चन्द्र सिं अदै | संसार परिवर्तनको सुरमा कहाँ पुगिसक्यो । हामी भने माखो मार्न सकिरहेका छैनौं । गरिएका कामहरु पनि लोक हँसाउने बाहेक केही भएको छैन । उदाहरणको रुपमा नेपाल सरकारले कानूनी रुपमा आमाको नामबाट छोरा/छोरीलाई नागरिकता दिन पाउने कानूनी व्यवस्था गरिसकेको छ । त्यसैगरि नेपाली नागरिकहरुले अनलाईन मार्फत सेवा लिन पाउने व्यवस्था भएको छ भनिएको छ । देशका बिभिन्न स्थानहरुमा स्मार्ट सिटी विकास गर्ने भन्ने योजना ल्याई सकेको भन्ने सुन्नमा आएको छ । काठमाडौं उपत्यकामा बाहिरी रिङरोड र मेट्रोरेलको अवधारणा पनि आईसकेको भन्ने सुनिएको छ । अहिले कायम रहेको चक्रपथलाई पनि व्यवस्थित गर्ने परियोजना तयार भईसकेको भन्ने सुनिएको छ । शहरका व्यस्त स्थानहरुमा पार्किङ लगायतका अन्य सेवाहरु सहज रुपमा दिने, नेपाली जनताको दैनिकीलाई सहज बनाउने भन्ने त दिनदिनै सुनिएकै विषय हो तर सबै कुरा कागजमा सिमित भए, अव के गर्ने ? कार्यान्वयनको पाटोमा कहिले पनि प्रभावकारीता खोजिएन ।
सामान्य एउटा मात्र उदाहरण हेर्ने हो भने राजधानी काठमाडौंको केन्द्र पुतलीसडक, बागबजार, दरबारमार्ग, ठमेल, न्यूरोड क्षेत्रमा पुगियो भने उक्त स्थानहरु पार्किङ एरिया होकी शहरको केन्द्र हो भन्ने छुट्याउनै गाह्रो छ । अर्को तर्फ महानगरको नाटक हेर्दा पनि उदेक लाग्छ । सरकारी रकमको दुरुपयोग गर्दै रात बिरात धुलो सफा गर्ने नाममा यसो ब्रुमर लगाए जस्तो गरेर दैनिक लाखौं रकम झ्याम । सडक सफा हुनलाई त्यसमा सम्लग्न हुने अन्य विषयहरु के-के छन्, त्यो विषयमा ज्ञान हुनु पर्दैन ? त्यस्तै शहरका मध्यभागहरुमा बिभिन्न सेवा प्रदायक कम्पनीहरुका तारले जेलिएर घना जंगलमा लहराले बेरे जस्तो छ । गुनासो र निवेदन दिने ठाउँ छैन । कतै निवेदन दिई हाले पनि सुनुवाई कतै हुँदैन । यस्ता बेथिती देख्दा लाग्छ अव नेपालको विकास भन्नु नै यति हो की के हो ? हुन त हामी नागरिकले पनि के चाही नापेका छौं र ? केही सानो सुधारको प्रयास सरकारी तवरबाट शुरु भयो भने जसरी पनि बिफल बनाउने तर्फ लाग्छौं, सडकमा नारा जुलुस शुरु गरि हाल्छौं । त्यसै गरि सरकारको विपक्षमा रहेको राजनितिक दल पनि त्यस्तै लाचार छ, सही र गलत कुरा छुट्याउदैन, गलत विषयमा पनि सार्वजनिक वहस गर्दैन बरु आफ्नै आन्तरिक किचलोमा झगडा गरि बस्छ । यसैले मलाई जता पनि बेथिती छ जस्तो लाग्नु स्वभाविक नै हो की के हो ? विश्व बजार प्रतिश्पर्धाको युगमा छ । त्यसमा पनि सूचना प्रबिधिमा अभ्यस्त हुनु र दैनिक रुपमा मानिसको कर्यक्षमता बढाउनु पर्ने विषय झनै महत्वपुर्ण र चुनौतीको रुपमा अगाडी आएको छ । नेपालमा रहेका युवा जगतलाई आफुले काम सिकेर केही गर्छु भन्ने कुरामा रतिभर पनि विस्वास छैन । सिप सिक्नु पर्छ, स्वरोजगार बन्नु पर्छ भन्यो भने अहिलेका युवा पिडीलाई विष हुन्छ । यो दुनियाँमा जसको हातमा सीप छ उसले रोजगारी पनि राम्रो पाउँछ र तलव पनि राम्रो पाउँछ । तर जसको हातमा सीप, कला र दक्षता छैन उसले राम्रो काम पनि पाउँदैन र उसले पाउने तलव पनि राम्रो हुँदैन । यहाँ उठान गर्न लागिएको बिषय के हो भने नेपालमा जे काम गर्न पनि चुनौती छ । संभावना धेरै भए पनि स्पष्ट सरकारी निती र प्रभावकारी कार्यान्वयनको अभावले गर्दा युवा जगतमा आफ्नै देशको निति नियम प्रति नकारात्मक भएका छन् । वैदेशिक रोजगारको बिषयले संसार भरी चर्चा परिचर्चा पाईरहँदा यसको आफ्नै प्रकारको समस्याहरु छन् । संसार प्रतिश्र्धाको युगमा रहँदा नेपाली समाज चाँही कस्तो मनोविज्ञानबाट अगाडी बढी रहेको छ त ? यस विषयमा सोच्दा अहिलेको युवाहरु स्वदेशमा बस्नु भन्दा बिभिन्न बाहानामा देशबाट भाग्न खोजिरहेको देखिन्छ ।
वैदेशिक रोजगार भन्ने वित्तिकै हाम्रो मानसिकतामा के आउँछ होला ? यसका बिबिध पक्षहरुलाई सुक्ष्म रुपमा हेरिन्छ की हेरिदैन होला ? के वैदेशिक रोजगार भनेको नेपालको भुमी छोड्नु मात्र हो र ? यस विषयमा लगानी, फाईदा र समाजीक रुपमा आई पर्ने समस्याहरुका बारेमा सोच्नु पर्दैन र ?
देशमा भएको बेथितीले बिदेश भागेका युवाहरुलाई पनि उत्तिकै चुनौती छ । भाषाको ज्ञान नभएको कारणले वैदेशिक रोगारमा जानेहरुले बिभिन्न समस्या भोगिरहेका छन् । वैदेशिक रोजगारमा जाँदा कार्यालय भित्रको काम, कार्यालयका कर्मचारी र त्यहाँ आउने अन्य व्यक्तिहरुसँग अंग्रेजी, हिन्दी वा अरबी भाषामा कुरा गर्नुपर्ने बाध्यता हुन्छ तर भाषागत समस्याले एकदम असहज भई समस्या झेली रहेका छन् नेपाली युवाहरु । वैदेशिक रोजगारमा रहँदा रहेक प्रकारका प्रकृयागत कामहरु गर्नु पर्ने हुन्छ त्यसमा पनि समस्या आएको हुन्छ । भाषा नबुझेका कारण सोधिएका प्रश्नको सही जवाफ फर्काउन सक्दैनन् हातमा सी छैन । काम नजानेको कारणले रोजगारदाताले काममा नलगाउने, नेपाल फर्काई दिने जस्ता समस्या नेपालीले भोगि रहेका छन् ।
स्वदेशमा हुँदा सीप सिक, सकिन्छ भने स्वदेशमा नै केही गर भन्दा युवाहरु नगर्ने । वैदेशिक रोजगारमा गएका नेपालीहरुमा सीप नभएको कारणले धेरै समस्या भोगि रहेका छन् । नेपालीहरुको सोचाई के छ भने नेपालबाट बिदेश गए पछि त जे गरिन्छ त्यही गर्ने हो भन्ने जस्ता मानसिकताले बढी दुःख पाईरहेका छन् । आफ्नो देशमा हुँदा केही नगर्ने कुनै प्रकारको सीप सिक्नु पर्छ भन्दा नसिक्ने अनि अर्काको देशमा गए पछी कसले सिकाँछ र ? वास्तवमा भन्ने हो भने नेपालीलाई बिदेशमा पुजा गर्न त लाने होईन । त्यहाँ त उसको सिप प्रयोग गरि आफ्नो आर्थिक लाभको लागि काम लगाउनलाई लाने हो । नेपालबाट बिदेश गई सके पछि जानेको काम मात्र गर्छु भनेर कहाँ सुख पाईन्छ र ? जानेको भन्दा बढी काम गर्नुपर्छ र भनेको समय भन्दा बढी समय काम गर्नुपर्छ । कार्यालयमा काम गर्दा पनि नबुझिएका कुरामा साथीहरुको सहयोग लिने मौका एकदम कम मिल्छ । सबै आ–आफ्नै समयको काममा व्यस्त हुन्छन् । भाषा नजान्नेहरुलाई झन् धेरै चुनौती छ । काम लगाउने समयमा सुपरभाइजरले समेत गाली गर्ने काम गर्ने समय बढी बनाई दिने जस्ता काम गर्छन् ।
समग्रमा भन्नु पर्दा नेपालीहरु अदक्ष कामदार भित्र पर्दछन् । कुनै पनि काममा नेपाली पुर्ण हुँदैनन् । जसलाई सम्बन्धीत काम आउँछ उसलाई भाषा आउँदैन, जसलाई भाषा आउँछ उसलाई काम आउँदैन । त्यसमा पनि अझ बढी त भाषा र कामको दुवै अभाव भएका नेपालीहरु दैनिक रुपमा विदेश जन्छन् ।
विश्व प्रतिश्पर्धाको यो परिस्थितीसंग हामी नेपालीहरु पनि सहभागी छौं । तर देशमा प्राप्त शैक्षिक अवसरले विश्व बजारमा रहेको प्रतिस्पर्धामा हामीले पर्याप्त जनशक्ति उत्पादन गर्न सकेका छैनौं । दिनानुदिन प्रतिस्पर्धा एक नेपाली अर्को नेपालीसंग होईन विश्व बजारमा रहेको युवा जनशक्तिसंग गर्नु परिरहेको छ । यसले युवाहरुलाई प्रतिस्पर्धी त बनाएको छ नै त्यसमा पनि प्राविधिक र सिपमुलक कामहरुमा अझै जागरुक बनाएको छ तर देशको वातावरण सहज र सहयोगी नहुँदा युवाहरु वितृष्णामा छन् ।
सबै अभिभावकको सोचाई आफ्ना सन्तानलाई समयानुकुल प्रतिस्पर्धी बनाउँदै लैजाने चाहना हुँदा हुँदै पनि देशमा उपलब्ध शैक्षिक कार्यक्रम पर्याप्त त छँदै छैन त्यसमा पनि जता ततै झुठा आस्वासन र ठग्ने काम मात्र भईरहेको छ । देशमा उपलब्ध कलेजहरुमा शैक्षिक कार्यक्रम सवल नभएको कारणले देशबाट धेरै युवाहरु अध्ययनको लागि विदेशिने गरेका छन् । यसबाट वार्षिक करोडौं रकम बाहिरिने गरेको छ । नेपाली युवा र पैसा विदेश जानबाट रोक्ने उपाय भनेको देशमा राम्रो प्राबिधिक शिक्षालयहरु स्थापना गर्ने र गुणस्तरिय शिक्षाको व्यवस्था गर्ने नै हो । यो काम निजी क्षेत्रले भन्दा पनि नेपाल सरकारको सम्बन्धित मन्त्रालयले बिस्तृत कार्य योजना बनाई आजैको मितिबाट काम गर्नु पर्छ ।
देशमा रोजगारको अवसर पनि छैन । अरु काम गरौं भने कसैले ऋण पनि दिदैन । के गर्ने भन्दा विदेश जाने सबै भन्दा उत्तम विकल्प । पाहाडी भेगका अधिकांस गाउँका घरबाट वैदेशिक रोजगारमा सम्लग्न नभएको बिरलै पाईन्छ । तर हाम्रो बिडम्बना के भयो भने नेपाली युवाहरु केही काम गर्न नसक्ने भए पछि वैदेशिक रोजगारमा जान थाले । विश्व बजार दिनानु दिन प्रतिष्पर्धामा छ हामी भने कमजोर युवा शक्ति विश्व श्रमबजारमा उतार्दै छौं । यसबाट के परिणाम आउँछ ? पक्कै पनि भने जस्तो काम र तलव पाउँदैन । मेरो विश्लेषणमा वैदेशिक रोजगारमा सहभागी नेपालीहरुको अवस्थालाई नियाल्दा नेपालीहरु फाईदामा छन् । जुन रुपमा हामीले आर्थिक, सामाजीक, भौतिक चुनौतीहरु भोग्नु पर्ने हो त्यो भन्दा कम भोगेका क्षति भोगेका छौं ।
नेपालमा वार्षिक ५ लाख युवाहरु श्रमबजारमा आउँछन् । यी मध्ये अधिकांस युवा जनशक्ती अदक्ष नै आउँछन् । यस्तो भयानक परिस्थीतीमा राज्यले सम्पुर्ण जनशक्तीलाई स्वदेश मै रोजगारीको दिनु पनि चुनौती नै छ । किनभने हाम्रो देश अहिले उत्पादनको क्षेत्रमा भन्दा उपभोग्य वस्तुहरुको आयातमा रमाई रहेको छ । यसले अन्तत हामीलाई केही फाईदा छैन । खाडीका मुलुकहरुमा ५५ डिग्रिको घाममा काम गरेर घर पठाएको पैसा अन्तत अर्कै मुलुक जान्छ । यसकारण नेपाल सरकारले कामदारहरुको विप्रेषणलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने वातावरण सृजाना गरि नियमित आम्दानीको वातावरण बनाउनु पर्छ । अन्यथा विदेमा कमाउने फेरी विदेशमा नै पठाउने काम मात्र हुन्छ । नेपालीहरुकोलागि वैदेशिक रोजगार वाध्यता छँदै छ संगसंगै फेसनको रुपमा आएको छ । परिस्थिती यस्तो छ नेपाल सरकार भने कहिले के कहिले के बाहानामा वैदेशिक रोजगारलाई खेलाई रहेकोछ ।
नेपाल सरकारको स्पष्ट निति अभावले नै समस्या हरेक क्षेत्रमा छ । तर हरेक बिषयहरुका समस्यालाई सरल र सहज रुपमा समाधान गर्ने सबै भन्दा उपल्लो निकाय भनेको नेपाल सरकार नै हो । तर हाम्रो सरोकार भनेको के मात्र हो भने समस्या समाधानको लागि मात्र नभएर उक्त क्षेत्रमा रहेका बिकृती बिसंगतीहरुलाई दीर्घकालिन रुपमा नै समाधान गर्नु पर्छ भन्ने हो । कुनै पनि क्षेत्रमा सुधारका बिषयहरु उठान गर्दा केही समस्याहरु आउँछन् तर ती बिषयहरुलाई क्रमिक रुपमा सुधार गर्दै समस्या समाधान गर्नु पर्छ ।
वैदेशिक रोजगार क्षेत्रमा पनि धेरै समस्याहरु छन् । तर देशमा यो व्यवसायको योगदान ठुलो छ । यो व्यवसायले राज्यलाई आर्थिक रुपमा सहयोग गरेको छ र कुल गाह«स्थ उत्पादनमा झन्डै ३० प्रतिशत योगदान गरेको छ । यसकारण वैदेशिक रोजगार क्षेत्रलाई नकारात्मक दृष्टिले मात्र हेर्नु लगत हो ।
देशका करिव ६०% घरधुरीका मानिसहरु अहिले वैदेशिक रोजगारबाट प्राप्त बिप्रेषणको सहायताले जिविकोपार्जन गरिरहेका छन्, चाहे त्यो विकसित मुलुकमा गएका नेपाली हुन वा नेपाल सरकारले पठाएका मुलुकका नेपाली हुन वा खाडीका मुलुकमा मेनपावर मार्फत गएका नेपाली हुन ति सबैको जिम्मेवारी उस्तै हो ।
अहिलेको नेपाली समाजको वास्तविकता भनेको नेपाल मै बसेर केही गर्छु भन्ने युवाहरुलाई समाजले नै उल्लु बनाउँछ । नेपालमा केही हुँदैन, बिदेश भनेको बिदेश हो, नेपालमा बस्ने युवाहरु क्षमता नभएकाहरु हुन, हिम्मत गर्नु पर्छ भनेर युवालाई विदेश ठेली रहेका छन् । गाउँ घरमा पनि वैदेशिक रोजगारीमा जाने भने पछि ऋण दिने सहयोग गर्ने संस्कारको विकास भएको छ । बाख्रा पालन गर्छु, कुख्रा पालन गर्छु भन्यो भने कसैले विश्वास गर्दैनन् ।
यसकारण मैले उठान गर्न ओजेको विषय के हो भने नेपाल सरकारको काम कारवाही सन्तोष जनक छैन । विगतमा भएका सरकारको भन्दा यो दुई तिहाईको सरकारसंग म लगायत सबै नेपाली जनताले धेरै आश गरेका छन् । तर के गर्नु विडम्बना खोक्रा कुरा सुनेर नै बस्नु परेको छ । नेपालमा निजी व्यवसाय, संचार प्रबिधी, बिद्युत, यातायात, बैंककिङ, सहकारी, वातावरण, सरकारी सेवा स्वास्थ्य, शिक्षा लगाएत नेपाली जनताका दैनिक जीवनसंग गाँसिएका हरेक पाटोमा बेथिती छ । स्थिर सरकारले स्थिर काम गरेको छैन । यही विषयमा बढी चिन्तित छु । संचार माध्यमहरुमा आएका समाचारहरु र गलत बिबरणहरुले समाजलाई कहिले सम्म भ्रममा राख्ने । सहि र तथ्यपरक सत्य कुरा कहिले आउने हो ?
अन्त्यमा मैले उठान गर्न खोजेको बिषय के हो भने संविधान प्रदत्त अधिकारहरु नेपाली जनताले सरल र सहज रुपमा सेवा पाउनु पर्छ । काठमाडौंका सडक पेटी सधैं सफा हुनुपर्छ । महिला हिंसाका कुराहरु समाचारमा नआउन्, हत्या, चोरी, डकैती, घुस खाएका, कर्मचारीले काम ठगेको, सेवाग्राहीले सेवा नपाएको, नेताहरु र सरकारमा रहेका मन्त्रीहरुले राणाकालिन शाशकको जस्तो व्यवहार देखाएको नेपाली युवाहरुलाई खाडीमा काम गर्न जानु पर्ने वाध्यता सृजना गरेको जस्तो विषयहरु कहिले पनि सुन्न नपरोस । नेपाली जनतासंग कर असुली गरिसकेपछि करदाताले सम्मानजनक रुपमा सेवा सुबिधा पाउनु पर्छ । तिनै करदाताले कर तिरीदिएर नै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सचिव र नेता भनाउँदाहरुका घरमा चौरासी व्यञ्जन पाकेको छ, पजेरोमा सपरिवार शयर गर्न पाएका छन्, तामझाम देखाउन पाएका छन् । त्यसैले मेरो अनुरोध छ जुन शिर्षक हामी सोझा जनताले कर तिरेका छौं उक्त शिर्षकमा हामीले सेवा पाउनु पर्छ । सरकारी तामझाम र फजुल खर्च आजैबाट कटौती गर्नु पर्छ । हैन भने कुनै कालखण्डमा देशमा हर्ताकर्ता राजामहाराजाहरु एउटा कोठरीमा बसी बिरत्तीयको यहाँहरुले नै देखि रहनु भएको छ । चेजना भया ।
धन्यबाद ।