2026-07-09 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’ को निर्माण अन्तिम चरणमा

2019-07-21

सञ्चिता घिमिरे |  साउन ५, काठमाडौँ  |  बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’प्रविधिबाट निर्माण भएको पुल आगामी तीन चार महीनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । 

पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद्र्धनको पक्षले पनि उत्कृष्ट मानिएको आयोजनाले जनाएको छ । 

सरकारले चार वर्ष पहिले एउटै ठेक्कामार्फत दुई पुलको निर्माण शुरु गरेको थियो । धोबीखोला पुल र वाग्मती पुल निर्माणको जिम्मेवारी दुई फरक ठेकेदार कम्पनीलाई दिइएको थियो । वाग्मती पुलको निर्माण लामो समयदेखि ठप्प भए पनि धोबीखोला पुलमा भौतिक प्रगति राम्रो रहेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वबिजयलाल श्रेष्ठले बताउनुभयो । 

सडकको मुख्य लेनको दुवैतर्फ काम शुरु गरिएकामा एकातिर सम्पन्न भइसकेको र अर्कातिर काम भइरहेको हो । उहाँले भन्नुभयो, “एकातिर सम्पन्न भएर सवारी साधनसमेत चल्न थालेका छन् भने अर्कातिर साइटमा काम भइरहेको पाइन्छ ।”

यो सडक पुल तोकिएकै अवधि आगामी पुससम्म सम्पन्न गर्ने लक्ष्यका साथ कामअघि बढेको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । बाँकी रहेको साइडमा स्लाप राख्ने र ढलानको काम सकिएको उहाँले बताउनुभयो । स्टिलको डण्डी (आर्च) राख्ने, फुटपाथ निर्माण र ‘एप्रोच रोड’निर्माण गर्न बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यहाँ रहेका सबै अवरोध हटिसकेकाले अहिले ठेकेदार कम्पनीलाई काम गर्न कुनै बाधा छैन ।”

सो पुलको निर्माण शुरु गर्दा शुरुका दुई तीन वर्ष भौतिक प्रगति कम देखिए पनि अहिले गति लिएको देखिएको छ । आयोजनाले भने ठेकेदारको ढिलाइका कारण मात्रै नभएर विभिन्न अवरोधका कारण काममा ढिलाइ भएको बताउँदै आएको छ । देशभर निर्माण भइरहेका अरु पुलमा आफैँले डिजाइन गरेर ठेकेदार कम्पनीलाई त्यहीअनुसार काम गर्न ठेक्कामा दिइने गरिएकामा यस पुलमा डिजाइन समेत ठेकेदार कम्पनी आफैँले गरेको उहाँले बताउनुभयो । 

आयोजनाले दिएको ढाँचाअनुसार ठेकेदार कम्पनीले डिजाइन गर्ने सम्झौतामा नै उल्लेख भएको उहाँले जानकारी दिनुभयो । “ठेक्का अवधि शुरु भएपछिको पहिलो डेढवर्ष डिजाइनमा नै सकिएको थियो”, उहाँले भन्नुभयो, “त्यसपछिको डेढवर्षमा पनि त्यहाँ रहेका संरचना नहट्दा उनीहरूले सरासर काम गर्न पाएका थिएनन् ।”

सडक पुल निर्माण गर्ने स्थानमा खानेपानी, बिजुली, ढललगायत संरचना नहट्नुले ठेकेदारले सरासर काम गर्न नपाएको उहाँले बताउनुभयो । सडकमा रहेका संरचना सम्बन्धित निकायले हटाउनुपर्ने भए पनि पटक÷पटक ताकेता गर्दासमेत नहटाएको उहाँले बताउनुभयो । 

आयोजना आफैँले यहाँका संरचना हटाएर काम गर्ने स्थान खाली गरेको थियो । नेपालमा पहिलोपटक भित्रिएको यो प्रविधि शहरी क्षेत्रका लागि उपयुक्त रहेको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । अरू पुलमा भार बहन पुलको तल्लो भागले गर्ने भए पनि यसमा भार माथिल्लो भागमा पर्छ । अरू सामान्य प्रविधि (आरसिसी) भन्दा पुल हेर्दा सुन्दर देखिने र लामो आयु हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अरू पुलको औसत आयु ५० वर्ष भएकामा यसको एक सय वर्ष हुन्छ ।”

माइतीघरदेखि भक्तपुर सडक विस्तारको काम केही वर्ष पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा सम्पन्न भएको थियो । जाइकाले पूरै सडक छ लेनको निर्माण गरेपनि धोबीखोला र बागमती पुल चार लेनका थिए । सडक चौडाइ कम भएकाले यी पुल र नजिकैका सडकमा दैनिक जाम हुँदा यात्रु र चालक हैरान छन् । 

के हो नेटवर्क आर्क ब्रिज ?

‘नेटवर्क आर्क’अहिले नेपालमा बनिरहेका पुलहरु भन्दा बिल्कुलै फरक प्रवधिको हुन्छ । यो आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि निकै फरक खालको हुन्छ ।

यसलाई निर्माण गर्दा शुरुमा खोला र खोल्साको वारिपारि सडकको चौडाइ बराबरकै ‘अब्युटमेन्ट’अर्थात् बलियो जगसहितको संचरना निर्माण गरिन्छ । यो ‘अब्युटमेन्ट’ पुलको भार थेग्ने प्रमुख संरचना हो । आर्क ब्रिजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीच-बीचमा पिल्लर प्रयोग गरिँदैन । पिल्लर नहालेपनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क फिक्सीङ गरिन्छ । र, माथिल्लो भागमा बाङ्गो आकारका आर्क राखिन्छ ।

आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ । त्यसैका कारण पिल्लर नभएपनि यो प्रविधिको पुल बलियो मानिन्छ । यो पुल बनाउन अहिले प्रयोगमा रहेको प्रविधि भन्दा सजिलो छ किनभने खोलाको बीचमा पिल्लर ठड्याउनु पर्दैन, जसका कारण कम खर्चिलो पनि छ ।

विश्वका विकसित देशको प्रविधि नेपाल भित्र्याउनेसमेत उद्देश्यले यस पुलको निर्माण शुरु भएको आयोजनाले जनाएको छ । पुलको माथिल्लो भागमा अर्धवृत्ताकार संरचना निर्माण गरिएको छ । बीचमा बलिया तार जडान हुने र तिनका बीचमा दलिन राखिने श्रेष्ठले बतानुभयो । 

यस पुल निर्माणका लागि विसं ०७१ पुसमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । जेई कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मेवारी पाएको थियो । पुल तीन वर्षमा सक्नेगरी पहिलो पटक ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अवधिमा सम्पन्न नभए पनि पुल निर्माणमा सोही ठेकेदारलाई म्याद थप गर्दा काम सम्पन्न हुने भन्दै आयोजनाको सिफारिसमा सरकारले आगामी पुसम्मका लागि एक वर्ष अवधि थप गरेको हो । सो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो