पर्वत, पछिल्लो पटक जिल्लालाई पर्यटकीय क्षेत्रका रुपमा परिचित गराउनको लागि एक पछि अर्को पर्यटकीय गन्तव्य स्थलका निर्माण तथा निर्माणका कार्य भैरहेका छन् । जिल्लामा भएका पर्यटकीय क्षेत्रको पहिचान गरी पर्यटन प्रर्वद्धन गर्नको लागि जिल्लामा एक पछि अर्को पर्यटकलाई आकर्षक हुने स्थलको निर्माण गर्न थालिएको छ ।
नेपालकै अग्ला ३ झोलुङ्गे पुलको जिल्लाको रुपमा चिनिएको पर्वतलाई पर्यटकीय गन्तव्य स्थलका रुपमा चिनाउनको लागि एसियाकै पहिलो बन्जीजम्प सहितको साहसिक पुल निर्माण कार्यको थलानी भएको छ । पर्वतको कुश्मा नगरपालिका ८ चाक्लो डिलबाट र बागलुङको बलेवालाई जोड्न र यस क्षेत्रलाई पर्यटन गाउँका रूपमा बिकास गर्ने उद्देश्यले उक्त पुलको निर्माणको कार्य शुरु गरिएको छ ।
संसारकै अग्लोमा दोस्रो बञ्जीका रुपमा संचालन हुन लागेको पु्लका लगानीकर्ता युवराज जोशीले जानकारी दिए । जिल्लालाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गराउनको लागि यो पुलको निर्माण कार्यको थलानी गरीएको जोशीको भनाई छ । संसारकै लामो स्वीङ र अति स्तरीय स्काई बृजले धेरै बाहृय पर्यटकहरूलाई कुश्मामा आकर्षित गर्ने विश्वास जोशीले गरेका छन् । उक्त पुलको निर्माणसँगै बलेवामा २० रोपनी क्षेत्रफलमा अत्याधुनिक सुविधा सम्पन्न रिसोर्ट समेत संचालन हुने भएको छ । उक्त रिसोर्टमा स्वीमिङ पुल, स्टिम वाथ र अति स्तरीय एवं अत्याधुनिक कोठाहरू निर्माण गरिने जोशीले सहरान्यूजलाई जानकारी दिए ।
पर्वतको मात्र नभएर नेपाल राष्ट्रकै गौरवका रूपमा निर्माण हुन लागेको यो बञ्जीले विश्वभरका साहसिक खेलाडिहरूलाई आकर्षित गर्ने विश्वास गरिएको पुलका अर्का लगानीकर्ता नेत्र पराजुलीले बताए । उक्त बञ्जीका लागि करिव ११ करोड देखि १२ करोड रूपैयाँ सम्म खर्च हुने अनुमान गरिएको छ । चार जना युवराज जोशी, नेत्र पराजुली, राज कार्की र फ्लोरीडाको लगानीमा बन्न लागेको उक्त साहसिक पुलको निर्माण कार्य इन्टर वल्र्डलाई जिम्मा दिइएको छ । उक्त पुल १ वा डेढ बर्षभित्र निर्माण कार्य सम्पन्न हुने जनाइएको छ । पुलको डिजाईन आर् के मलिकले गरेका हुन् ।
कालीगण्डकी नदीमाथि निर्माण हुन लागेको यो पुलबाट साहसिक पर्यटकहरुलाई आकर्षकण गर्न सकिने बताइएको छ । पुलको निर्माणसँगै छिमेकी जिल्लाको बलेवा र कुश्माको पर्यटकीय क्षेत्रको विस्तार गर्न सहज हुने देखिन्छ । पुलको निर्माणसँगै बलेवामा रहेको प्रयोगविहिन एरपोर्टलाई समेत संचालनमा ल्याउने हो भने दुवै जिल्लाको पर्यटकीय विकासको लागि ठूलो अबसरका रुपमा सावित हुने देखिन्छ जसकालागि दुवै जिल्लाले पहल गर्नुपर्ने देखिन्छ ।
(फोटोमा कुश्मा–बलेवामा बन्न लागेको बञ्जी सहतिको साहसिक पुलको शिल्यान्यास तथा निर्माणकार्यको थलानी भएको स्थल)