नन्दराम जैशी/माघ ५, जुम्ला । हरेक बर्ष जुम्लाले महबाट करोडौ आम्दानी लिने गरेको तथ्याङक छ ।
जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकाका जहाँसुकै स्थानमा मौरी पाइन्छ । जुम्लाका सबै ठाँउमा मौरी व्यवसाय गर्न वातावरण अनुकूल भएपछि मौरी ब्यवसायबाटै कृषकहरु लखपति बन्न थालेका छन् । कतिपय विभिन्न समुह र सहकारीमा आबद्ध भएर त, कतिपयले ब्यक्तीगत रुपमा पनि मौरीपालन गरीरहेका छन् ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार गत वर्ष जुम्लाले ४ करोड बढि महको कारोबार गरेकोमा यस बर्ष भने, ३ करोड बढिको मात्र मह उत्पादन भएको छ । यो गत बर्षको तुलनामा यस बर्ष झण्डै २० प्रतिशतले मह उत्पादनमा ह्रास आएको हो ।
व्यवसायीक रुपमा गरिएको मौरी घारहरु र पत्रकार तथा मौरी पालक शरोज शाही मौरीको मह निकाल्दै ।
गत वर्ष साढे ४ सय मेट्रिकटन मह उत्पादन भएकोमा यस बर्ष ३ सय बढि मेट्रिकटन मात्र मह उत्पादन भएको कार्यालयका सुचना अधिकारी बालकरामम देवकोटाले जानकारी दिए ।
‘असोजमा फुल फुल्ने बेला बेस्सरी भएको वर्षातका कारण गत वर्ष भन्दा यस बर्ष २० प्रतिशतले मह उत्पादनमा कमी आएको हो, जुम्लाको अर्गानिक महको विश्व बजारमा बढ्दो माग छ ।
जुम्लाको मह भारत, जापान, अमेरीका, चिन लगाएतका देशमा निर्यात हुन्छ’ उनले भने, अहिले मौरीपालन ब्यवसायमा जुम्लाका युवाहरुको आकर्षण बढ्दै गएको पाइन्छ ।
चन्दननाथ नगरपालीका ५ का सरोज शाहि फोटो पत्रकार हुन् भने, उनि कान्जिरोवा टाईम्स मासिक पत्रिकाका सम्पादक पनि हुन् । झण्डै डेढ दशक पत्रकारितामा समय विताएका शाहि अहिले व्यवसायीक मौरी पालनमा जुटेका छन् । शाही पत्रकारिता संगै मौरीपालनमा लागेपछि धेरैलाई प्रेरणा पनि मिलेको छ ।
जुम्लामा मौरीपालनको बढ्दो सम्भावनालाई मध्यजनर गर्दै उनले एक बर्ष अघि मौरीपालन शुरु गरेका थिए । २० भन्दा बढि मौरी घार भएका उनले यस वर्ष मह विक्रीबाट झण्डै ३ लाख आम्दानी गरेका ।
अहिले उनि अन्य युवाहरुलाई पनि मुख्य पेशा नभएपछि सहायक पेशाका रुपमा मौरी ब्यवसाय गर्न सुझाउछन् । शुरु शुरुमा मौरी पालन अलि चुनौतीको रुपमा लिएका उनले अहिले सामान्य काम ठानेका छन् ।
जुम्ला चन्ददनाथ नगरपालिका ३ निवासी रामकृष्ण बुढ्थापाले जीवनको ३ दशक राजनितिमा विताएका छन् ।
राजनिति गर्दै गर्दा नेमकिपाका केन्द्रिय उपाध्यक्ष समेत बन्नुभएका उनि नयाँ शक्ति पाटीको जिल्ला संयोजकको रुपमा पनि एक वर्ष बिताए । आर्थिक समृद्धि गर्न कृषि पेशाको विकलप नदेखेका उनि विगत लामो समयदेखि मौरीपालन व्यवसाय पनि गर्दै आएका छन् । नेपालमा राजनिति गर्नु भन्दा कृषिबाटै समाजलाई ठुलो राहात प्रदान गर्न सकिने उनको बुझाई छ ।
अहिले झण्डै २० वटा भन्दा बढि मौरीका घारहरु उनले उत्पादन गरेका छन्, भने, यस वर्षमा मात्रै, मह विक्रीबाट उनले २० लाख भन्दा बढि आम्दानी गरे । अहिले ५ जना कामदारलाई उनले मौरीपालनमा व्यवसायमा रोजगारी समेत दिएका छन् ।
बुढ्थापाले ठोकुवा गर्दै भने, ‘जिल्लामा मौरी ब्यवसायको अधिकतम सम्भावना छ, मौरी पालनलाई व्यवसायीकता दिए महबाटै करोडौँको कारोबार गर्न सकिन्छ’ ।
यस बर्षको राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट जुम्लाका मौरीपालक कृषक रामकृष्ण बुढ्थापासँथै देशभरका ५ जना मौरी कृषक सम्मानित भएको छन् । विश्व खाद्य दिवसका अवसरमा नेपाल सरकारले बुढ्थापासँगै देशभरका ५ जना कृषकलाई राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट सम्मानित गरेको हो ।
जसमा एपि सेरानामा जातको मौरीपालन कृषकतर्फ जुम्लाका रामकृष्ण बुढ्थापा, धादिङका नारायण घिमिरे र कास्कीका शिवराम भण्डारी पुरस्कृत भएका छन्, भने एपि मेलिफेरा जातको मौरीपालन कृषक तर्फ सर्लाहिका मनोजराज सिंह र नवलपरासिका अन्य २ जना मौरीपालक कृषक पुरस्कृत भएका हुन् ।
राष्ट्रिय मौरी पालन विकास कार्यक्रम गोदावरी ललितपुर र ब्यवसायिक किट विकास निर्देशनाय काठ्माडौको सिफारिसमा कृषकहरु सरकारबाट पुरस्कृत भएका थिए । उनिहरुले पुरस्कार स्वरुप रु १० हजार नगद रकम सहित सम्मानपत्र प्राप्त गरेका थिए ।
जुम्लालाई मौरी पर्यटनका रुपमा विकास गरीने भएको छ । जसका लागी कर्णाली मौरी पालन सहकारी संस्थाले ठोस योजना बनाउने कार्य अन्तिम चरणमा पुर्याएको छ ।
जुम्लामा मौरी पालनको सम्भावना प्रचुर भएकाले यसको व्यवसायीकता प्रर्वद्धनसंगै आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि गर्ने कार्ययोजना बनाईदैछ । बजेट अभावका कारण जुम्लामा मौरी चरनखर्क व्यवस्थापनमा केहि ढिलाइ भएपनि चाडै व्यवस्थापन गरिने संस्थाका अध्यक्ष शिवलाल डाँगीले बताए ।
जुम्ला कृषि उपज उत्पादनका हिसाबले निकै राम्रो मानिएपनि त्यसको बजारीकरण र आर्थिक विकासमा देखिएको समस्यालाई हल गर्न मौरी पर्यटनका रुपमा विकास गर्न ठोस योजना बनाईने उनले बताए ।
जुम्लालाई अर्गानिक महको पकेट क्षेत्रका रुपमा विकास गर्न मौरी पालनमा बढावा दिन थालिएको छ, भने जिल्लाभरिका मौरी घारको तथ्याङ्क पनि सङ्कलन गर्ने तयारी भैरहेको छ ।
बोट विरुवाको फुल फुल्ने समयमा ठुलो वर्षात हुने, मौरीको चरण क्षेत्रको अभाव र उचित घारको व्यवस्थापन नहुनुले अहिले मौरी व्यवसायीकतामा चुनौती थपिएको छ । तर यिनै समस्यालाई मध्यनजर गरी कार्य योजना बनाइ अघि बढ्ने कृर्षिसँग सम्बनधति सरोकारवालाहरुले बताएका छन् ।