२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाग्यले बाँचेका सनम भन्छन्- ‘जमिन छुनुअघि नै जहाज थर्रर हल्लिएको थियो’

२०७४, २८ फाल्गुन सोमबार १६:११

तलको तश्विरमा: युएस बंगला जहाज दुर्घटनामा बाँचेका यात्रु सनम शाक्य।


विभिन्न ट्राभल एजेन्सीका हामी बाह्र जना एउटा कार्यक्रममा भाग लिन ढाका गएका थियौं। कार्यक्रम सकेर सँगसँगै फर्कंदै थियौं।

यूएस बंगलाको जहाज दिउँसो साढे १२ बजे ढाका विमानस्थलबाट उड्यो।

जहाज लगभग भरिएको थियो। हामी सबै अगाडिको लहरमा थियौं। पछाडि बंगलादेशमा एमबिबिएस पढिरहेका भाइबहिनी थिए। तीस जनाभन्दा बढी नेपाली थिए कि जस्तो लाग्छ। बंगालीहरू पनि उत्तिकै थिए। धेरै त पहिलोपटक नेपाल घुम्न आउँदै थिए।

संख्या यकिन छैन, तर चिनियाँ र दक्षिणपूर्वी एसियाका केही पर्यटक पनि थिए।

यात्राभर कुनै समस्या भएन। छुट्टिमा नेपाल आइरहेका विद्यार्थी भाइबहिनीको उत्साह र पर्यटकको उत्सुकताले हामी रमाएका थियौं। नेपालका डाँडाकाँडा देखिन थालेपछि सबैको उत्साह र उत्सुकता झनै बढ्यो। बादल लागेकाले दृश्य खासै राम्रो देखिएन। तर, पहिलोपटक नेपाल आइरहेकाहरू झ्यालबाट क्यामरा तेर्स्याउन थाले। कति त हिमाल देखिन्छ कि भन्ने आसमा देब्रे लहरबाट दाहिने सरेका थिए।

हामी भने आफ्नै गफमा भुलेका थियौं।

ल्यान्ड गर्ने बेला जहाजले सामान्यभन्दा बढी समय लगायो। काठमाडौंमाथि दुई–तीन चक्कर लगाएपछि आज आकाशमा धेरै ट्राफिक रहेछ भन्ने हामीले बुझ्यौं। यसले नेपाल आउने पर्यटक बढेको संकेत दिन्छ। एक पर्यटन व्यवसायीका रूपमा यो हाम्रा लागि खुसीको कुरा थियो।

केही बेरमै हामी जिन्दगीकै कहालीलाग्दो क्षणतर्फ बढ्दै थियौं।

जब जहाज कम उचाइमा झर्यो, मलाई असामान्य अनुभूति भयो। मसँग धेरैपटक धेरै खाले जहाज चढेको अनुभव छ। काठमाडौंमा अवतरण गर्दा पहाडमा ठोक्किएला जस्तो अनुभव कहिल्यै भएको थिएन।

आज भने त्यो जहाज पहाडको एकदमै नजिकबाट तल झरेको थियो। जहाजका पांग्राले धावनमार्ग छुनुअघि नै हामीले सिटमै एक किसिमको कम्पन महशुस गरेका थियौं। जहाज अस्वाभाविक रूपमा थर्रर हल्लियो। अवतरण हुन लागेको जहाज जमिनमा यस्तरी बजारियो, मानौं कुनै पहाडमा ठोक्किएको होस्।

जहाज घुइँय्य गरेर घिस्रिँदै कतै बजारिएको हामीले अनुभव गर्यौं। कोलाहल मच्चियो। यात्रुहरू सिटबाट लडे। कोही सिटमै अड्किए। कोही सिटैले थिचिए। सिटमाथिको सामान राख्ने डब्बा खुलेर झोलाहरू छरपस्ट झरेका थिए।

जहाज कुनै कारणले आकस्मिक अवतरण गर्दा धावनमार्गबाट बाहिर खसेको हामीले बुझ्यौं। अब एउटै चुनौती कसरी सकुशल निस्कने भन्ने थियो।

हामी आ–आफू च्यापिएका ठाउँबाट उठ्न खोज्यौं, सकेनौं। त्यहीबेला सबैलाई अत्याउने गरी जहाजको पछिल्लो भागबाट धुवाँको मुस्लो उड्यो। त्यही मुस्लो पछ्याउँदै आगोको लप्का छुट्यो। आगोको लप्कासँगै जहाजलाई यात्रुको चित्कारले छोप्यो।

हाम्रो हडबडी र डर झनै बढ्यो।

अब तुरुन्तै ज्यान जोगाउने केही उपाय लगाइएन भने आगोको लप्काले हामीलाई भेटिहाल्थ्यो। जसोतसो बल लगाएर सिटबाट फुत्क्यौं।

त्यतिन्जेलमा हामीभन्दा अघिल्लो लहरका साथीले झ्याल फुटाउन सफल भए। उनीहरू त्यही झ्यालबाट बाहिर निस्के र हामीलाई पनि ताने । हामी धेरै गाह्रो गरी बाहिर निस्क्यौं।

यसरी झ्यालबाट हामफाल्दा एक जना साथीका खुट्टा पनि भाँचिए। मेरो टाउको र खुट्टामा सामान्य चोट लाग्यो। हामीले आफू निस्केपछि त्यसैगरी केही यात्रु निकाल्न खोज्यौं।

आगलागीले सबैलाई समयमै उद्धार गर्न सकेनौं। उनीहरू सबैजसो केही न केहीले थिचिएका र च्यापिएका थिए। कसैका हात, कसैका खुट्टा सिटमा अड्किएका थिए। उनीहरूलाई तान्ने निकै प्रयास गर्दा पनि सकिएन। त्यसमाथि आगो यति दन्किँदै थियो, हामी त्यहाँ टिक्नै सकेनौं।

त्यसपछि भने मलाई खास याद भएन।

म नर्भिक अस्पतालमा उपचार गराइरहेको छु। सँगै आएका बाह्र जना साथीमध्ये दुई–तीन जनाको मृत्यु भयो भन्ने सुनेको छु, यकिन भएन।

आफू चढेको जहाज दुर्घटनामा परेको, आधाभन्दा बढी यात्रुको मृत्यु भएको र ती सबैका बाबजुद म अहिले जिउँदै छु भन्ने तर्कनाले मन सिरिङ्ग हुँदो रहेछ।

भाग्य भनेको यही होला! 

- सेतो पाटिअनलाइनसँग आधारित संवाद

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से