइन, श्रीमतीलाई समेत आउनजान सुविधा दिइएको भेटियो,’ स्रोतले भन्यो।

सञ्चालकमध्येका हरि पाण्डेले विभिन्न नाममा कलेजबाट सञ्चालकहरूले सुविधा लिएको बताए। ‘सुरुमा झुक्किएर मैले पनि सामाजिक संस्थाकै नाममा सुविधा लिएको थिएँ,’ पाण्डेले कान्तिपुरसित भने, ‘यथार्थ थाहा पाएपछि मैले ब्याजसहित रकम फिर्ता गरेको छु। अन्य सञ्चालकले पनि रकम फिर्ता गर्नुपर्छ।’ उनका अनुसार सबै सञ्चालकलाई रकम फिर्ता गर्न पत्र काटिएको छ। केही अवधिको कागजात हेर्दा सबै सञ्चालकले मासिक सुविधा लिएको कलेज स्रोतले बतायो।

समाजकल्याण परिषदका प्रवक्ता बोधराज दाहालका अनुसार सामाजिक संस्थाका कर्मचारीबाहेकले पारिश्रमिक र सुविधा लिनु गैरकानुनी मानिन्छ। ‘कुनै व्यक्ति कर्मचारीका रूपमा रहेको छ भने त्यो अवधिमा ऊ सञ्चालक हुन पाउँदैन,’ दाहालले भने, ‘सामाजिक संस्थाका पदाधिकारीले नियमित पारिश्रमिक वा सुविधा लिनु त सरासर आर्थिक अनियमितता हो।’ जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भएको नेपाल इन्जिनियरिङ कलेज हालसम्म पनि सामाजिक संस्थाकै रूपमा सञ्चालित छ।

गैरनाफामूलक संस्था भएकै कारण कलेजले साबिकको गाविसबाट स्वीकृति लिएर भक्तपुरको चाँगुनारायणमा १ सय ७४ रोपनी सरकारी जग्गामा भौतिक संरचना बनाएको छ। कलेजको आफ्नै भने ३९ रोपनी जग्गा मात्रै छ। कलेजको सञ्चालकमध्येका एक र हाल कार्यवाहक अध्यक्ष बनेका सूर्यबहादुर केसीले कलेजका अध्यक्षलाई पत्र पठाई गैरसरकारी संस्थाका रूपमा स्थापित कलेजलाई निजी कम्पनीमा रूपान्तरण गर्नुपर्ने भनी सोझै प्रस्ताव गरेका थिए।

कलेजमा हाल करिब २ हजार विद्यार्थी अध्ययनरत छन्। पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई स्नातक र स्नातकोत्तर तहमा विभिन्न कार्यक्रम सञ्चालन गरेको कलेज पुल्चोक इन्जिनियरिङपछि आकर्षक मानिन्छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो