पुष ८, काठमाडौं | ‘आजाद भिसा’ मा काठमाडौँ सामाखुसी स्थित रोयल गण्डकी म्यानपावर प्रा.लि. मार्फत कतार उडाईएका पर्वतका सुजन श्रेष्ठ कतार गएको २ महिनामै नेपाल फिर्ता भए । नेपाल फर्केपछि उनले 'Baideshik Rojgar' मोबाइल एप मार्फत आफू ठगिएको भन्दै गुनाशो व्यक्त गरेका छन् ।
म्यानपावर कम्पनीले उनीमाथि गरेको क्रियाकलापलाई अध्ययन गर्दा कतारमा श्रेष्ठलाई आजाद भिषामा पठाइएको स्पष्ट छ । म्यानपावर कम्पनीले श्रम कार्यालय ताहाचलबाट लिएको बिज्ञापन पुर्व स्वीकृति अनुसार श्रेष्ठले कतारको म्युचुअल ट्रेडिङ एण्ड कन्ट्रयाकटिङ कम्पनीमा २ बर्ष काम गर्न पाउने उल्लेख छ । तर श्रेष्ठ कतारको उक्त कम्पनी पुगेपछी त्यहाँको कम्पनीले नो अब्जेक्सन लेटर दिएको उनले जानकारी दिएका छन् ।
कामदार भिषाको प्रकृतिमा ७ अक्टोबर २०१८ मा कतार उडेका श्रेष्ठले श्रम सम्झौता अनुसार २ बर्ष कतार बस्न पाउनुपर्नेमा पासपोर्टमा जम्मा ३ महिनाको अवधिसम्म मात्र बस्न पाउने उल्लेख छ । तोकिएको अवधिमा त्यहाँ पुगेर काम पाउन नसकेपछी श्रेष्ठ आफ्नै खर्चमा दुई महिना नबित्दै १८ नोभम्बर २०१८ मा नेपाल फर्किए । उनले आफू कतारबाट फर्कंदा लागत फिर्ता नपाइने कागज गराएर 'इक्जिट पेपर' दिएको समेत बताए । उनले भने 'मेरो क्षेतीपूर्ति नआओस् तर यस्ता गलत तरिकाले काम गर्ने म्यानपावर कम्पनीको पर्दाफास गर्नुपर्छ, भन्ने सोचेर तपाइँहरुलाई जानकारी दिएको हुँ ।' उनले थपे – 'सरकारी नीति अनुसार श्रम स्वीकृति लिएर आफ्नै देशको एऐरपोर्ट प्रयोग गरेर बैदेशिक रोजगारीमा जाँदा पनि यसरी बिभिन्न नाममा ठगि हुँदो रहेछ ।'
तश्वीरमा: श्रम स्वीकृति लिएको प्रमाण र पासपोर्टमा कतार बस्न मान्य हुने जम्मा ३ महिना समयावधीको उल्लेख ।
बैदेशिक रोजगार श्रम कार्यालय ताहाचलका प्रमुख सुरेश जोसीले 'रोयल गण्डकी म्यानपावर'ले कतारको 'म्युचुअल ट्रेडिङ एण्ड कन्ट्रयाकटिङ कम्पनी'मा २०१७ मै पुर्व स्वीकृति लिएको '१९७३५२' नम्बरको एलटि नम्बरबाट ४० जना कामदारको श्रम स्वीकृति लिएको साझा सबाललाई जानकारी दिए ।
सरकारले श्रम स्वीकृति दिने नीतिको मुख्य उध्यश्य अन्तर्गत कुनै पनि म्यानपावर कम्पनीले बैदेशिक रोजगारीका क्रममा पठाए पछी करार अवधिसम्म कामदारको रोजगार सुरक्षा सम्बन्धि सम्पूर्ण जिम्मा लिनुपर्छ । कामदार सम्बन्धित देशमा पुगेपछि जानु अघि सम्झौता भए बमोजिमको सम्पूर्ण सेवा-सुविधा पाउनुपर्ने हुन्छ । तर आजाद भिषा नेपाल सरकारको नीतिको विपक्षमा हुँदा-हुँदै पनि जोखिम मोलेर केहि म्यानपावरले भित्रभित्रै यसको धन्दा चलाईरहेको पाइएको छ । यस खाले धन्दाको बिषयमा पटक-पटक कुरा उठ्दा पनि जिम्मेवार निकायले कुनै ठोस कदम चाल्न सकेको देखिदैन ।
यसै सन्दर्भमा बैदेशिक रोजगार बिभागका निर्देशक भोलानाथ गुरागाईले म्यानपावर कम्पनीको कारोवारमाथि आवश्यक अनुसन्धान गरि कारवाही गरिने बताए ।
आजाद भिषामा पठाएर ठगि गरेको बारे साझा सबाल मिडियाले सम्बन्धित म्यानपावर कम्पनिका संचालक तारानाथ अर्यालसँग फोन मार्फत सोधपुछ गर्दा उनले पिडितलाई भेट्न पठाइदिन अनुरोध गरे । थोरै कामदार पठाउने गरेको बताएका अर्यालले समस्यामा परेर पिडित नेपाल फर्किएको बारे आफूलाई थाहा नभएको बताए । उनले भने – 'म अब यो डिमाण्डमा कामदार पठाउन रोकी पनि हाल्छु, म सचेत भएँ ।'
'यो आजाद भिषा हो सर ?' भन्ने साझा सबालको प्रश्नमा अर्यालले अनकनाउदै भने -'अब यो यस्तो छ सर, साथीहरुले उहाँ (कतारमा) बस्नेले चाहिं उ गरेर पठाउनु भा छ.. हैन ? अब अहिलेसम्म २६/२७ जना कति गएका छन्, केहि कम्प्लेन चाही थिएन, मैले आजको मितिबाट यो कम्पनीलाई रोकी हाल्छु ।'
के हो आजाद भिषा ?
कानुनले ‘आजाद भिसा’ लाई चिन्दैन । कामदारलाई झुक्याउन एजेन्टहरु आफैंले राखिदिएको नाम हो, आजाद भिसा । वैदेशिक रोजगारमा जाँदै नगएका नेपाली युवाहरुलाई यो नामले लोभ्याउने गरेको छ । दलालले ‘रोजगार भिसा’ लाई नै ‘आजाद भिसा’ को नाम दिएर ठगिरहेका छन् । यसका लागि नेपालका म्यानपावर र कतारमा खुलेका कम्पनी मिलेर कारोबार गरिरहेका छन् । कतारमा रहेका केहि नेपालीहरुकै पनि यसमा ठूलो हात रहेको बुझिएको छ ।
कतारमा कम्पनीसँग मिलेर त्यहाँ रहेको एजेन्ट वा व्यक्तिले कामदारको भिषा निकाल्छन् । त्यसलाई वैदेशिक रोजगार कार्यालयबाट म्यानपावर कम्पनीले पुर्व स्वीकृति तथा श्रम स्वीकृति निकाल्छ । त्यसपछी कामदार विदेश उडेपछी त्यहाँको कम्पनीले नेपालबाट गएको कामदारलाई अन्य कम्पनीमा पनि काम गर्न पाउने अधिकार (नो अब्जेक्सन लेटर) दिन्छ, त्यसपछि त्यहाँ रहेका एजेन्ट वा व्यक्तिले कतारमा काम खोज्न थाल्छन् ।
यस्तो अवस्थामा सिप सिकेका तथा अंग्रेजी बोल्न सक्नेले काम पाउन पनि सक्छन तर म्यानपावर र एजेन्टले पैसाको लोभमा परेर जस्तालाई पनि त्यस्तो भिषामा पठाउने हुँदा काम नपाउन पनि सक्छन । यही अवस्थामा ३ महिनाको भिषा अवधि सकिन लागेपछि बाध्य भएर नेपाल फर्किनुपर्ने हुन्छ । म्यानपावरहरुले यस्तो भिषामा कतारमा रहेका एजेन्ट वा व्यक्तिको जिम्मेवारीमा कामदार पठाउने गरेको पाइएको छ । स्रोतका अनुसार नेपालमा मिलाउनुपर्ने काम म्यानपावरले र उता पुर्याएपछी मिलाउनुपर्ने काम एजेन्ट वा व्यक्तिले गर्छन ।
नेपालमा हुँदा म्यानपावर तथा एजेन्टहरुले मिठो-मिठो आस्वासन बाडेर त पठाउँछन् तर त्यहाँ पुगेपछि भनेजस्तो कम्पनी र सेवा सुविधा नपाउँदा समस्या पर्छ । काम खोज्दैमा २/३ महिनासम्म पनि झुल्नुपर्ने हुँदा आजाद भिषामा त्यहाँ पुगेका नेपालीहरुको त्यतिबेला मात्र आफूहरु ठगिएको चेत खुल्छ ।
कतार श्रम कानुन अनुसार त्यहाँ पुगेको तीन महिनाभित्र आवासीय भिसा लगाइसक्नुपर्छ । जुन कम्पनीको भिसामा कतार पुगेको छ, त्यही कम्पनीले आवासीय भिसा नलगाइदिई अर्को कम्पनीमा काम गर्ने अधिकार (रिलिज) दिने कानुनी प्रावधान छ । म्यानपावर तथा एजेन्टहरूले यही बाटो समातेर धेरै पैसा कमाउने जागिर लगाइदिने भन्दै सोझा नेपालीलाई ठगिरहेका छन् ।