लक्ष्मीप्रसाद सापकोटा /माघ ७, पर्वत | यहाँको एक विकट गाउँका बासिन्दा व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् । फलेवास नगरपालिका– ९ भङगाराका कृषकले विगत चार वर्षदेखि व्यावसायिक रूप दिन थालेका हुन् ।
खेतबारीमा अन्नबाली लगाउने जनशक्तिको अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले हैरान परेपछि यहाँका अधिकांश कृषक व्यावसायिक कफीखेती शुरुवात गरेका हुन् । गाउँका ११६ कृषकले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन् ।
कफी खेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ कृषकको मोह बढेर गएको स्थानीय कृषक चन्द्रबहादुर थापाले बताउनुभयो ।
“मकै, गहुँ, धानजस्ता बालीनाली लगाएदेखि बाँदरले हैरानै पार्छ, गाउँमा जनशक्ति पनि पाइदैन बरु कफी लगाए वर्षको एक पटक टिप्न सहज हुन्छ ।” उहाँले भन्नुभयो, “आफूले मात्रै झण्डै १५ रोपनी जमिनमा कफी रोपेको र यस वर्षदेखि केही बोटमा फल समेत लागेको छ । ”
कफी खेतीको विस्तार र प्रवद्र्धनका लागि कृषकले भङगरा कफी सहकारी संस्था समेत खोलेका छन् । यो सहकारीमा ११६ स्थानीय कृषक आवद्ध छन् । उनीहरुमध्ये अधिकांशले एकसय भन्दा बढीको संख्यामा कफी रोपेका छन् भने केहीले थोरै मात्रामा लगाएको कृषक थापाले जानकारी दिनुभयो ।
वन जंगलको आडैमा रहेको प्रशस्त खाली जमिन छ । त्यहाँ विगत तीन वर्षअघि लगाएका कफीका बिरुवा हराभरा हुनथालेका छन् सहकारीका अध्यक्ष टीकाराम भुसालले भन्नुभयो–“यसलाई गाउँभर विस्तार गर्ने योजना छ । कफीको मूल्य बजारमा समेत राम्रो पाइने र बिक्रीको समस्या पनि नभएकाले कृषकले अन्य पेशा छाडेर यसतर्फ लागेको उहाँले बताउनुभयो ।
स्थानीयवासीले सहकारीमार्फत कफी मात्र हैन कुखुरापालन, बाख्रापालन र मौरीपालनजस्ता व्यवसाय समेत शुरु गरेका छन् ।
मेहेनत र परिश्रम गर्ने हो भने गाउँमै बसेर पनि प्रशस्त कमाइ गर्न सकिदोरहेछ भन्ने उदाहरण देखाउन गाउँले सक्रिय भएर लागेको भुसालले बताउनुभयो । उनीहरुले कफी सँगसँगै अलैँचीखेती समेत गरेका छन् । यसबाट दोहोरो आम्दानी लिन सकिने उहाँले जानकारी दिनुभयो ।
कफी खेतीको शुरुवातसँगै कफी संकलन केन्द्र समेत निर्माण गर्न लागिएको छ । स्थानीय गैरसरकारी संस्था सोर्डेक नेपालद्वारा संचालित गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कफी संकलनका लागि दुई कोठे भवन निर्माण शुरु गरिएको हो । करिब रु १५ लाखको लागतका भूकम्प प्रतिरोधी संकलन केन्द्रको गत महिनादेखि निर्माण कार्य शुरु भएको सोर्डेक नेपालका कार्यक्रम अधिकृत रमेशप्रसाद रिजालले जानकारी दिनुभयो ।
कृषकले उत्पादन गरेको कफी, अलैची, तरकारी, मह, खसीबोका संकलन गर्ने र एकिकृत रुपमा बजारमा पठाउने उद्देश्यले संकलन केन्द्र निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । संकलन केन्द्र बनेपछि कृषकलाई बजारको समस्या हुँदैन । उनीहरुले उत्पादन गरेका सबै बस्तु संकलन गरेर सहकारीमार्फत बिक्री गर्नका लागि बजार पठाइने उहाँले बताउनुभयो । सबै कृषकले लगाएको कफी खेतीले पूर्ण रुपमा उत्पादन दिन थालेपछि वार्षिक एक करोड भन्दा बढी आम्दानी लिन सकिने रिजालले जानकारी दिनुभयो ।
कृषकको सुविधालाई दृष्टिगत गरी संस्थाले रु ६ लाख सहयोग गरेको छ भने बाँकी रकम सहकारी र स्थानीय कृषकको सहयोगमा जग्गा व्यवस्थापन गरेर पक्की भवन निर्माण गर्न लागिएको बताइएको छ । सिँचाइ र हावापानीका दृष्टिकोणले कफी, अलँैची र अन्य तरकारी खेतीबाट राम्रो उत्पादन लिन सकिने भएकाले पछिल्लो समय यहाँका कृषकले आफ्ना उत्पादनलाई व्यावसायिक रुप दिन थालेका हुन्् ।
कृषि क्षेत्रमा पछिल्लो समय फलेवास नगरपालिकाका अधिकांश वडाका बासिन्दा सक्रिय हुन थालेको बताउँदै व्यावसायिक रुपमा लाग्ने कृषकलाई नगरपालिकाले विभिन्न अनुदान र प्रोत्साहनमूलक कार्यक्रम ल्याएको नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो । रासस