मोहन पौडेल | असोज १७, परासी | पश्चिम नवलपरासीको ऐतिहासिक बुद्धमंगल ताल संरक्षणको पर्खाइमा छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नं १२ मा पर्ने यो ताल पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य बन्ने सम्भावना भएर पनि संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
सुन्दर र रमणीय वातावरण रहेको यो तालको उचित संरक्षण हुन नसक्दा झारैझारले भरिन पुगेको छ । तालमा पर्याप्त पानी भएपनि झार धेरै भएकाले तालको सुन्दरता छोपिएको छ । यो तालको ऐतिहासिकता गौतम बुद्धसँग जोडिएको छ । स्थानीयवासी दीपक बरालका अनुसार बुद्धमंगल ताल ऐतिहासिक हुनुमा शाक्यमुनि बुद्धसँग यसको सम्बन्ध जोडिनु नै हो । यस तालको नामकरण बुद्धमंगल हुनुले पनि बुद्धसँग कुनै न कुनै किसिमले यसको अन्तरसम्बन्ध छ भन्ने बुझ्न सकिन्छ । साढे ६ विघामा फैलिएको र गोलाकार आकृतिमा रहेको यो ताल आजसम्म सुकेको दृष्टान्त छैन । निर्मल र कञ्चन पानी रहेको यस तालको सम्बन्ध बुद्धसँंग जोडिएका विषय र अन्य पनि धेरै किवन्दतिहरु सुनाउने पुस्ता आज पनि जिउँदै भेटिन्छन् ।
बुद्धमंगल ताल संरक्षण समितिका अध्यक्ष दीप प्रकाश लोहनीका अनुसार गौतम बुद्ध काठमाडौँ खाल्डो जाने क्रममा परासीदेखि १२ किलोमिटर पूर्व हाल बर्दघाट नगरपालिका – १२ (साविक जहदा ५) स्थित मनोरम यो ताल देखेपछि आफ्नो अनुयायीसहित यसै ताल छेउ राति बास बस्नुभएको र सो बसाइको क्रममा स्थानीयवासी दुई जमिन्दार भाइहरु दबिला र मंगललाई आफ्नो प्रवचनबाट दीक्षित बनाएको किंवदन्ति सुन्न पाइन्छ । ती दुई दाजुभाइमध्ये दबिलाको नामबाट आज पनि दुई गाउँ (पुरानो दबिला, नयाँ दबिला) रहेका छन् भने मंगलको नाउँ अगाडि बुद्धसमेत जोडी बुद्धमंगल ताल नामकरण गरिएको छ ।
प्रमाणित रुपमा भन्न नसकिए पनि यो ताल धेरै ऋषिमुनि सन्न्यासीहरुको तपस्या थलो बनेको थियो भन्ने तर्कलाई पत्याउने आधार धेरै रहेको अध्यक्ष लोहनीले बताउनुभयो । तत्कालीन समयमा घना जङ्गलबीच शान्त ताल रहनु र यस क्षेत्रमै नारायणी नदी पछि जल सुन्दरताका हिसाबले यही ताल नै उत्कृष्ट रहनुले पनि पत्याउन सजिलो आधार मिलेको हो । बुद्ध जीवनी, बौद्ध धार्मिक ग्रन्थहरुको मिहिन अध्ययन र अनुसन्धान हुने हो भने यस सम्बन्धमा निश्चय पनि केही तथ्यहरु हात पर्ने विश्वास स्थानीयवासीको छ ।
यस बाहेक रैथाने थारु जातिले जमकतार देवीको आश्रय स्थलको रुपमा यस ताललाई लिई अति पवित्र मानी यसै तालको पानीबाट खाना पकाउने प्रचलन केही वर्ष अगाडिसम्म रहेको बताउने बूढापाका आज पनि छन् । जमकतार देवीको सानो मन्दिर ताल किनारमा अवस्थित छ । ताल वरपर पुरानो थारु बस्ती नै छ ।
स्थानीयवासी दीपक बराल अर्को किंवदन्ति सुनाउनुहुन्छ – यस तालबाट सुनका भाँडाकुँडा स्थानीयवासीले मागे जति पाउने तर, कार्य सम्पन्न भए पछि तालमा बिसर्जन गर्नुपर्ने प्रथा थियो । घरमा पूजाआजा, बिहे बँरात आउँदा भाँडाको माग गरेपछि सतहमा तैरिएर आउँछ । तर, एक लोभी व्यक्तिले एउटा कचौरा लुकाए पछि देवी क्रोधित भई लगातार वृष्टि गराई ताल जलमग्न गराउँदा भाँडाहरु बग्दै बग्दै नजिकबाट बग्ने खोलाको माध्यमबाट दक्षिणतर्फ गएको भन्ने सुनिन्छ । सुनका भाँडाबर्तन बगेकाले सुनलाई धन मानी धन खोला नामकरण भएको हो ।
थारु जातिले दक्षिणतिरको गाउँमा सुन गएको हुँदा ‘धन बा’ भन्दै गर्दा गाउँको नाम नै धनवा रहन गएको र कालान्तरमा अपभ्रंस भई धनेवा हुन पुगेको किवदन्ति पनि छ । धनेवा आज नवलपरासी कै प्रमुख बस्तीमध्येको एक हो । धनेवा खोला अझ दक्षिण पुग्दा त्यो धन गाडिएको जनविश्वास छ । सो स्थान हाल सरावल गाउँपालिकाको धनगडवा गाउँ हो भन्ने गरिन्छ ।
यस बाहेक नाक र कानमा गहना लगाएको विशाल मत्स्य देवता तालमा अहिले पनि रहेको कथाहरु पनि प्रख्यात छन् । गहना लगाएको माछा विश्वास गर्न नसकिने भए पनि विशाल माछा तालमा रहेको र त्यो बेलाबखत सतहमा आउने गरेको प्रत्यक्ष देखेका दावी कतिपय स्थानीयवासीले गर्ने गरेका छन् । त्यसैगरी, अजिङ्गर पनि बेलाबखतमा देखिने गरेका छन् । सिमसार क्षेत्र भएकाले विविध जलचर र ताल किनारमा सामुदायिक वनको समेत विकास गरिएकाले चराचुरुङ्गीको बासस्थानका रुपमा यो ताल रहन पुगेको छ ।
लामो समय उपेक्षित जस्तै रहे पनि स्थानीयवासी हाल तालको सौन्र्दय बनाउने कार्यमा सचेत रहेको संरक्षण समितिका अध्यक्ष लोहनीले बताउनुभयो । अर्थाभावले गर्दा संरक्षणमा समस्या भएको छ । एकपटक २०५६ सालमा गाउँलेहरु मिलेर सफा गर्ने काम भयो तर यसले निरन्तरता पाएन । तालको संरक्षण गर्न र सौन्दर्य जोगाउन नगरपालिकाले विशेष चासो लिएर काम थालेको बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्यालले राससलाई बताउनुभयो । नगरपालिकाबाट यस कार्यका लागि करीब रु २० लाख तथा प्रदेश सरकारले पनि सोही बमोजिमकै बजेट विनियोजन गरेको नगर प्रमुख बस्यालले जानकारी दिनुभयो । आउने वर्षसम्म तालको स्वरुप परिवर्तन भइसक्ने उहाँको विश्वास छ । नगरपालिकाले नगरभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको पहिचान र संरक्षण गर्दै नगरलाई नै पर्यटकीय नगरी बनाउन लागिपरेको नगर प्रमुख बस्यालले बताउनुभयो ।
ताल वरपर सरस्वतीको मन्दिर, शिवालय, बुद्धमार्गीहरुको गुम्बा, १०८ शिवलिङ्ग, प्रतीक्षालय, सामुदायिक वन, खानेपानी परियोजना तथा ध्यान केन्द्र लगायतका प्राकृतिक तथा भौतिक संरचनाको निर्माण तथा विकास गरिएको छ । हुलाकी सडकबाट आधा किलोमिटर उत्तरमा पर्ने यस तालको प्रवेश द्वार बनाइएको छ । तालको सौन्दर्य वृद्धि र संरक्षणमा निवर्तमान सांसद द्वय विक्रम खनाल र सिन्धु जलेसाले निरन्तर सहयोग पु¥याएको स्थानीयवासी सम्झन्छन् । त्यस्तै, स्थानीय क्लबहरुले श्री कृष्ण जन्माष्टमी, हरितालिका (तीज) जस्ता पर्वमा जात्रा एवं खेलकूदका प्रतियोगिताहरु सञ्चालन गरी यस क्षेत्रको प्रचारप्रसारका निम्ति महत्वपूर्ण योगदान पुर्याइरहेका छन् । सबै पक्षबाट यसै प्रकारको सक्रियता र सहयोग पउने हो भने यो ताल क्षेत्र आन्तरिक पर्यटनको केन्द्र बन्न सक्ने वडाध्यक्ष मान बहादुर मल्लले बताउनुभयो ।
त्रिवेणीदेखि कपिलवस्तुसम्मको क्षेत्र लुम्बिनी सर्किट अन्तर्गत पर्ने अत्यन्त महत्वपूर्ण क्षेत्र हो । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक हिसाबले यस क्षेत्रको जुन महत्व छ त्यो अन्यत्र शायदै भेटिएला । लुम्बिनी घुमेर फर्कने आन्तरिक तथा विदेशी पर्यटकहरुलाई नवलपरासीको त्रिवेणीदेखि परासीसम्मको खण्ड समेतमा भित्र्याउन सकिने सम्भावना छ र यसतर्फ चाँडो भन्दा चाँडो पहलकदमी लिन आवश्यक छ ।