Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिकताः नेपालले स्वतन्त्र निर्णय गर्दा किन गलत प्रचार ?

२०७७, ९ असार मंगलवार ०८:०६

असार ९, काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अङ्गीकृत नागरिकता विषयमा गरेको निर्णयका विषयलाई लिएर भइरहेको गलत प्रचारलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले आज राष्ट्रियसभाको बैकठमा आपत्ति प्रकट गर्नुभएको छ ।  नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेका विदेशी महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता दिने विषयमा नेपालको संविधानले नै प्रष्ट गरेको र सोही आधारमा कानून निर्माणको प्रक्रिया अगाडि बढाइए पनि केही राजनीतिक दलले गलत प्रचार गरेकामा नेकपाका वेदुराम भुसालले आपत्ति प्रकट गर्नुभयो । 

अङ्गीकृत नागरिकलाई राजनीतिकबाहेक अन्य सबै प्रकारका अधिकार प्राप्त हुने भए पनि केही राजनीतिक दलले मुठभेट हुने जस्ता विषय उचालेर अनावश्यक हल्ला गरेकामा उहाँले गुनासो गर्नुभयो । राष्ट्रियसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले वैवाहिक अङ्गीकृत नागरिकताका सम्बन्धमा नेकपाले अगाडि सारेको प्रस्तावले राजनीतिक दुर्घटना निम्त्याउने, आन्दोलनको आँधीबेहरी आउने र नेपाल–भारतको सांस्कृतिक सम्बन्ध अप्ठ्यारोमा पर्ने जिकिर गर्नुभएको थियो । 

 राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकले भारतलगायत तेस्रो देशका महिलाले नेपाली नागरिकसँग विवाह गरेको सात वर्षमा मात्रै अङ्गीकृत नागरिकता पाउने व्यवस्थासहितको विषयलाई टुङ्गो लगाएको थियो । नेपालले नागरिकताका विषयमा स्वतन्त्र ढङ्गले कानून बनाउन खोज्दा किन अनावश्यक लाञ्छना लगाउन खोजिएको हो भन्दै उहाँले प्रश्न गर्नुभयो ।  उहाँले भन्नुभयो, “केका निम्ति दुर्घटना निम्त्याउने भनेर प्रचार गर्नुपर्यो, स्वतन्त्र कानून बनाउँदा किन मुठभेट गर्नुपर्यो ? मुठभेट हुन्छ भनेर कसलाई भन्न खोजिएको हो ?” नेपालले कुनै कानून स्वतन्त्र ढङ्गले निर्माण गर्न नपाउने हो वा नेपाली भन्नेले नै अनावश्यक प्रचार गरिएको हो भन्दै सांसद भुसालले गलत हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो । 

नागरिकतासम्बन्धी कानून बनाउँदा भारतको विहार र उत्तरप्रदेशसँगको सम्बन्ध जोड्नु जरुरी छ ? किन भारतसँग मात्रै जोडेर हेरिन्छ”, उहाँले भन्नुभयो, “यो सबैका हकमा लागू हुन्छ तर भारतसँग मात्रै किन जोडेर हेरिन्छ ?” हाम्रा छिमेकी मुलुकमा रहेको व्यवस्थानुसार नै नागरिकताका विषयमा कानून बनाउन खोज्दा गरिएको गलत तर्कले मुलुकलाई कता लैजान खोजिएको हो भन्दै उहाँले आक्रोश प्रकट गर्नुभयो । 

नेपाली काँग्रेस र मधेशकेन्द्रित दलका सांसदले नागरिकताका विषयमा संसदीय समितिले गरेको निर्णयलाई लिएर आपत्ति जनाउँदै आएका छन् । उनीहरुले सत्तारुढ दल नेकपाको निर्देशनमा नागरिकतासम्बन्धी कानून निर्माणमा गलत काम गरेको आरोप लगाएका छन् । भारतमा समेत वैवाहिक सम्बन्ध कायम गर्ने विदेशी महिलालाई सात वर्षमा मात्रै अङ्गीकृत नागरिकता दिने प्रावधान छ । 

नेकपाकै रामनारायण बिंडारीले नेपालको राष्ट्रियतालाई कोही कसैले पनि कमजोर बनाउन नसक्ने जनाउँदै एकापसमा मिलेर बसेको र एकार्कालाई सम्मान गरेको नेपाली समाजबारे गलत मनसायका साथ प्रचार नगर्न सम्बद्ध पक्षको ध्यानकर्षण गराउनुभयो । सार्वभौमसत्तासम्पन्न मुलुकले आआफ्नै तरिकाले नागरिकता दिने प्रचलन रहेको उल्लेख गर्दै उहाँले नेपालले आफ्नै सापेक्षतामा निर्णय गर्न नपाउने भने जसरी संसद्मा अभिव्यक्ति दिनु सुहाउँदो विषय नभएको बताउनुभयो । 

उहाँले प्रतिनिधिसभाको एउटा समितिमा भएको छलफलका विषयलाई लिएर राष्ट्रियसभामा कुरा उठ्नु कतिको सुहाउँदिलो हो भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “सीमा रक्षा गरिरहेका नेपाली नागरिकलाई सरकारले रक्षा गर्छ, उनीहरुलाई नागरिकता दिइन्छ । तराईका मुसहर, डोम, चमार जस्ता पछाडि पारिएका नागरिकलाई  अधिकारसम्पन्न गराइन्छ तर आज नागरिकता लियो, भोलि नै मन्त्री सांसद बनाउने र बन्न पाउनुपर्छ भन्ने कुरा कुनै पनि अर्थमा मिल्दैन, हुँदैन ।” 

सोही दलका भगवती न्यौपानेले नागरिकता र राष्ट्रियताका विषयलाई लिएर पछिल्ला दिनमा नेपाली काँग्रेस र  मधेशकेन्द्रित दलले गलत प्रचार गरेको भनी आपत्ति प्रकट गर्नुभयो । उहाँले कवि भूपि शेरचनले भने झैँ नागरिकताका विषयलाई लिएर गलत हल्ला गरिएको जनाउँदै त्यसले कोही कसैको हित नगर्ने बताउनुभयो । 

नेपालले स्वतन्त्र र पञ्चशीलका आधारमा वैदेशिक सम्बन्ध अगाडि बढाएको तथ्य पेश गर्दै उहाँले नेपालको नागरिकताको विषयले वैदेशिक सम्बन्धलाई कुनै असर नपार्ने धारणा राख्नुभयो । उहाँले देशको हित विपरीत कुरा गर्ने, गलत प्रचार गर्ने र अपरिपक्व अभिव्यक्ति दिने प्रवृत्ति सरासर तथ्य विपरीत रहेको र त्यसले नेपालको हित नगर्ने बताउँदै भन्नुभयो, “नेपालले आफ्नो निर्णय आफैँ गर्न सक्छ, कोही कसैसँग सहमति लिनु पर्दैन ।”

नेपाली काँग्रेसका प्रकाश पन्थले सरकार एकलौटी तवरले अगाडि बढ्न खोजेको, कोरोना नियन्त्रणमा ध्यान नदिएको तथा शान्तिपूर्ण रुपमा भेला हुन पाउने र प्रदर्शन गर्न पाउने व्यवस्थाको बर्खिलाफ गरी गतिविधि गरिरहेको आरोप लगाउँदै क्रियाशील राजनीतिक दलका बीचमा सहकार्य, सहमति र एकतामा जोड दिनुभयो । 

राजपाका मृगेन्द्रकुमार सिंहले तराई–मधेशका विभिन्न खहरे खोलाका कारण जनजीवन समस्यामा परेको र  आरक्षबाट आउने जङ्गली जनावरले खाद्य उपज सखाप पारेकाले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले तराईका विभिन्न जिल्लामा भइरहेको विकास निर्माणको काम गुणस्तरहीन भएको र त्यसले सरकारी लगानीसमेत बालुवामा पानी जस्तै भएको जनाउँदै तत्काल परीक्षण गर्न माग गर्नुभयो । खेतीपातीका समयमा रासायनिक मल अभावका कारण रोपाइँ गर्न नपाइएकाले तत्काल समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ